काठमाडौँ । अढाई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि देशमा स्थायित्व शुरू हुने र विकासको कामले गति लिने धेरैको आशा थियो । तर जनताको आशामाथि कालो बादल मडारिन साढे दुई वर्ष पनि लागेन । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७४ को फागुन ३ गते ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
छिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै नेताबाट प्रधानमन्त्रीको राजीनामाको माग उठेपछि सरकारको नेतृत्व परिवर्तनको विषयले एकाएक राजनीतिक माहोल तातेको छ । कोरोना महामारी नियन्त्रण लगायतका कामकारबाहीलाई लिएर नेकपाका कतिपय शीर्षस्थ नेताहरूबाटै असन्तुष्टिका स्वर सुनिएका छन् ।
विभिन्न अनियमितताका आरोपदेखि दल फुटाउनेसम्बन्धी विवादास्पद विधेयक ल्याएसम्मको विषयलाई लिएर ओली नेतृत्वको सरकार विवादमा मुछिन पुग्यो । तर ती आरोपलाई प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्का सदस्यहरूले निरन्तर अस्वीकार गर्दै आएका छन् । गत आइतवार प्रधानमन्त्री ओलीले स्व। मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै 'आफूलाई पदबाट हटाउन खोजिएको' सार्वजनिक रूपमै दाबी गरे।
अन्ठाउन्न वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोजिएको बताउँदै त्यो कुनै गल्ती नभएको उनले बताए। प्रधानमन्त्रीको इशारा दक्षिणी छिमेकी भारततिर थियो । उनले भने, 'तर त्यसो गरेपछि नेपालकै नेताहरू लागिपरेका छन्, बहस चलेको छ । अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।'
कतिपय राजनीतिशास्त्री तथा विश्लेषकले प्रधानमन्त्रीको त्यो अभिव्यक्तिलाई 'आफ्नो विफलता ढाकछोप गर्ने प्रयास' को रूपमा अर्थ्याउने गरेका छन् । राजनीतिमा विरलै पाएको अवसरलाई सदुपयोग गर्न प्रधानमन्त्री ओली चुकेको उनीहरू बताउँछन् । बहुमतीय सरकारको नेतृत्व गरे पनि अहिलेसम्मका काम हेर्दा प्रधानमन्त्री ओली 'सर्वथा असफल' देखिएको राजनीतिशास्त्री कृष्ण खनालको दाबी छ । प्राध्यापक खनाल भन्छन्, 'बहुमत त प्रक्रियाको एउटा उत्पादन हो। त्यसलाई रूपान्तरण गर्न सक्ने हैसियत नेतृत्वको हो। क्षमता त नेतृत्वसँग हुन्छ ।'
बहुमत नै घाँडो
अल्पमत, बहुमत वा गठबन्धनको सरकारभन्दा पनि राजनीतिक संस्कार महत्त्वपूर्ण विषय भएको विश्लेषक पुरञ्जन आचार्यको तर्क छ । आचार्य भन्छन्, 'चाहे जुनसुकै दलका नेता होऊन् सबैमा संस्कार चाहिँ एउटै रहेछ। अल्पमत, बहुमत वा गठबन्धन जेसुकै भए पनि राजनेता जस्तो हुन नसके पनि सामान्य नेता जस्तो पनि हुन नसक्नु दुर्भाग्य नै हो ।'
उनले थपे, 'बहुमत हुँदैमा ढुक्क भएर मनमौजी तरिकाले हिँड्ने अवस्था रहेन। आजको सूचना(प्रविधिको युगमा प्रधानमन्त्रीले पटकपटक जनताको कठघरमा आफूलाई प्रमाणित गरिराख्नुपर्छ । प्रधानमन्त्रीलाई त अहिले बहुमत नै घाँडो भइरहेको छ ।'
स्थिरता साध्य नभई एउटा साधन मात्रै भएको बताउने अर्का विश्लेषक टीका ढकाल राजनीतिक संस्कार भन्नुको अर्थ एउटा नेताको चरित्र र स्वभाव मात्रै नभएको भन्छन् । ढकाल भन्छन्, 'राजनीतिप्रति जनताले के सोच्छन् भन्ने कुरा राजनीतिक संस्कारको एउटा प्रमुख सूचक हो । सरकारले राम्रो नै गरे पनि जनताले त्यसबारे के सोच्छन् भन्नेबारे राजनीतिक नेतृत्व अद्यावधिक भइरहनुपर्छ ।'
हाल देखिएको राजनीतिक खिचातानीले जनतामा वर्तमान व्यवस्था र राजनीतिक दलहरूप्रति नै वितृष्णा बढाउने खतरा देखिएको कतिपय राजनीतिशास्त्री तथा विश्लेषकहरू औँल्याउँछन् । त्यसप्रति विश्लेषक ढकाल पनि सहमत देखिन्छन् ।
'एउटा त यसले राजनीतिक नेतृत्वप्रति निराशा ल्याउँछ। अर्को कुरा हाम्रो अहिलेको प्रणालीका आधारका रूपमा रहेका गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सङ्घीयता यी सबैमाथि जनताले प्रश्न गर्छन्, गर्न थालिसकेका छन्' उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, १७ : ००
लेखकबाट थप