उपचारको क्रममा बिरामीको मृत्यु भएपछि भरतपुर सामुदायिक अस्पतालमा तनाव

सोमबार, १४ फागुन २०७४, २१ : ००
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि भरतपुर सामुदायिक अस्पतालमा तनाव

चितवन : चितवनको भरतपुरस्थित भरतपुर सामुदायिक अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ । ढाँडको अप्रेशसन गरेका रत्ननगर नगरपालिका १५ का करीव ४५ बर्षिय सोमबहादुर तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पताल बाहिर जम्मा भएर बिरोध गरेका छन् । अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।

अस्पतालका चिकित्सक डा. सुनिलमणि पोखरेलले बिरामीको ‘हर्ट एट्याक्ट’ भएर निधन भएको प्रारम्भिक जानकारी पाएको बताए । तर, मृतकका आफन्तहरुले अस्पतालको लार्पवाहीका कारणले ज्यान गएको भन्दै चिकित्सकलाई कारर्वाही हुनुपर्ने माग राखेका छन् । फाल्गुण ११ गते ढाँडको अप्रेसन गरेका तामाङ आज दिउँसो २ बजेसम्म आफन्तहरुसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालय लडेपछि हर्ट एट्याक्क भएको अस्पतालको दावी छ । तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग बिषेशज्ञ डा. कृष्णप्रसाद पौडेल लगायतको समूहले गरेको थियो । डा. पौडेलले सुगरका समेत रोगी रहेका तामाङको हर्ट एट्याक्क भएर मृत्यु भएको बताए। अस्पतालले ४ बजे तामाङको मृत्यु भएको जानकारी आफन्तलाई गराएको थियो । 


अस्पताल परिसरमा उनका आफन्तहरु रोइरहेका थिए । मृतकको सालो पार्ने राजु वाइवाले अस्पतालले समयमा नै ख्याल नगर्दा बिरामीको मृत्यु भएको भन्दै कारर्वाही हुनुपर्ने दावी गरे । उनका एक आफन्त विश्वास खड्काले हर्ट एट्याक्क नै भएको पनि अस्पतालमा आएको बिरामी कसरी मर्छ भनि प्रश्न गरे । उनले भने ‘अस्पतालमा बाँच्न आउने हो मर्न आउने हैन ।’ पीडित पक्ष र अस्पताल प्रशासनका वीच वार्ता भैरहेको छ । चितवनका पूर्वाधार विहिन कतिपय नीजि अस्पतालमा जथाभावी उपचार गर्दा बिरामीहरुको मृत्यु हुने गरेको छ । केही हप्ता अगाडि भरतपुरकै नेशलन सिटी अस्पतालमा एक बिरामीको उपचारको क्रममा मृत्यु हुँदा अस्पतालले करीव ६ लाख रकम दिएर बिषय मिलाइएको थियो । 
 

प्रतिक्रिया दिनुहोस