अन्तर्राष्ट्रिय योग दिवश

‘योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमतामा समेत वृद्धि’

योग गर्दा यि कुरामा ध्यान पु¥याउनुहोस

सफल खबर संवाददाता

आइतबार, ०७ असार २०७७, ११ : ३८
‘योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमतामा समेत वृद्धि’

काठमाडौँ । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।

आउनुहोस् हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौं । पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । 

योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।

आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग एकमात्र सरल र सहज उपाय हो ।

समयको पावन्दी भन्दा पर सम्म योगले चित्त पूर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट छ । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ । भगवान गौतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु प्रशस्त पुस्तक र उदाहरणहरुले बयान गरेका छन् ।

योग अपनाउन भौतीक संसारभन्दा पर बसेर साधू सन्त नै बन्नु पर्छ भन्ने हैन्, योगको अवलम्बवन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थमा समेत हामी सफल र निरोगी हुने पक्का छ । समतामूलक विश्वकालागि योग जरुरी छ, योग जीवन हो र यसका बारेमा थप अध्ययन गरौं, अपनाऔं र खुशी अनि शान्त जीवन प्राप्त गरौं ।

आँखा बन्द रहनुपर्छ
सद्‌गुरुः मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो १ यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू स्वतस् बन्द हुन्छन्, किनकि आँखाले हामीलाई बाहिरी संसारमा तल्लिन राख्छन् । यदि तपाईंले आँखा बन्द गर्नुभयो भने, तपाईं अझैपनि सुन्न, सुँघ्न र महसुस गर्न सक्नुहुन्छ, तर आधा संसार बन्द भएको हुन्छ ।

पेट खाली हुनुपर्छ
योग–आसनहरूको अभ्यास गर्ने क्रममा तपाईंको पेट त खाली हुनुपर्छ नै, साथसाथै आन्द्राहरू पनि खाली रहनुपर्छ । यदि तपाईं आफ्ना ऊर्जाहरूलाई माथितर्फ प्रवाहित गर्न चाहनुहुन्छ भने, ती सबैथोक शरीरबाट बाहिरिएको हुनुपर्छ, जुन यो शरीर होइन । योग अभ्यासहरू व्यायाम होइनन्, यो तपाईंको शरीरलाई पुनर्गठन गर्ने अनि आफूले चाहेअनुसार नै आफूलाई पुनस् निर्माण गर्ने विधि हो । त्यसो हुन दिनको लागि शरीरबाहेक अरू केहि पनि रहनुहुँदैन ।


चिसो पानीले नुहाउनु उत्तम
आफ्नो अभ्यास शुरु गर्नुअघि कोठाको तापक्रमभन्दा ५–६ डिग्री कम तापक्रमको पानीमा डुबुल्की लगाउनु वा शरीरमा पानी खन्याउनु सबैभन्दा उचित हुन्छ । यदि तपाईंले यसो गर्नुभयो भने, छालाका कोषिकाहरूबीच हुने छिद्रहरू खुल्दछन्, जुन योग–अभ्यासको निम्ति अपरिहार्य हुन्छ, किनकि हामी शरीरमा रहेका कोषिकाहरूको संरचनालाई एकदमै फरक आयामको ऊर्जाले भरिपूर्ण बनाउन चाहिरहेका हुन्छौँ । एकजना व्यक्तिको दाँजोमा अर्को व्यक्ति असाध्यै जीवन्त देखिनुको कारण पनि यही हो । जब कोषिकाहरूको संरचना ऊर्जाले भरिपूर्ण हुन्छ, यो निकै लामो समयसम्म ऊर्जावान् रहिरहन्छ ।

आसन आरामदायक र स्थिर
योग सुत्रमा भनिएको छः सुखम् स्थिरम् आसनम् । योग–आसनहरूको अभ्यास गर्नुको अभिप्राय भनेको यस्तो अवस्थामा पुग्नु हो, जहाँ तपाईंको आसन आरामदायक र स्थिर हुन्छ । त्यस अवस्थामा तपाईं जतिसुकै घण्टा बस्नुभयो भनेपनि, भित्र कुनै पनि खलबली नपुऱ्याइकन तपाईंको शरीर त्यही स्थितिमा रहिरहन्छ । र, यही अवस्थामा तपाईंको बोध–क्षमता बढदै जान्छ ।

योग दैनिक रूपमा गरिनुपर्छ वा हप्तामा दुईपटक गरिनुपर्छ भन्ने विषय महत्त्वपूर्ण होइन । हामी शरीरलाई यस प्रकारले परिष्कृत गर्न चाहिरहेका हुन्छौँ, ताकि नयाँ आकार दिन सकौँ । तसर्थ, आफूमाथि आवश्यक कार्य गर्नको लागि तपाईंसँग जति समय छ, तपाईंले त्यति समय यसमा समर्पित गर्नुपर्छ ।

शरीर केवल माटो हो । तपाईंका कर्महरूको संरचनाले यसलाई पकाउँछ अनि यो ठोस बन्दछ । यसरी स्थापित भएको स्मृतिलाई नै कर्म भनिन्छ । त्यही स्मृतिको भण्डारले गर्दा नै शरीर र मनको स्तरमा हुने कुराहरू ठोस बन्दै जान्छन् । 

अभ्यास गर्दा नबोल्नसु
आसनहरूले ध्यानको अवस्थामा रहन सहायता गर्छन् । तपाईं यत्तिकै स्थिर भएर रहन नसक्नु भएकोले नै ध्यानको अवस्थामा पुग्नको लागि अरू केहीको सहायता लिइएको हो । जुन स्थिति सबैभन्दा आरामदायक र स्थिर हुन्छ, त्यही तपाईंको आसन हो । जब तपाईंको शरीर सहज स्थितिमा रहन्छ, तपाईंको मन पनि सहज अवस्थामा हुन्छ अनि तपाईंका ऊर्जाहरू पूरै जीवन्त एवं सन्तुलित हुन्छन् । त्यसबेला, तपाईं यत्तिकै बस्नुभयो भने, तपाईं स्वतस् ध्यानको अवस्थामा पुग्नुहुन्छ । यत्तिकै स्वाभाविक रूपमै ध्यानमग्न रहनको लागि योग–आसन प्रारम्भिक चरण हो ।

तसर्थ, यदि तपाईं बोल्नुभयो भने, शरीरमा मात्रै नभई ऊर्जाहरूको स्तरमा पनि थुपै कुराहरू नाटकीय ढङ्गले बदलिन्छन् । त्यसैले, योग–आसनहरूको अभ्यास गरिरहेको बेला नबोल्नु भनेको मानक मात्रै होइन— यो नियम हो । कुनै पनि आसनमा रहँदा तपाईं कहिल्यै पनि बोल्नुहुँदैन, किनकि तपाईंको ध्यान, श्वास र तपाईंको ऊर्जा प्रणालीमा जे भइरहेको छ, यी सबैथोक अत्यन्तै महत्त्वपूर्ण हुन्छ—तपाईं बोल्नुभयो भने, पूरै प्रणाली खलबलिन्छ । 

प्रतिक्रिया दिनुहोस