प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

सोमबार, १४ फागुन २०७४, १६ : २१
प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

हेटौँडा । प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्नुभएको छ ।

उक्त बैठक प्रारम्भ भएपछि प्रदेशसभाका सदस्य शोभा शाक्य, राधा घले, रिना गुरुङ, युवराज दुलाल, रामेश्वर फुयाँल र रीता माझीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरुले मुलुकको संविधानको मर्मलाई आत्मसात् गरी प्रदेशसभाको काम, कर्तव्य, अधिकार र संघीय सरकारलाई जनताको हितमा काम गर्न र सरकारले गरेका अनियमित कार्यलाई ऐन कानूनद्वारा नियन्त्रणमा ल्याउन एवं जनतालाई सामाजिक न्याय दिलाउन प्रदेश सरकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

नियमावलीमा प्रदेशसभाको सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यको काम, कर्तव्य र अधिकार सार्वजनिक जनहितको विषयमा, आर्थिक विनियोजित विधेयक प्रदेशसभाका सदस्यको विशेषाधिकार, आचरण व्यवहारलगायत विधेयक २१७ वटा नियम (दफा) र छ वटा अनुसूची समावेश गरिएको छ ।

यसैगरी नियमावलीमा प्रदेशसभाको १३ जिल्लामा बसोबास गर्ने १०० जना नागरिकले राष्ट्र एवं सार्वजनिक हितको महत्वपूर्ण विषयमा प्रदेशसभामा ध्यानाकर्षण गर्ने उद्देश्यले ल्याइएको प्रस्तावलाई प्रदेशसभाका तीनजना सदस्यले हस्ताक्षर गरेपछि प्रस्ताव पेश गरी छलफलमा ल्याउन सकिने नयाँ व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस