दैलेख । पिसिआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पिसिआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो ।
कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पिसिआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालिएको थियो । अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि आएको छ ।
डा रवीन खड्कासहित आठ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ । पिसिआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिनुभयो । शुरुमा दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ ।
कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले जनतालाई कोरोना संक्रमणबाट बचाउन करीब रु ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण पनि शुरु गरिएको जानकारी दिनुभयो । यसैबीच कामको खोजीमा भारत गएका दैलेखका ४२ हजार नागरिक जिल्ला भित्रने क्रम बढेको छ । दैलेखमा आएर क्वारेिन्टनमा बसेकामध्ये अधिकांशको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख रेडजोनमा परेको छ । दैलेखमा ७२३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ असार २०७७, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान
दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु