प्रदेश १ को संसद् बैठक आज बस्दै

सोमबार, १४ फागुन २०७४, ०९ : ४९
प्रदेश १ को संसद्  बैठक आज बस्दै

विराटनगर । प्रदेश १ को संसद् बैठक आज बस्ने भएको छ । प्रदेशसभा सञ्चालन नियमावलीलगायतका काम अघि बढ्न नसकिरहेका बेला बैठक बस्न लागेकाे हाे ।

दिउँसो १ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन  र कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने रहेकाे छ ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आज बस्ने बैठकका दुई कार्यसूची रहेको जानकारी दिए । बैठकका दुई कार्यसूची रहे पनि सांसद्हरुले समय लिएर मन्तव्य राख्न आज सक्ने छैनन् ।

अन्तरिम कार्यविधिमा कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने उल्लेख छ । संसदमा भएका सबै दलबाट १–१ जना अनिवार्य सहभागी हुनेगरी यो समिति गठन गर्नुपर्ने प्रावधान छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सक्नेछन् ।

यसैबीच, प्रदेशसभा सरकारले लय पक्रिन नसक्दा संसदले आवश्यक बिजनेस पाएको छैन । ‘नियमावली नबनेसम्मका लागि र बिजनेस तय नभएसम्मका लागि संसद बैठक पुनः बस्नेछैन,’ सभामुख भण्डारीले भने, ‘अहिलेका लागि बिजनेस नभए पनि बेरोजगार नै भन्न मिल्दैन ।’

 

प्रतिक्रिया दिनुहोस