एजेन्सी । भारत र चीनबिच सीमा विवाद सुल्झ्याउने सम्बन्धमा शनिबार भएको वार्ताका विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन । तर सो वार्तामा पछिल्लो समय देखिएको तनाव अन्त्यबारे दुवै पक्षले आफ्नो धारणा प्रस्तुत गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
लद्दाखको पूर्वी क्षेत्रमा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेको सुरक्षा चौकीमा भारत र चीनका सैनिक अधिकारीबिच महत्वपूर्ण वार्ता भएको हो । शनिबार बिहान ११ बजेपछि सुरु भएको बैठक लगातार तीन घण्टासम्म चलेको थियो ।
भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिंदर सिंहको नेतृत्वमा प्रतिनिधि सामेल थिए । यस्तै चिनियाँ टोलीको नेतृत्व मेजर जनरल लिउ लिनले गरेका थिए । दुवै तर्फ प्रतिनिधिले वार्तामा भएको कुरा आफ्नो नेतृत्व समक्ष राख्ने बताइएको छ ।
भारत र चीन दुवैले वार्तामा भएको कुराकानीका सम्बन्धमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् । तर केही सञ्चारमाध्यमले वार्ता सकारात्मक दिशामा गएको उल्लेख गरेका छन् ।
स्रोतलाई उद्धृत गर्दै पूर्वी लद्दाखको सीमासँग जोडिएका दुवै तर्फका क्षेत्रमा शान्ति कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएको दाबी गरिएको छ । यसको अर्थ पैंगोंग ताल, गोगरा–हट स्प्रिङ्ग क्षेत्र र गलवान उपत्यकाबाट भारत र चीनले आफ्ना सैनिक तथा हतियार हटाउन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०७७, ११ : ५३
लेखकबाट थप