सफल व्यावसायिक माछापालक बने तामाङ

आइतबार, १३ फागुन २०७४, १५ : ५१
सफल व्यावसायिक माछापालक बने तामाङ

तुलसीपुर, दाङ । लमही नगरपालिका वडा नं ५ टिकुलीगढका अम्मरबहादुर तामाङ व्यावसायिक माछापालन गरेर एक सफल व्यावसायिक माछापालक बन्नुभएको छ । उहाँले हाल आठ बिघा जग्गामा आठ वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । अहिले बिहानैदेखि उहाँको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको देखिन्छ ।

विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आउनुभएका तामाङ अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्नुहुन्छ । तामाङले अहिले स्थानीय सातजना व्यक्तिलाई रोजगारीसमेत दिनुभएको छ । माछापालनबाट अहिले वार्षिक रुपमा रु ४० लाख आम्दानी भए पनि सबै खर्च कटाएर वार्षिक रु २० लाख मात्र बचत हुने गरेको तामाङले बताउनुभयो ।

“घरमा माछा लिन आएकाले पनि कसरी, कहिलेदेखि यसो गर्नुभयो भन्दै सोध्छन्, यहाँ आएका जोसुकैले पनि एक पटक पोखरी खन्ने सपना देखेर फर्कन्छन्,” उहाँले भन्नुभयो । शुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उहाँलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घर परिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा बौलाउन थालेछ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उहाँको भनाइ छ ।

करिब आठ बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछा पालिएका छन् । यो वर्ष मात्रै २०० क्विन्टल भन्दा बढी माछा बिक्री भएको तामाङले बताउनुभयो । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । प्रतिकेजी रु २२० देखि २५० सम्मका दरले माछा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

शुरुका दिनमा माछा बिक्री गर्न छिटुवामा राखेर स्थानीय बजारमा लैजानुपथ्र्यो उहाँलाई । तर अहिले टाढा टाढाबाट घरमै माछा किन्न आउनेको भीड लाग्ने गर्छ । यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउने उहाँले आम्दानी पनि सोचेअनुसार गर्न सकिने हँुदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस