सैनिक दम्पतिबाट मातापिताको स्मृतिमा मलामी घर निर्माण

आइतबार, १३ फागुन २०७४, १५ : ००
सैनिक दम्पतिबाट मातापिताको स्मृतिमा मलामी घर निर्माण

देवघाटधाम । दि फेमस महिन्द्र दल गण भरतपुरका प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मी सापकोटाले माता जसुदा र पिता दिलबहादुरको पुण्य स्मृतिमा भरतपुर महानगरपालिका वडा नम्बर एक, देवघाटधाममा मलामी विश्राम गृह निर्माण गरेका छन् ।
चार लाख रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरिएको मलामी घरको आइतबार एक समारोहबीच सापकोटा दम्पतिले उद्घाटन गरेका हुन् । प्रमुख सेनानी सापकोटाले देवघाट क्षेत्र विकास समितिसँग स्वीकृति लिएर मलामी घर निर्माण गरिएको बताउनु भयो । टिनको छाना हालिएको मलामी घर ३०फिट चौडा र ८० फिट लामो रहेको सापकोटाले बताउनु भयो ।

आफू मलामी भएर सागर आउँदा मलामीलाई बस्ने ठाउँको अभाव महसुस गरेर विश्राम घर निर्माण गरेको सापकोटाले बताउनु भयो । यसअघि त्रिपालले बनाइएको सामान्य टहरा भएको ठाउँमा अहिले जस्तापाताको छानासहितको विश्राम घर निर्माण भएपछि मलामी आउनेहरुलाई सुविधा पुग्ने स्थानीय रत्नलाल शर्मा कँडेलले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस