निजी विद्यालयहरुको बेथिती

पुस्तक लगाउन विद्यालय सञ्चालकलाई पैसा बाँड्दै संगम पब्लिकेशन

स्वीकृति नपाएको पुस्तक लगाउँदै पैसा कमाउँदै बेस चितवन

प्रकाश सिग्देल

बुधबार, २१ जेठ २०७७, ०८ : ४२
पुस्तक लगाउन विद्यालय सञ्चालकलाई पैसा बाँड्दै संगम पब्लिकेशन

चितवन । एउटा भनाइ छ, ‘धन देखेपछि महादेवको पनि तीन नेत्र ।’ चितवनका निजी विद्यालय सञ्चालकको हकमा पनि यही भनाइ लागू भएको छ । चितवनमा निजी स्कुल सञ्चालकहरुको संस्था भरतपुर इग्लिस स्कुल सोसाईटी (बेस) चितवनले आर्थिक चलखेलमा विद्यालयमा स्वीकृति नपाईसकेको पुस्तक लगाएको पाइएको छ । हजारौं विद्यार्थी र अभिभावकसँग जोडिएको महत्वपूर्ण विषयमा बेस चितवनले आर्थिक चलखेल गर्दै बिद्यार्थीको भबिस्यमाथी खेलवाड गरेको हो ।

पैसाकै जोडबलमा बेसले स्वीकृति नै नपाएको पाठ्यक्रम विद्यालयमा लगाएर चितवनमा रमितामात्रै देखाएको छैन र सम्बन्धित निकायलाई पनि चुनौति दिएको छ । नेपाल सरकार अन्तर्गत पाठयक्रम विकास केन्द्रले परिवर्तित पाठ्यक्रम स्वीकृति गरेको छैन । तर, बेस चितवनले संगम पब्लिकेशनको कक्षा १ को सबै पुस्तक आफ्ना विद्यालयमा लगाएको हो । जुन पाठयक्र अहिलेसम्म पनि पाठयक्रम विकास केन्द्रले स्वीकृति दिएको छैन । पुस्तक छनोट गर्दा विद्यालय सञ्चालकले विद्यार्थीका हितमा भन्दा पनि पैसाको बिटो हेर्छन् भन्ने आरोप धेरैले लगाउँदै आएका छन् ।

यो आरोपलाई संगमको पुस्तक लगाएर बेस चितवनले पुष्टि गरेको छ । संगमले बजारमा आफ्नो एकछत्र प्रभाव पार्न यहाँका विद्यालय सञ्चालकहरुको संगठनलाई पैसा बाँडेर विद्यालयमा आफ्नो पुस्तक लगाउने गरेको छ । चितवनमा विगत देखिनै जुन पब्लिकेशनवालाले धेरै पैसा बुझायो उसैको पुस्तक विद्यालयमा लगाइने गरेको चर्चा हुने गरेको छ । यसैमा यो पटक बेस र संगमको खेलोमेलो बाहिर आएको हो । बेस चितवनका अध्यक्ष लक्ष्मी कान्त चालिसेले आफ्नो संगठनमा आएका ८ वटा पब्लिकेशनमध्ये संगमको नै उत्कृष्ठ पुस्तक लागेकाले स्वीकृत गरिएको दावी गरे । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगर्दै तपाईँहरुले किन विद्यालयमा पुस्तक लगाउनुभयो भन्ने सफलखबरको प्रश्नमा यि पुस्तकहरु चाँडै नै पाठयक्रम विकास केन्द्रले स्वीकृति दिने संगम पब्लिकेशन्सले भनेकाले बेसले पुस्तक विद्यालयमा पठाएको दाबी गरे ।  विद्यालयमा पुस्तक लगाउन आर्थिक चलखेल हुने गर्छन् नि भन्ने प्रश्नमा उनले स्वीकार गर्दै  व्यक्तिले पैसा नलिने  तर संगठनले संगठनिक काम गर्न र विद्यालयहरुको विभिन्न कार्यक्रमका लागि भने पैसा लिने गरेको उनी स्वीकार गर्छन् ।

कक्षा १ को ४ वटा पुस्तक लगाउँदा कति पैसा लिनु भयो भनि प्रश्न गर्दा उनले अहिलेसम्म लिइनसकेको भएपनि यो शैक्षिक सत्रको अन्त्यसम्म पैसा लिने सोझो जवाफ दिए । पब्लिकेशनले प्रतिशतका आधारले भन्दा पनि स्वेच्छाले पैसा दिने गरेको उनको भनाइ छ ।

यता प्याव्सन चितवनका अध्यक्ष तथा बेस अन्तर्गत रहेको गुरुकुल स्कुलका संचालक टिकाराम चापागाईले भने आफुहरुले बिद्यालयमा पुस्तक लगाएकै आधारमा पैसा नलिने गरेको बताए ।  आफुहरुले पुस्तकको डमि हेरेर पुस्तक लगाएको बताउदै उनले कुनै न कुनै पब्लिकेशनको किताब जसरि पनि लगाउनु पर्ने भएकाले किताव हेरेर लगाएको दाबी गरे । पैसा दिएर कसैको किताव नलाग्ने र कुनै पब्लिकेशनबाला संग खाजा खान गएपनि कारबाही हुने बताउदै उनले पैसा नलिएको दाबी गरे । पब्लिकेसन वालाले पैसा दिन्छौ भनेका छन् नी भन्ने प्रश्न गर्दा उनले प्रमाण देखाउन सक्नुहुन्छ भनि प्रति प्रस्न गरेका थिए । पब्लिकेसन वालाले दिन्छौं भनेको प्रमाण छ भनेर हामिले भनेपछि उनले सरकारले निजी स्कुलका शिक्षकहरुलाई तालिम नदिने भएकाले जुन पब्लिकेशनको पुस्तक लाग्छ त्यही पब्लिकेशन संग आफुहरु वर्ष भरि सहकार्य गर्ने गरेको बताउदै घुमाउरो भाषामा सहयोग आउने स्वीकार गरे । जसको पुस्तक लगाईन्छ उहि पब्लिकेशनले शिक्षकहरुको बृति बिकासका लागी सहयोग गर्ने र त्यो स्वभाबिक प्रक्रिया भएको उनको भनाई छ ।  

त्यसैगरी संगम पब्लिकेशनका सञ्चालक सहदेव सापकोटाले भने आफूहरुको डमी पुस्तक राम्रो लागेकाले चितवनमा विद्यालयहरुले पुस्तक लगाएको बताए । पब्लिकेशनले १ हजार प्रति पुस्तक छापेर देशभरका विद्यालयमा एक एक प्रति कक्षा सञ्चालनका लागि भनेर पठाएको र बाँकी पुस्तक पाठयक्रम विकास केन्द्रबाट स्वीकृति भएपछि मात्रै छाप्ने बताए । ‘विद्यालयहरुले आफूहरुको पुस्तक राम्रो रहेको बताएकाले पाठयपुस्तकभित्र नट फर सेल लेखेर पठाइएको छ’–उनले भने । विद्यालय सञ्चालकले नै स्वीकारी सकेको अवस्थामा उनले भने चितवनमा कक्षा १ को पुस्तक लगाउन कुनै आर्थिक चलखेल नभएको दावी गरे । कक्षा १ को पुस्तक ठुलो साईजको भएको र यसमा फाईदा पनि नहुने भएकाले कसैलाई रकम नदिएको र दिन नसक्ने उनको दावी छ ।

अरु कक्षाको पुस्तक लगाएबापत भने ४ प्रतिशतसम्म दिने गरेको उनले बताए । यसैबीच पाठयक्रम विकास केन्द्रले हालसम्म पाठयक्रम स्वीकृति नभएको स्पष्ट पारेको छ । केन्द्रले स्वीकृत हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ । केन्द्रमा पेस भएका ५० बढी पब्लिकेशनका १२ सय पुस्तकहरु रहेको र तिनको स्वीकृति नभइ कसैले पनि बिक्री गर्न र विद्यालयमा लगाउन नपाउने पाठयक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए । यसरी निजी विद्यालयहरुले ब्रम्हलुट मच्चाइरहदा सम्बन्धित निकाय भने मौन बसेको देखिन्छ । पुस्तकबाट आउने कमिसन देखि निजि विद्यालयहरुले विभिन्न शिर्षकमा अभिभावकसँग मोटो रकम असुल्ने गरेका छन् ।

सरकारले प्रत्येक वर्ष शिक्षा क्षेत्र लाई भनेर ठुलो रकम बजेटमा छुट्याउने गरेको छ तर साुमदायिक विद्यालयको गुणस्तर उकास्न सकेको छैन् । तर यता निजी विद्यालयहरुको आम्दानी दिन दुगुना रात चौगुना भने जस्तै भएको छ । 

सनराइज पब्लिकेशन्सको कतूर्त : ‘पुस्तकको बास्तविक मूल्यमा कालो पोतेर कालोबजारी’ कारवाही गर्ने निकाय मौन

प्रतिक्रिया दिनुहोस