– शङ्खर पहाडी
सर्लाही । छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ ।
सीमा क्षेत्रको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले अस्थायी सशस्त्र प्रहरी चौकी, बेसक्याम्प, बिओपी तथा ड्युटी पोष्टहरु बनाएर आफ्नो जिम्मेवारी पूरा गर्न शुरु गरेको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ५१ किलोमिटर क्षेत्रको छ स्थानमा स्थायी बिओपी रहेकामा अहिले सात स्थानमा अस्थायी बिओपी थप गरेर १३ स्थानमा बिओपी पु¥याइएको सशस्त्र प्रहरीले जनाएको छ । चारदेखि १० जनासम्म ड्युटी गर्ने पोष्ट १००÷१०० मिटरको फरकमा खडा गरिएका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । भारतसँग सीमा जोडिएका ५१ किलोमिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।
सोह्र बेसक्याम्प, ८२ ड्युटी पोष्ट बोर्डर र १३ अस्थायी पोष्ट त्यसैगरी बिओपी छन् । ११०÷११२ पोष्टबाट करिब ८० देखि १०० मिटरको दूरीमा ५०० सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो ।
भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरेर बसेका सशस्त्र प्रहरी अधिकांशको बास पालमुनि हुने गरेको छ । केही अस्थायी पोस्ट, बेसक्याम्प स्थानीयवासीका घरमा छन् भने केही बेसक्याम्प तथा अस्थायी ड्युटी पोष्ट स्थानीय विद्यालय तथा सामुदायिक विद्यालयमा रहेका छन् भने अन्य अस्थायी पोस्ट बाँसका टहरा बनाएर त्रिपालको छानो हालेर बनाइएका छन् । दैनिकजसो आउने वर्षासँगै हावाहुरीका कारण सीमाको रक्षाका लागि खटेका सशस्त्र प्रहरी मारमा परेका छन् ।
खुला सिमाना भएका कारण कतिपय नेपालीको भारतमा र कतिपय भारतीयको जग्गा जमिन नेपाल रहेका कारण पनि सीमाक्षेत्रमा सुरक्षा कडाइ गर्न समस्या हुने गरेको एक प्रहरी अधिकृतले बताउनुभयो । थोत्रा त्रिपालमुनिको बसाइ करिब दुई महिना पुग्न लाग्यो । पिउने पानीको समस्या छ । रातमा बाल्ने बिजुलीबत्ती छैन । खेतमा त्रिपालको टहरा र बाँसको टहरा बनाएर बसेका छौँ । वर्षायाम शुरु भएपछि कहाँ जाने भन्ने समस्या अहिलेदेखि नै शुरु भइसकेको छ । हावाहुरी चल्यो भने त्रिपाल उडाउँछ कसरी बस्ने भन्ने चिन्ता छ । हावाहुरी आएपछि त्रिपाल समाउने कि सीमाको सुरक्षा गर्ने भन्ने चिन्ता छ । व्यवस्थित भौतिक संरचना छैन, उनीहरुको गुनासो छ ।
लकडाउनका कारण विशेषगरी सीमा क्षेत्रका मानिस बढी प्रभावित हुने गरेका बुझिएको छ । आफूहरु खेतीपाती नगर्ने बिहान–बेलुका अन्य काम गर्ने र साँझमा खाद्यान्न खरिद गरेर जीविका चलाउने मानिस नै लकडाउनको सिकार बनेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।
लालबन्दीमा १५० श्ययाको क्वारेन्टिन
सर्लाहीको लालबन्दी नगरपालिका–१ मा १५० श्यया (बेड)को क्वारेन्टिन निर्माण भएको छ । लालबन्दी नगरपालिकाभित्र यसअघि रहेका तीन क्वारेन्टिनलाई हटाएर कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा एउटै क्वारेन्टिन निर्माण गरिएको लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्काले बताउनुभयो ।
यसअघि लालबन्दी नगरपालिकाले नगरको वडा नं ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी, लालबन्दी नगरपालिका–१५ परवानीपुर र लालबन्दी नगरपालिका–१४ पत्थरकोटमा गरी तीन क्वारेन्टिन निर्माण गरेको थियो तर नगरवासीको मागपछि शान्त तथा व्यवस्थित र बस्तीभन्दा टाढा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा नगरभित्रको एक मात्र क्वारेन्टिन निर्माण गरिएको लालबन्दी नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी लामाले बताउनुभयो ।
एक सय ५० बेड क्षमताको क्वारेन्टिनमा होम क्वारेन्टिनमा बसेका छ जनालाई शुक्रबार लगेर व्यावस्थापन गर्ने र अन्य बाहिरबाट आएका मानिसलाई क्रमागतरूपमा व्यवस्थापन गर्दै लैजाने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी प्रमुख डा चन्दन चौधरीले बताउनुभयो ।
अहिले बागवानीमा रहेको जिल्ला समन्वय समितिले तयार पारेको लालबन्दी नगरपालिका–१ को वागवानीमा रहेको क्वारेन्टिनमा एक, पत्थरकोटमा होम क्वारेन्टिनमा एक, नेत्रगञ्ज होम क्वारेन्टिनमा दुई र हिरापुरमा होम क्वारेन्टिनमा दुई जना बसेका डा चौधरीले बताउनुभयो । शुक्रबार उनीहरु सबैलाई सो क्वारेन्टिनमा लगेर राखिने र बाहिरबाट आउने मानिसलाई पनि राख्न शुरु गर्ने डा चौधरीले बताउनुभयो । नगरले यसअघि पत्थरकोट, परवानीपुर र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा २५ बेडको क्वारेन्टिन सञ्चालनमा ल्याएको थियो अब भने ती क्वारेन्टिन हटाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको व्यवस्थापनमा कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा सुविधासम्पन्न क्वारेन्टिन निर्माण गरिएको र बाहिरबाट आउने शङ्कास्पद मानिसलाई त्यहाँ व्यवस्थापन गर्ने लालबन्दी नरगपालिका वडा नं ५ का वडाध्यक्ष मोहनहरि भण्डारीले बताउनुभयो । भर्खरै निर्माण सम्पन्न भएको क्वारेन्टिनमा शुद्ध पिउने पानी, शौचालय, विद्युत्, सिसी क्यामेरा, घेराबेरा र सरसफाइलगायत सुविधा छ भने २४सैं घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टिनको सुरक्षामा रहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने नागरिकलाई आवश्यक सम्पूर्ण सुविधा नगरपालिकाको व्यवस्थापनमा भएको हो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ जेठ २०७७, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने
सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण