काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई उनकै पार्टी नेकपाका एक जना केन्द्रीय सदस्यले भावकु पत्र पठाएका छन् । प्रवासी नेपालीहरुको पीडालाई उजागर गर्दै उनले प्रधानमन्त्री ओलीलाई पत्र पठाएका हुन् ।
विरोध पत्र र मागपत्र भन्दै प्रधानमन्त्रीलाई भावकु पत्र पठाउने नेकपा केन्द्रीय सदस्य हुन्,– लक्ष्मण पन्त । नेपाली र अंग्रेजी दुवै भाषामा पत्र लेख्दै उनले पार्टी केन्द्रीय सदस्य भएपनि बैठक नडाकिनाले तपाईसमक्ष आफुले नेतृत्व गरेका साथीहरुको र आम प्रवासीको समस्याहरु राख्न समय नपाइने हुदा विरोध पत्र र मागपत्र मार्फत खुल्ला रुपमा राखेको बताएका छन् । उनी नेकपाको केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिको सहइन्चार्ज पनि हुन् । यस्तो छ पन्तको प्रधानमन्त्रीलाई पत्र !
प्रिय प्रधानमन्त्रीज्यु,
कालापानी–लिपुलेकको विषयमा तपाइँको सरकारले चालेको अभुतपूर्व कदमका लागि म तपाइँलाई हृदयदेखि साधुवाद दिन चाहन्छु । विस्तारमा आफ्ना भनाई राख्नुपूर्व म मेरो पार्टीका दुई महान नेताद्वय क. मदन र क. जीवराजलाई हार्दिक रुपमा स्मरण गर्दछु । मलाई थाहा छ कि म केन्द्रिय कमिटिको सदस्य भए तापनि बैठक नडाकिनाले तपाइँसमक्ष मैले नेतृत्व गरेका साथीहरुको र आम प्रवासी जनसमुदायको समस्याहरु राख्न समय पाउने छैन । त्यसैले यो विरोधपत्र र मागपत्र खुलारुपमा तपाइँसमक्ष प्रस्तुत गर्दैछु ।
मैले तपाइँबाट जागिर पाउनका लागि वा अन्य कुनै मेरो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि यी मागहरु पेश गरेको होईन् । म आफैं विदेशमा मोटर आदि सुविधासहितको लाखौंको जागिर त्यागेर देश र जनताको लागि आफुलाई समर्पण गर्दै पार्टीमा पेशेवर बनेको पनि दुई दशक भैसकेको छ । त्यसैले मेरो लागि पार्टीमा नियुक्ति, जागिर वा कुनै पद आकर्षणको विषय होइन । मेरा भनाईहरु विशुद्ध रुपमा विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकहरुको आफ्नो मातृभूमि फर्किन पाउनु रोदन, क्रन्दन र चित्कारसंग सम्बन्धित छन् । यो समय आरोप÷प्रत्यारोपको होइन तर केही विषयहरु भने नउठाइ नहुने छन् ।
राज्यले कुनै पनि बहानामा यो अभूतपूर्व महासंकटका बेला आफ्नो दायित्वबाट पन्छिएर आफ्ना नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्न मिल्दैन । तर दुखको कुरा भारतलगायत मलेशिया र खाडीका मुलुकहरुबाट संकटग्रस्त नेपालीहरुले उद्धारको माग गर्दा तपाइँकै मन्त्रिमण्डलका जिम्मेवार सदस्यहरुबाट ‘शेयर्ड रेस्पान्सबिलिटि’ को कुरा आउने गरेको छ अर्थात् जुनजुन देशमा नेपालीहरु छन् उनीहरुलाई हेर्ने दायित्व तततत् देशका सरकारहरुको रहेको । सामान्य अवस्थामा त यो कुरा ठिकै होला । अझ एकजना तपाईकै निकट मानिने कमरेडबाट त ‘भारतले प्रवासी नेपालीहरुको सम्बन्धमा डब्लुएचओको मापदण्ड पालन गरेन’ भन्ने कुरा पनि आएको छ ।
तपाइँको घरमा आगो लाग्यो भने तपाइँ आगो निभाउने नियम पुस्तिका खोज्न लाग्नु हुन्न प्रधानमन्त्रीज्यु । जतिसक्यो छिटो जलिरहेको घरबाट आफु र आफ्नो परिवारलाई बाहिर निकाल्नु हुन्छ । भारतलगायतका देशले पनि त्यही गरेका छन् । कोरोना महासंकटका बेला स्वाभाविक नै हो ती देशका आफ्नै नागरिकहरु प्राथमिकतामा पर्दछन् । तपाइँकै सहयोगीहरुमा यति साधारण ज्ञानको पनि अभाव देखिएपछि विदेशमा फसेका नेपालीहरुको सरकारले कस्तो उद्धारको योजना बनाउला भन्ने मलाई चिन्ता लागेको छ । यस्तो बेलामा ‘शेयर्ड रिस्पान्सबिलिटि’ का र ’डब्लुएचओको मापदण्ड’ का कुरा गरेर आफ्नो अक्षमता छोप्ने छुट कसैलाई पनि छैन ।
प्रधानमन्त्रीज्यु ! कमसे कम मजदुर मुक्तिको कसम खाएर सरकारमा बस्ने तपाइँ र तपाइँको टिमलाई त यो छुट छैन नै । अझै अर्को दुखको कुरा के छ भने तपाइँकै कतिपय कमरेडहरुका तर्फबाट यो महाविपत्तिलाई ‘प्रवासी नेपालीहरु अलि बडी आतंकित भएको, अलि बढी भावनामा बगेको’ भनेर अवमूल्यन हुने गरेको छ । यो साच्चिकै दुखदायी छ । के कोरोना महामारी भावनाको कुरा हो । के विश्वका सात अर्ब जनता बढी भावुक भएर यो समस्या भएको हो ? यसबीचमा भारतमा केही नेपालीहरुले आत्महत्या गरेका छन् ।
केही बाटोमै सुत्केरी भएका छन्, केहीको गर्भपतन भएको छ । खाडीमा र मलेशियामा एउटै भवनमा १०० जना सम्म मजदुरहरुलाई राखिएको छ । उनीहरुसंग काम छैन । खाने खर्च छैन । भिसा अवधि सकिएको छ । के यो भावनाको मात्र कुरा हो त प्रधानमन्त्रीज्यु ! अमेरिकामा आफन्त भेट्न गएका आफ्नो जीवनको अन्तिम कालमा रहेका थुप्रै ज्येष्ठ नागरिकहरु कहिले मातृभूमि टेक्न पाइएला भनेर छटपटाई रहेका छन् । के यो पनि भावना नै हो त प्रधानमन्त्रीज्यु । भारतका नेपालीहरुको बारेमा तपाइँले पनि ‘होटलमा नबसेर किन सीमामा दशा देखाएको’ भन्नु भयो ।
सरकारले यस्ता त्रुटिपूर्ण चिन्तन सच्चाओस् भन्न चाहन्छु । ‘लेट अस फर्गेट द पास्ट’ प्रधानमन्त्रीज्यु । कामको कुरा गरौं । अब तत्काल तपाइँको सरकारले ढिला नगरी निम्न दुई काम गर्नु पर्दछ :–
१. भारतमा अलपत्र परेका लगभग ५० हजार नेपालीहरुका लागि भारत सरकारसित सरकारले आवश्यकतानुसार रेल र बसहरु भाडामा लिने । उनीहरुलाई सुरक्षित र सम्मानित तरीकाले नेपालको सीमाको निकटतम रेलहेड सम्म ल्याउने र त्यहाबाट क्वारेन्टाइनमा देश भित्र पुराउने व्यवस्था अविलम्ब गर्नु पर्दछ । यसका लागि लगभग ५० वटा रेल भाडामा लिनुपर्ने हुन्छ जसको खर्च सक्नेहरुबाट तिराएर बाँकी खर्च राज्यले बेहोर्नु पर्दछ ।
२. खाडी र मलेशिया लगायतका मुलुकहरुमा भिसा सकिएरर काम सकिएर निकालिएर अलपत्र भएका कामदारहरुका लागि तत्काल जहाजहरु चार्टर गर्ने । सम्भवतः २०–३० वटा विमान चार्टर गरेपछि समस्या हल हुन्छ । युरोप अमेरिका अष्ट्रेलियामा अलपत्र परेको खास समस्या देखा परेको छैन तर त्यहाँ पारिवारिक भेटघाटमा गएका आफन्तहरु र केही विद्यार्थीहरु समेतलाई एअर लिफ्ट गर्नु पर्ने देखिन्छ । साथै हङकङ जापान आदिमा पनि आफन्त भेटन गएका र रोजगारीमा समस्या भएका आउन चाहनेहरुलाई देशभित्र एअर लिफ्ट गरेर ल्याउनु पर्ने हुन्छ । यो संख्या ५÷७ हजार भन्दा बढी रहेको देखिन्न ।
प्रधानमन्त्रीज्यु, यतिखेर माथिका दुइवटा कामहरु तपाइँले राज्यको सम्पूर्ण साधन स्रोत प्रयोग गरेर भए पनि जसरी भए पनि गर्नु पर्ने हुन्छ । साधन स्रोतले थेग्दैन वा महामारी फैेलिन्छ भन्ने कुरा गरेर यो विषयलाई पर सार्ने छूट तपाइँ र तपाइँको सरकारलाई छैन ।
अन्तमा म अनुरोध गर्दछु प्रधानमन्त्री कमरेड,
हिम्मतका साथ तपाईँले घोषणा गर्नुहोस् विदेशमा म नेपालीलाई अलपत्र पर्न दिन्न । साधन सा्रेतको कमी हुन दिन्न । १०० वटा विमान चार्टर गर्नु परे पनि ५०० वटा गर्नु परेपनि म मेरा नागरिकलाई आफ्नो देशमा ल्याउछु । क्वारेन्टाइनमा राख्छु । ५० वटा रेल भाडामा लिनु परे पछि १ हजार वटा रेल भाडामा लिनु परे पनि म भारतमा भएका नेपालीलाई अलपत्र पार्दिन ।
सम्मान र सुरक्षाका साथ मातृभूमिमा भित्राउंछु । आवश्यकता परे बालुवाटारको मेरो निवासलाई पनि सरकारले लिलाम गरेर साधन स्रोत जुटाउनेछ । म सामान्य घरमा बस्ने छु । बस यत्ति काम गर्ने, यत्ति घोषणा गर्ने हिम्मत गर्नुस् । प्रधानमन्त्रीज्यु तपाइँ युगौयुग सम्म अमर बन्नुहुनेछ । हेक्का राख्नुहोस्, अढाई शताब्दीको आधुनिक नेपालको इतिहासमा जनताको यो मानवीय संकटमा सेवा गर्ने यो सुनौलो अवसर पाउने तपाइँ एकमात्र भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । तपाइँ र तपाईँको परिवारको सुस्वास्थ्य र दीर्घायुको कामनासहित,
लक्ष्मण पन्त
केन्द्रीय कमिटि सदस्य तथा
सहइन्चार्ज
प्रवास समन्यव समिति
काठमाडौ १७ मे २०२०
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०७७, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
लाज पचाएर पार्टी फुटाउनेहरूले अहिले अध्यादेश ल्याउन लाग्यो भनेर झूट फैलाए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता