सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ जेठ २०७७, ०७ : ०४
सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट

फाईल फोटो

काठमाडौँ । सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ । यद्यपि २०३२ सालमा नापी विभागले प्रकाशन गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा किन समेटिएन ? नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार नक्सा तयार पार्ने क्रममा कालापानी क्षेत्रको सीमामा द्विविधा देखियो । लिपुलेक र कालापानी मात्र राख्ने कि लिम्पियाधुरासमेत नक्सामा समेट्ने ?

उहाँका अनुसार लिम्पियाधुरा समेटिएको नक्सा पनि तयार पारियो । लिपुलेक र कालापानी मात्रै समेटिएको नक्सा पनि तयार गरी ‘माथिल्लो’ निकायमा प्रस्तुत गरियो । त्यो बेला ‘माथिल्लो’ निकायका रूपमा दरबारमा दुवै खालको नक्सा बुझाइएको सीमाविद् श्रेष्ठ स्मरण गर्नुहुन्छ । उहाँ प्राप्त आदेश अनुसार लिम्पियाधुरा बिनाको नेपालको नक्सा तयार पारी सार्वजनिक गरियो भन्नुहुन्छ ।

नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले सुरुका दिनमा भारतमा छापिएका नक्सा नै नेपालका सरकारी कार्यालयमा प्रयोग हुने गरेको स्मरण गर्दै ती नक्सामा लिम्पियाधुरा नेपालकै भूभागमा पाइएको बताउनुभयो । उहाँले नापी विभागबाट तयार पारिएको नक्सामा किन लिम्पियाधुरा समेटिएन भन्ने जिज्ञासामा कालापानी क्षेत्रमा विवाद रहेकाले कहाँसम्म नक्सामा समेट्ने भन्ने समस्या भयो । समस्या नदेखिएको ठाउँ मात्र नक्सामा समेटिएको हो भन्नुभयो ।

उहाँले २०१६ सालमा चीनसँगको सीमा नापीको समयमा निक्र्योल भएको सीमालाई नै नक्सामा राखिएको स्पष्ट पार्नुभयो । यद्यपि भारतसँगका सीमा वार्तामा सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुरा माथिको नेपालको दाबीलाई सधैँ प्रस्तुत गरिँदै आएको पूर्वमहानिर्देशक ओलीले बताउनुभयो ।

सीमाविद् श्रेष्ठका अनुसार सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सा नै आधिकारिक नक्सा मानिनुपर्छ । सो नक्सामा लिम्पियाधुराबाट निस्केको काली नदीलाई नै सीमा मानिएको छ ।
लिम्पियाधुरा–लिपुलेक सम्बन्धमा अध्ययन गर्दै आउनुभएका रतन भण्डारीका अनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा भएको पुष्टि गर्ने आधिकारिक प्रमाण इस्ट इन्डिया कम्पनी र सर्भे अफ इन्डियाद्वारा प्रकाशित नक्सा नै हुन् । सुगौली सन्धि हुनु दुई महिनाअघि सन् १८१६ जनवरी २ मा प्रकाशित ब्रिटिस सम्राट्का हाइड्रोग्राफरले तयार पारेको नक्सामा कालीको उद्गमस्थल लिम्पियाधुरा देखाइएको छ ।

भण्डारीका अनुसार नक्सामा काली नदीको दक्षिणी भागमा ‘गोग्रा आर’ लेखिएको छ । नक्साको बीचमा महाकालीलाई ‘काली आर अर वेस्टर्न ब्रान्च अफ द गोग्रा अफ सर्जु’ लेखिनुका साथै कालीलाई गोग्रा वा सर्जु नदीको पश्चिम शाखा भनिएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस