प्रधानमन्त्रीद्वारा चारवटै सुरक्षा निकाय लाई छलफलका लागि आवहान्

सोमबार, ०४ मंसिर २०७४, १६ : ४७
प्रधानमन्त्रीद्वारा  चारवटै सुरक्षा निकाय लाई छलफलका  लागि  आवहान्


काठमाडौँ । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल बोलाएका छन् ।

प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल डाकेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे छलफल गर्न थालेका हुन् ।

यसअघि, गृहमन्त्रालयद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन सुरक्षा निकायलाई दिएका थिए । उनले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिए ।

प्रम देउवाले भने “आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस् । उनले लामो संघर्षपछि वर्तमान संविधान आएको चर्चा गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेकोमा जोड दिए ।

गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि सचेत गराएका थिए । हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न पनि सुरक्षा निकायलाई सचेत गराएका थिए ।

गोष्ठीमा सबै जिल्लाका सुरक्षा अधिकारीले सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायका बारेमा जानकारी समेत गराएका थिए ।

सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस