मतपत्र छाप्ने काम सकियो : ५ करोड २२ लाख मतपत्र तयार

सोमबार, ०४ मंसिर २०७४, १६ : ४१
मतपत्र छाप्ने काम सकियो : ५ करोड २२ लाख मतपत्र तयार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ ।

निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि सोमबार बिहान छपाई सकिएको हो ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ करोड ७४ लाख, प्रदेशसभाको दुई चरणका लागि १ करोड ७४ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । त्यसैगरी समानुपातिकतर्फको मतपत्र एउटै सिटमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १ करोड ७४ लाखकै संख्यामा मतपत्र छपाई भइसकेको छ ।

प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकतर्फ गरी ५ करोड २२ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतपत्र असोज १७ गतेदेखि सुरु भएर कात्र्तिक ८ गतेसम्म सकिएको थियो । त्यसैगरी पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ३४ लाख तथा प्रदेशसभाका लागि सोही संख्यामा मतपत्र छपाईँ गरी निर्वाचन क्षेत्रमा पठाइ सकिएको प्रवक्ता ढकालले जानकारी दिए ।

पहिलो चरणको प्रत्यक्षको मतपत्र कात्तिक १० गते सुरु गरेर २० गते सकेको थियो ।

दोस्रो चरणका लागि कात्तिक २० गतेदेखि सुरु गरेर तोकिएको समय अगावै छपाई  सकिएको हो । दोस्रो चरणका लागि प्रतिनिधि सभाका लागि १ करोड २० लाख तथा प्रदेशका लागि पनि सोही संख्यामा मतपत्र छापिएको छ ।

दुई चरणमा गरी १ करोड ५४ लाख मतदाता भएपनि आयोगले करिब २० लाख बढी मतपत्र छापेको छ ।  अपेक्षाभन्दा कम उमेदवारी परेकाले तोकिएको समयभन्दा छिटो मतगणना सकिएको आयोगले जनाएको छ ।

“२० वा सो भन्दा बढी उमेदवार भएको क्षेत्र १४ हजार मात्रै छन् । जसले गर्दा एउटै सिटमा ८ वटासम्म मतपत्र छपाई भएकाले छिटो सकिएको हो,” आयोग स्रोतले भन्यो ।
समानुपातिक तर्फको मतपत्र भने ठूलो आकारको भएकाले एक पटकमा दुई ओटा मात्रै छपाई भएको थियो ।

दोस्रो चरणको मतपत्रको अब गुणस्तर चेक, नम्बरिङ र प्याकिङको काम बाँकी रहेको र यो पनि १/२ दिनमै सकिने आयोगले जनाएको छ । आयोगले सबै मतपत्रको छपाईको जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस