के नकारात्मक समाचारले हाम्रो मानसिकतामा असर गर्छ ?

एजेन्सी

बुधबार, ०९ फागुन २०७४, ०९ : १३
के नकारात्मक समाचारले हाम्रो मानसिकतामा असर गर्छ ?

प्रत्येक दिन आउने समाचारहरू युद्ध, आतङ्कवाद, अपराध, प्रदूषण, असमानता, ड्रग सेवन र दमनको कथाहरूले भरिएका हुन्छन् । समाचारका हेडलाइनहरू मात्र होइन तिनका सम्पादकीयहरू र लेखहरूमा पनि त्यस्तो देख्न सकिन्छ । म्यागजिनका आवरणहरूले भावी अराजकताहरू, महामारीहरू, विनासहरू र अन्य धेरै सङ्कटहरू (खेती, स्वास्थ्य, अवकाश, सामाजिक सुरक्षा, ऊर्जा, बजेट घाटा) बाट सावधान बनाइरहेको हुन्छ । कहिलेकाहीँ खतराहरू दोहोरिएलान् भन्ने डरले कपिराइटरहरू विगतका गम्भीर सङ्कट बारे आवरण बनाइरहेका हुन्छन् ।
संसार साँच्चै खराब भइरहेको छ वा छैन यो अनुसन्धानको विषय होला तर समाचारको प्रकृतिले हामीलाई भने संसार त्यस्तो रहेको भान पार्न सक्षम छन् ।
समाचार घटिसकेका घटनाहरूबारे बनाइन्छ नकि नघटेका घटनाहरूबारे । हामीले क्यामरामा अघि उभिएर पत्रकारले “म अहिले त्यो देशबाट रिपोर्टिङ गरिरहेको छु, जहाँ युद्ध भएको छैन” भनेको सुनेको छैनौँ । बम नपड्केको सहरको वा गोलावारी नभएको एक स्कुलको समाचार आउँदैन । यो धर्तीबाट खराब चीजहरू नमेटिएसम्म पत्रिका भर्नलाई प्रयाप्त सामग्री हुनेछ । अझ अहिले हामी त्यो समयमा छौँ जब अर्बाैंको हातमा रहेको मोबाइलले अपराध रिपोर्टर र युद्ध संवादाताको पहुँच ठूलो समूहमा बढाइदिएको छ ।

समाचारहरू इतिहासको पहिलो खेस्रा हुन छाडेर खेलकुदको पल प्रतिपलको कमेन्ट्रीजस्तो भएको छ । नयाँ समाचार अघिल्लो संस्करणमा छाडेको विन्दुबाट विकास गरिन्छ । पहिले अघिल्लो संस्करण भन्नाले अघिल्लो दिन जनाउँथ्यो आजकल केही मिनेट अघि भन्ने जनाउन थालेको छ ।

सकारात्मक र नकारात्क घटनाहरूको विकास फरक फरक समय अन्तरालमा हुने गर्छन् । खराब चीजहरू तत्कालै घट्न सक्छ । असल चीजहरूले आकार लिन प्रयाप्त समय लिन्छ, जब तिनको निर्माण भइसक्छन्, समाचारमा अरू नै विषय चर्चामा हुनसक्छ । जोन गल्टुङ शान्ति विषयमा खोज अनुसन्धान गर्छन् । उनले पत्रिकाहरू पचास वर्षमा एक पटक निस्कन्थे भने तिनमा के विषय छापिन्थे भनेर खोज गरेका छन् । उनको खोजले त्यस्तो पत्रिकाले सेलिबे्रटीको गस्सिप र राजनीतिक स्क्यान्डल नछापेर त्यो अवधिमा भएको विश्वव्यापी परिवर्तनहरू लेख्ने पत्ता लगाएको छ । जस्तै सो समयमा मानिसको औसत आयुमा भएको वृद्धि जस्ता विषय ।

समाचारको प्रकृतिले मानिसको संसारबारे धारणामा असर पर्नुको कारणबारे मानेविज्ञ अमोस भस्र्की र ड्यानियल काहनम्यानले व्याख्या गरेका छन् । तिनले यसलाई ‘उपलब्धता स्वानुभविक’ भनेको छन् । यो भनेको मानिसहरूले एउटा घटनाको सम्भाव्यताको वा त्यो दोहरिने अवस्थाको आँकलन त्यो चीज दिमागमा कति सहजै आउँछ त्यो आधारमा बनाउँछ ।

कुनै प्लेन दुर्घटना पनि समाचारबाट छुट्दैनन् तर कार दुर्घटनाहरूका खबर फाट्टफुट्ट मात्र आउँछन् । (धेरै मान्छेहरूको एकै पटक ज्यान गएको कार दुर्घटनाको खबर मात्र समाचारमा आइरहेका हुन्छन् ।) आँकडा हेर्ने हो प्रत्येक वर्ष कार दुर्घटनामा प्लेन दुर्घटनामा भन्दा निक्कै धेरैले ज्यान गुमाउनुपर्छ । तर समाचारको प्रभाव हुनुपर्छ धेरै मान्छेमा हवाइजहाज यात्राको डर हुने गर्छ तर गाडीको यात्राको डर कसैमा हुन्न ।

आँकडा वैज्ञानिक कलेभ लितरुले न्युयोर्क टाइम्समा सन् १९४५ देखि २००५ बीच छापिएका प्रत्येक आलेखहरूमा रहको मनोभाव छुट्याउने प्रविधि अपनाए । त्यही प्रविधि उनले १३० देशबाट अनुवाद गरिएका लेखहरू र प्रसारणमा पनि प्रयोग गरे । यसका लागि उनले ती देशको १९७९ देखि २००९ को सामग्रीहरू प्रयोग गरिएको थियो ।

उनले ती सबैमा समयसँगै समाचारहरू झनझन निराशाजनक हुँदै गएको पाए । नकारात्क समाचारहरूको परिणाम आफैमा नकारात्मक रहेको छ । धेरै समाचार हेर्नेहरू धेरै सुचित हुनेभन्दा बढी सशङ्कित हुने भेटिएको छ । उनीहरू अपराधको स्तर कम भइरहको आँकडा आइरहँदा पनि अपराधबारे बढी चिन्ता लिन्छन् । सन् २०१६ मा गरिएको एक अध्ययनले ठूलो सङ्ख्यामा अमेरिकीहरू आई.एस.को समाचार नियमित पढ्ने गरेका देखाएको थियो । सोही अध्ययनमा ७७% अमेरिकीहरूले आई.एस. अमेरिका राष्ट्रको अस्तित्वमै खतरा रहेको मानेको पाइएको थियो । जुन यथार्थभन्दा धेरै टाडाको कुरा हो ।
नकारात्मक समाचारहरूको उपभोग गर्नेहरू उदास रहने हालसालैको अध्ययनले देखाएको छ । तिनमा दुघर्टनाको सम्भावनाको उच्च मूल्याङ्कन, डर, उत्साहको कमी, असहायपन, अरूप्रति रिस र वैमन्यस्यता, सानातिना संवेदनाले असर नगर्ने जस्ता लक्षण देखिएको थियो । यसले तिनीहरूमा आफ्नो कर्मले केही फरक ल्याउँदैन भन्ने भाग्यवादीे धारणाको विकास भएको पाइएको थियो । जस्तो ‘मैले भोट हाले पनि केही फरक पर्ने होइन भने म किन भोट हालूँ ?’ वा ‘मैले एक जना भोकालाई खान दिए पनि संसारमा कतै न कतै कति धेरै भोक्कै छन् । मेरो कामले केही फरक पार्दैन ।”

प्रतिक्रिया दिनुहोस