एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारूढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन् ।
ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएको बीबीसीले जनाएको छ ।
जस्टिन ट्रुडोले पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गरेका हुन् । योसँगै जस्टिन ट्रुडोको नौ वर्षको शासनको अन्त्य हुँदैछ ।
उनले सन् २०१५ मा प्रधानमन्त्री भएदेखि क्यानडा र यसको हितको रक्षा गर्न काम गरेको बताए । यस क्रममा ट्रुडोले प्रधानमन्त्रीका रूपमा आफ्ना उपलब्धिहरू पनि उल्लेख गरे ।
मतदाताहरूमाझ जस्टिन ट्रुडोको घट्दो लोकप्रियताका कारण लिबरल पार्टीभित्रबाट राजीनामा दिन दबाब आएको बताइएको छ । ट्रुडोले केही समयदेखि विदेशी मोर्चामा मात्र संघर्ष गर्दै आएका छैनन्, घरेलु राजनीतिमा पनि धेरै कठिनाइको सामना गर्नु परेको छ ।
कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए । पछिल्लो समय राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।
लिबरल पार्टीको गभर्निङ लिडरबाट ट्रुडोले राजीनामा दिएको घोषणा गरेपछि उनको ठाउँमा पार्टीको नेता को बन्ने भन्ने चर्चा शुरू भएको छ ।
टोरन्टोका सांसद तथा पूर्वउपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डको नाम शीर्ष दावेदारमा परेको छ । यो सूचीमा पूर्वकेन्द्रीय बैंकर मार्क कार्नीको नाम पनि छ । सूचीमा यातायात मन्त्री अनिता आनन्दको नाम पनि छ । क्यानडाकी विदेशमन्त्री मेलानी जोलीको नाम पनि छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ पुस २०८१, ०८ : ३५
लेखकबाट थप