नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ ।
दक्ष चिकित्सको अभावमा अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति सेवा बन्द छन् भने औषधि अभावमा अस्पतालबाट निःशुल्क रुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण रोकिएको छ ।
शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा बन्द छ । पैँतीस प्रकारका निःशुल्क रुपमा वितरण गरिने औषधिमध्ये पाँच सात प्रकारका औषधिमात्र रहेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
कूल ५३ स्वास्थ्यकर्मीको दरबन्दी रहेको यस अस्पतालमा हाल करिब २० स्वास्थ्यकर्मी छन् । दक्ष चिकित्सकै अभावमा भिडियो एक्सरेसमेत बन्द भएको छ ।
प्रसूति सेवाका लागि तयार गरिएको अत्याधुनिक सुविधा शल्यक्रिया थिएटरसमेत विशेषज्ञ चिकित्सवको अभावमा सञ्चालनमा आउन नसकेको अध्यक्ष श्रीवास्तवको भनाइ छ ।
नवलपरासी–पश्चिम क्षेत्रमा रहेको सरकारीस्तरको ठूलो एकमात्र पृथ्वीचन्द्र अस्पतालमा अन्य विभिन्न आवश्यक सेवा पनि प्रभावित भएको छ ।
शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा बन्द हुँदा र गत असोज मसान्तबाटै विशेषज्ञ चिकित्सक (गाइनोकोलोजिष्ट) नहुँदा प्रसूतिका महिला उक्त सेवाबाट वञ्चित भएका छन् ।
अस्पतालमा सामान्य शल्यक्रिया र सिएस सेवा हुँदा महिनामा १६० जनाले प्रसूति गराउने गरेका थिए भने अहिले ५०, ६० जनाले सामान्य प्रसूति गराइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पतालमा अहिले प्रसूति गराउन विपन्न व्यक्तिमात्र आउने गरेका छन् सम्पन्न व्यक्ति भने बुटवल र भैरहंवा जाने गरेका छन् । यस्तै अस्पतालमा सञ्चालनमा रहेको भिडिओ एक्सरे सेवासमेत बन्द भएको छ ।
उक्त अस्पतालका मा मेडिकल सुपरिटेन्डेण्ट डा आन्नतकुमार शर्माले दक्ष जनशक्तिको अभावमा हाल विभिन्न सेवा बन्द भएको बताउनुभयो । यहाँ आएपछि व्यवस्थापन समितिसँग समन्वय गरी आफूले पनि पर्याप्त जनशक्ति र औषधि उपलब्ध गराउन पहल गरिरहेको उहाँको भनाइ छ । भिडियो एक्सरे सेवाबाट मात्रै अस्पताललाई प्रत्येक वर्ष करिब रु १३ लाख आम्दानी हुने गरेको थियो ।
सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिमध्ये अधिकांश निःशुल्क औषधिको अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीवास्तवको भनाइ छ ।
चालू आर्थिक वर्षबाट अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आए पनि त्यहाँ सःशुल्क औषधिमात्रै उपलब्ध भएको सेवाग्राहीको गुनासो छ । फार्मेसीमा उपलब्ध हुने औषधि अस्पताल बाहिर एउटै मूल्यमा उपलब्ध भइरहेकाले फार्मेसी सञ्चालन गर्न कुनै अर्थ नभएको स्थानीयवासी बताउँछन् । यो अस्पताल स्तरोन्नतिपछि हाल ५० श्ययाको रहेको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस