सडकमा हिडिरहेको मानव ताँती, सरकारको मनोदशा र नागरिक अपेक्षा

आरसी अधिकारी

आइतबार, ०७ बैशाख २०७७, १० : ०६
सडकमा हिडिरहेको मानव ताँती, सरकारको मनोदशा र नागरिक अपेक्षा

आरसी अधिकारी

‘भोक लागेर मर्नुभन्दा रोग लागेर मर्नु बेस’
‘कोठामा अन्न छैन, घरबेटीले बस्न दिँदैन’ 
‘पारिवारीक माया ममता र आत्मियतामा बाँचे पनि मरे पनि के भयो र ?’
‘बिरानो ठाँउमा कसरी बस्ने ? त्रासको बीचमा’ 
‘काठमाण्डौंमा एक मुठ्ठी चालम र एक गिलास पानी दिने कोही भेटिएन’
‘आफ्नै गाउँघरमा गएर आँटोपिठो, खोले, कन्दमुल जे खान पाइन्छ त्यहीँ खाने’
‘ठेकेदारले पैसा दिदैन, सरकार देखिदैन’
‘हामी जस्तो गरीब, किसान, मजदुरको पक्षमा बोलिदिने को होला ? सरकार छ, जस्तो लाग्दैन’ 

यी प्रतिनिधीमूलक बाक्य, बोलि र अभिब्यक्ति हुन् तिनै दिनदुःखी,गरीव, श्रमजीवि मजदुर, किसानका । जसलाई शहर नमिठो लागेको छ । घर कतिबेर पुगु जस्तो बनेको छ । घरको याद गाढा र शहरको व्यवहार तितो  अनुभूति हुन्छ । भोगाईले दुखाएको छ । 
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस  (कोभिड १९) को कारण त्रास त छदैछ । तर, रोगको त्रास भन्दा पनि पेट भित्र दन्किएको भोकको चिन्ताले उनीहरु रातारात भएपनि शहर छाड्न बाध्य बनाइरहेको छ ।  

काखमा साना चिचिला बालबच्चा बोकेर, च्याँपेर भोक, प्यास, थकाई, निन्द्रा र अभावको समेतको वेवास्ता गरी घरतर्फको दूरी छोट्टाउन कष्टकर यात्रा गर्ने, नेपाली मजदुरहरुको यस्ता अभिव्यक्ति सुन्दा र दृश्य देख्दा जो कोही विवेकशिल मानिसको मन रुन्छ । 
यो सामान्य अनुभूति हैन । श्रमद्धारा आफ्ना परिवार पाल्ने बाध्यताको अभिलाषा लिएर शहर छिरेका निर्माण, यातायात, कारखाना, भरिया, कृषि मजदुरहरूको वास्तविक पीडा हो । 
बिजोर चप्पल लगाएर, आङ राम्रोसँग नछोप्ने कपडा लगाएर जंगलको समेत बाटोघाटो हँुदै कहाली लाग्दो यात्रामा आफ्नो बासस्थान फर्किएका यी नेपाली जनताका सामू सरकारको लकडाउनको आदेश उल्लंघन गर्ने की भोकभोकै बेखर्ची भएर आफ्नो गाउँ फर्किने बाहेक अरु विकल्प रहेन । उनीहरुको चेतना, संस्कार र बाध्यता दैनिकी ज्यालादारी गर्ने, ज्यालाले त्यहीँदिनलाई पु¥याउने भविश्यको निम्ती नसोच्ने कारण मजदुर बाध्यतामा छ । ठेकेदार पैसा दिँदैन, पाल्दैन सरकार भएको अनुभूति छैन ।

 

आज विश्व कोरोना महामारीको कारण अलगथलग भएको छ । सानो असावधानी र कमजोरीका कारण इटाली र स्पेन जस्ता देशहरूमा मत्युले उत्सव नै मनायो भने कुशल व्यवस्थापन र जिम्मेवारपूर्ण जनउत्तरदायी सरकारको कारणले ठूलो क्षति हुनबाट चीन र दक्षिण कोरीया सफल भए ।  

हामी सबैलाई थाहा छ काठमाण्डौं जस्ता देशका शहरहरु मजदुरको अस्थायी बसाई हो । उसको स्थायी थाकथलो काठमाण्डौं बाहिर दुरदराजमा हो । जसले हुँदा खाने जीवन बाँचिरहेका छन् । बर्षभरीको खेतीले खान पुग्दैन । ज्याला मजदुरी गरेर खान शहर पसेका हुन्छन् । अनि यस्ता संकटका झोक्का आउँदा भित्ता भित्तामा ठोक्किने यस्तै न्यूनश्रमजीवि जनता बन्ने रहेछन् । तर, यस्तो संकटको बेला पसिनामा विश्वास गर्ने यो वर्गको अभिभावक बनिदिने कोही भएन । समाजका विबेकशिल र सचेत बन्नेहरुसँग एकदम अवसरवादी र विवेक हराएको हुँदो रहेछ भने, सरकारसमेत गरिव र विपन्नको पक्षमा हुँदोरहेछन् । संकट र समस्या छ भने पछि ‘चाँहिदाको भाँडो नचाँहिदाको ठाडो’ भन्ने जस्तो आफ्नो काम पर्दा मजदुर नभै भएन, जब समस्या आयो तब ठेकेदार र मालिकहरुले मजदुरलाई अलपत्र पारे । गैरजिम्मेवार व्यवहार प्रर्दशन गरेकै छन् । तर, मजदुर श्रमजीवि मानिसको लागि संकटका बेला मालिक, ठेकेदार वा सरकार विश्वासिलो भएनन् । संकटको बेला आफ्नै गाउँठाँउ घर परिवार र समाज नै प्यारो हुँदोरहेछ । यति मात्रै हैन, सरकारी प्रशासनिक झन्झटले न्यूनतम राहात लिन पनि आफ्नै ठेगाना भएको ठाँउमा जानुपर्दछ भन्ने प्रचार र गहिरो मनोविज्ञानले लामो कष्टकर यात्राका लागि खुट्टामा फोरा उठाएर, पेट खाली गरेर कुम्लोकाम्लो बोकेर शहर छाड्न बाध्य बनायो ।

आज हरेक विवेकशिल मानिसका अगाडि एउटै दृश्यले भाबुक बनाउने गर्दछ र प्रश्न गर्छ यो देशमा सरकार त छ ? विश्वमा महामारी फैलिदो छ । यसलाई नियन्त्रण र रोकथाम  गर्नुपर्दछ भन्नेमा कुनै दुईमत रहेन । यो असामान्य अवस्था हो । सरकारले लकडाउन  गरेर प्रशासनिक पहल कदमी लियो यो आवश्यक पनि थियो, सराहनिय कार्य पनि हो । उपचारले भन्दा रोकथामले ज्यादा जीन्दगी बचाउन सकिदोरहेछ, त्यसैले सरकार समयमा नै जिम्मेवार बनेको देखिन्छ । लकडाउन मात्रै साध्य हैन, फर्किएर एकपटक यसका सम्भावित असरको बारेमा किन सोचेन ? आफ्नो देशको सामाजिक, आर्थिक, संरचना र अवस्थाको आकंलन किन गर्न सकेन ? नागरिकको निम्ती एउटा आमाको कोखदेखि चिहानसम्म आफ्ना नागरिकको सुरक्षा गर्नु एउटा असल राज्यको दायित्व हुन आउँछ । राज्य यति निर्लज्ज, उदास र सम्बेदनहिन किन बन्न खोज्यो भन्ने प्रश्न रूदै, हप्तौ लगाएर बिजोडी चप्पलमा हिडेका मजदुरहरुको पीडाले ब्यक्त गर्दैछ । कतिसम्म गैरजिम्मेवार बन्न सक्छ सरकार ? त्यो पनि कम्युनिष्ट सरकार । यतिखेर मजदुर, गरीव जो देशका शहर र देश बाहिरका कालापथ्थरमा मजदुरी गर्नेहरुको मन, भावनामा सरकारप्रतिको अटुट विश्वास जोडिएको हुनुपर्ने थियो । 

तर, देश निर्माणमा जुटेर गैती, बेल्चा समाउने हात र काँधहरुमा भारी बोक्ने काम बन्द भएको बेला घर फर्किदा दुःख, हण्डर, अपमान र वेवास्ता भएपछि कसरी मन बुझ्छ र ? आफ्नै आँखा अगाडि भोकभोकै भएको देख्दा, कसको मन रुदैन ? किन दुःख लाग्दैन र ? काठमाण्डौंको विभिन्न स्थान, सडकपेटीमा रहेका मजदुर दाजुभाइ दिदिवहिनीहरुको कारुणीक दृश्यसँग पक्कै सरकार परिचित नै होला, जानकार नभएको भन्न मिल्दैन । 

लकडाउनको कारणले गर्दा गरीव, दुःखी, विपन्नहरु रोगले भन्दा भोकले मर्ने बाध्यकारी अवस्था सिर्जना भरहेको परीपेक्षमा सरकारलाई जिम्मेवार किन बन्न सकेन, किन चुक्यो भन्ने प्रश्न स्वभाविक रुपमा सबैको मनमा उब्जिरहेको छ ।  
विश्वब्यापी रुपमा फैलिएको कोरोनाको संकट भूकम्प, ज्वालमूखी, सुनामी, बाढिपहिरो वा युद्धको कारणले मानिसहरुको क्षति ब्यहोरेको जस्तो पनि रहेन । प्राकृतिक विपत्ती वा संकट निश्चित ठाँउ बिषेश नै हुन्थ्यो । अरुले सहयोग गर्न सक्थे, अहिलेको परिस्थितीमा सबै जसो देश कोरोना संकटबाट पीडित बनिरहेका बेला सरकारले आफ्नो बलबुताले नागरिकलाई कसरी सुरक्षा र सहजताको प्रत्याभूति गराउने भन्ने योजना बनाउन चुक्यो । 

कम्युनिष्ट पार्टीको झण्डा बोकेर सर्वहारा बर्गको पक्षमा काम गर्ने भन्दैं चुनाव लडेका कम्युनिष्टलाई खाली पैताला चर्को घामले पोल्ने पिचमा भोकभोकै कुम्लो बोकेर हिडिरहेको दृश्यले पक्कै पनि गिज्याइरहेको छ । 

यसमा सरकार, सरकार जस्तै बनिदिओस भन्ने नै चाहाना हो । सकारात्मक आलोचना गर्दा हाम्रो सरकारको तयारी पुगेन भन्ने हो । पैदल यात्री प्रति सरकार बेखबर छ या सत्ता भनेको समग्र समस्याको समाधान हैन र ? हामीसँग महामारीका लागि कुनै तयारी रहेन छ । सबैभन्दा पहिला देश, जनता, यिनको सुरक्षा हो सरकारको लागि ।  कोरोना भाइरसको कारणले देशमा ठूलो विपत्ती आइराखेको छ । राज्यको भूमिका, कर्तब्य अधिकार र इमान्दारिताका साथ जनताको स्वास्थ्य र जनजीविकालाई सम्वोधन गर्नुपर्दछ । 

परिस्थिती अनुसार अगाडि बढ्नुपर्दछ । यस आलेखमा सरकारले केही पनि गर्दै गरेन भन्ने आशय हैन । पुगेन र यसो गर्दा राम्रो हुन्छ, हुन्थ्योँ भन्ने आशयबाट लेखिएको हो । सरकारले संकट पार गर्न एकतावद्ध भएर एउटा मोर्चा बनाएर कोरोना संकटबाट पार लगाउनुपर्दछ । 

मुख्यतः सरकारले लकडाउन पालना गर्ने गराउने, स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री र ल्याब, अस्पताल, आइसोलेसन बार्ड, क्वारेन्टाइन व्यवस्थित गर्ने र काठमाण्डौं लगायतका विभिन्न शहरबाट बाहिर जान चाहाने विपन्न नागरिकहरुलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चेकजाँच गरी सकेसम्म सामाजिक दूरी कायम हुने गरी साधान प्रयोग गरेर सम्बन्धित गाउँठाँउसम्म पु¥याउनुको विकल्प देखिदैन । एकपटक गरिसकेको निर्णयबाट सरकार पछि हटेपछि अहिले सडकमा मजदुर र विपन्नहरुको लावास्कर देखिन थाल्यो । लकडाउन एक साता भन्दा पछि बढाउने तयारीसँगै यस्ता नागरिकहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सरकारले पटक्कै तयारी गर्न सकेन वा यो समस्याको भेउ पाएन । तर पनि समस्या देखिसकेपछि तत्कालै योजनाबद्ध ढंगले  यातायात व्यवसायी, प्रहरी, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर यसको समाधान निकालेको भए सरकार यति आलोचित बन्नुपर्ने थिएन । देशका प्रमुख शहरबाट गाउँ पठाउन यति हम्मेहम्मे भएको सरकारलाई बिदेशमा रहेका ५० लाख नेपालीहरुलाई स्वदेश फर्काउँदा अर्को ‘विपत्ति’ आइलाग्ने देखिन्छ । तर, सरकार हुनाका नाताले आफ्ना नागरिक देश भित्राउनु, उपचार गर्नु, व्यवस्थापन गर्नु आधारभूत काम भित्र नै पर्दछ । 

कोरोना भाइरसले संसारलाई एउटै नाङ्लोमा राखिदिएको छ । आणविक शक्ति सम्पन्न देशहरुको घमण्ड कोरोनाका अगाडि निरिह छन् । स्वास्थ्यकर्मी आफ्नो जीवनलाई दाउमा राख्दै निरन्तर खटिरहेका छन् । मानव जीवन बचाउने कार्यमा अग्रभागमा छन् । धन, लोभ र लालसा फिक्का भएका छन् । 
हामीलाई थाहा छ विश्वविजेता अलेक्जेण्डरले भनेका थिए ‘मेरो शालिक शहरको बीचमा खाली हात गरेर बनाउनु ताकी आगामी पुस्ताले मान्छे मरेर खाली हात जाँदोरहेछ भनेर देखुन ।’ आज पनि हामीले देखेका छौं इटालीका अर्वपति १८ तल्लाबाट हामफालेर मरेका छन् । पैसा सडकमा फालेका छन् । मृत्यु र महामारीले धनी, गरीव, कालो गोरो, शक्तिशाली शक्तिहिन भन्दो रहेनछ । जसको रोगप्रतिरोधी क्षमता बढि छ उहि नै बाँच्ने अवस्थामा पु¥याएको छ, कोरोनाले । 

सरकारले चाल्नुपर्ने कदमहरु :
१, प्रधानमन्त्री र मन्त्रीको सबैभन्दा नजिकको भएको अभिनय गरेर आफ्नो दूनो सोझयाउने किस्ताकिस्तामा सरकारलाई बदनाम गरिरहेका उडुसहरुको जुलुस माथि अब बालुवाटारले औषधी छर्न र सफा गर्न ढिला गर्नु हुन्न । स्रोत र साधान र शक्तिको गलत प्रयोग गरी आफ्नो व्यक्तिगत स्वार्थमा राज्यलाई बन्धक बनाउनेलाई छानीछानी कारर्वाही शुरु गर्नुपर्दछ । मिलेर लुट्ने र कमाउने ध्याउन्न भएका भष्ट्राचार गर्ने गराउने बदमासहरुको पर्दा भित्रको अध्यारो खेलोमेलो गरेर भाँडभैले मच्चाएर जुधाउने बजाउने र बाहिर आएर मेलमिलापको अलाप जम्ने अभिलाषी बिचौलियामुक्त अभियान चलाउनुपर्दछ । यहाँ त सर्पले भ्यागुता खाइरहेको छ तर भ्यागुता अझै किराको आश गरिरहेको जस्तो देखिन थालेको छ । संसारको शक्तिशाली डोनाल्ड ट्रम्पको घमण्ड त चक्नाचुर पारेको छ कोरोनाले । अझै मानिसहरु लुट्नै दाउ खोज्दैछन्  । 

२, यतिखेर दुई तिहाई मत प्राप्त केपी ओली सरकार अगाडि गरीव, ज्यालादारीमा बाँचेकाहरुको, वृद्ध र केटाकेटी तथा सम्भावित संक्रमित क्षेत्र छुट्टाएर व्यवस्थापन गर्नुपर्दछ । शासक यतिखेर मात्र सफल हुन्छ जतिबेला त्यो देशका नागरिक सरकारप्रति धन्य हुन्छन् । यो मानवजातीकै सम्भयता र विकासलाई चुनौती दिने संकटलाई सरकारले नै पार लगाउनुपर्दछ । सरकार, पार्टी, प्रतिपक्ष, आम नागरिक, समाज र मित्रहरुको सुझाव सहयोग लिने दायरा फराकिलो बन्नुपर्दछ ।

 ३, मध्यपूर्व र संसारभरीका नेपाली कामदारहरू आफ्नो देश फर्कन ७७ प्रतिशतले चाहेकोे गैर आवासिय नेपाली संघले जनाएको छ । उनीहरु कोरोनाग्रस्त मुलुकमा छन्  । संख्याको हिसावले ५० लाख नेपाली बाहिर हुँदा करीब ३८ लाख नेपाली आउन चाहान्छन् भन्ने यसले देखाउँछ । यदि ल्याउनुपर्ने अवस्था भएमा त्यसको लागि क्वारेन्टाइन, आइसोलेसन, अस्पताल र टेस्ट ल्यावको तयारी गर्नुपर्दछ । त्यसका लागि समेत सरकारले अब ध्यान दिन ढिला गर्नु हुन्न । 

४, देशभित्रका विद्यालय र विश्वविद्यालयहरु ठप्प छन् । कसरी सञ्चालन गर्ने त्यसको प्रविधि र व्यवस्थापन गर्नुपर्दछ । 

५, भारत र मध्यपूर्व मजदुर नेपाल आउँदा उसको रोजगारी र खाध्य व्यवस्था कसरी मिलाउन सरकारले के कस्तो योजना बनाइरहेको छ ? यदि नबनाएको भए यसका लागि समेत सोच्नुपर्ने अवस्था आइसकेको देखिन्छ । 

६, नेपाली जीवन रेमिट्यान्समा आधाररित छ । खेतवारी बाँझा छन् । यसलाई कसरी खेतीयोग्य बनाइ उत्पादन र उत्पादकत्व बढाउने र संकटमा बेला आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने अवसर र चुनौती दुबै सरकार सामू छ । 

७, भारतमा पनि लकडान छ उसको पनि सवा अर्ब जनता पालिनुपर्दछ । हामी बार्षिक ८० प्रतिशत खाद्यान्न भारतबाट आयत गछौं । यदि भारतले आफ्नो देशको कृषिजन्य उत्पादन र औषधी नदिने घोषणा गरेमा त्यसपछि नेपालले के गर्ने हो ? त्यसको पनि बिकल्प सरकारले सुझाउनुपर्ने अवस्था छ । 

८, कोरोना भाइरसको संकटले नेपाललाई चुनौती मात्रै हैन अबसर र सम्भावना पनि सँगसगै ल्याइदिएको छ । रोपे फल्ने नेपालका खेतवारीमा आधुनिक कृषि र व्यवसायिक पशुपंछीपालन, आयूर्बेद जटिवुटीको व्यवसायीकरण गरी स्वदेशमा नै केही गर्ने बातावरण तयार गर्नुपर्ने देखिन्छ । भोकमरी टार्न आत्मनिर्भर कृषि कार्यक्रम ल्याएर बेलैमा तयारी नगरी सुखै छैन ।  विपत्ती भर हुँदैन । अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्दछ । 

७, स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्था र स्वास्थ्य शिक्षा नै धन रहेछ । देशलाई फुटवल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछ । धेरै युद्ध सामाग्रीभन्दा धेरै अस्पताल र धेरै बजेट स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने देखिन्छ ।
र अन्यतमा, हामीले हाम्रो देश हाम्रो एकता, सद्भाव र मेहनतले बनाउने हो । सबै खालका संकट र महामारीलाई पार लगाउन सकिन्छ । सरकारले बेलैमा सोचोस् नागरिक योगदान दिन तयार छन् । 

 

प्रतिक्रिया दिनुहोस