​राजीव कोइराला काँग्रेसबाट प्रदेश १ को संसदीय दलको नेता चयन

मंगलबार, ०८ फागुन २०७४, ०९ : ५८
​राजीव कोइराला काँग्रेसबाट प्रदेश १ को संसदीय दलको नेता चयन

इनरुवा । प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन हुनुभएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो । कोइराला काँग्रेसका सुनसरी सभापतिसमेत हुनुहुन्छ ।

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी हुनुभएको थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा काँग्रेसको राम्रो नतिजा आएको थियो । कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

रेडक्रशमा पुन : मेहता
यसैबीच, नेपाल रेडक्रश सोसाइटी इनरुवाको सभापतिमा पुनः रामप्रसाद मेहता चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको भेलाले पुनः मेहतालाई सभापति पदमा चयन गरेको हो ।

त्यसैगरी, उपसभापतिमा महिचन साह, सचिवमा कामेश्वर पण्डित र कोषध्यक्षमा कुमार ओझालाई सर्वसम्मतरुपले चयन गरिएको सदस्य वीरेन्द्र साहले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा वीरेन्द्र साह, योगेन्द्रप्रसाद मेहता, निरादेवी मेहता, सीता रिजाल, ब्रह्मदेव पण्डितलगायतको चयन भएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस