मेरो लकडाउन डायरी : यस्तै रहेछ हामी तीन कर्मीको कर्म

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, ३० चैत्र २०७६, १२ : ३१
मेरो लकडाउन डायरी : यस्तै रहेछ हामी तीन कर्मीको कर्म

– हिरालाल आचार्य ‘डायमण्ड’

मैले यस लकडायन डायरीमा आफ्नो दैनिकीमात्र होइन तीन कर्मीको कर्म र आफ्नो संदेशलाई पनि समेटेको छु । यहाँ उल्लेखित सबै कुराहरु केवल मलाई लागेका धारणा मात्र हुन् ।

सुरु गरौं दैनिकीबाट 
विगतका दिनभन्दा केही फरक त लागिरहेको छ, मलाई यो लकडाउनको समय । तर उही कार्य व्यस्तताले गर्दा होला धेरै फरक भने लागेको छैन । 
कलेज जाने बिहानको समय घरमै बितिरहेको छ । घरमा बसेर पढ्ने बेलुकाको समयमा किताबहरु नपल्ट्याएको पनि धेरै भयो । यी दुबै समय सामाजिक सञ्जाल र मोबाइल गेमहरुमा बित्ने गर्दछ । धेरै जसो चलचित्र हेरेर । रातीको समय (१० बजेपछि) सुत्ने भइ नै हाल्यो । यति बेला उठ्ने समयको ठेगान छैन । कलेज हुँदा ५ बजे उठ्थें ।

अब कुरा गरौं दिउँसोको समय (११ : ३०–०७ : ००) । यो समय मेरो लागि लकडाउन अघि र अहिले एउटै छ । 
लकडाउन अघि पनि म यो समयमा कार्यालयमा पुगेर काम गर्थें र अहिले पनि जान्छु । के फरक छ भने, लकडाउन अघि अरु सहकर्मीहरु पनि साथमा हुन्थे । अहिले म एक्लै हुन्छु । अनि हप्तामा एक/दुई दिन रिर्पाेटिङका लागि फिल्डमा जानु पथ्र्याे । अहिले पर्दैन । पहिले हप्तामा एक दिन साप्ताहिक विदा लिन्थे । अहिले लिँदिन । 

मैले सडक पनि लकडाउनै भएजस्तो सुनसान देख्दिन । म कार्यालय आउनेजाने बाटो (भरतपुर बाइपास रोड) मा अहिले पनि मालबाहक सवारी साधनहरु गुडिरहेका छन् । तर पहिलेभन्दा धेरै कम । 

मेरो घर कार्यालय नजिकै भएका कारण लकडाउनको समयमा मलाई डेस्कमा बोलाउने र डेस्कमा बस्ने अरु सहकर्मीहरुलाई घरबाटै काम गर्न लगाउने गरी व्यस्थापन पक्षले निर्णय गरेछ । त्यही निर्णयानुसार लकडाउनपछि पनि म कार्यालय आउने गरेको छु (१५/२० मिनेटको पैदल यात्रामा) । लकडाउनको पहिलो हप्ता भने म बिरामी भएका कारण कार्यालय आउन सकिन । त्यसपछि नियमित आइरहेको छु ।

डेस्कमा आउनुपर्ने अन्य सहकर्मीहरुले घरबाटै आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् । कार्यालय नआई बाहिर फिल्डमा रिर्पोटिङ गरेर समाचार पठाउने देशभर छरिएर रहेका रिर्पोर्टरहरुको काम पहिले झैं छ । विशेष गरी लकडाउनको बेला कष्ट त रिर्पाेटिङमा जाने उनीहरुलाई पो भएको छ । 

हाम्रो संस्थाका सञ्चारकर्मी मात्र होइनन् । देशविदेशका सम्पूर्ण सञ्चारकर्मीहरुले कोरोना भाइरस (कोभिड– १९) बाट सिजृत यस परस्थितिलाई सामना गर्दै आफ्नो काम गरिरहेका छन् । केही पत्रिकाहरु बन्द भएकाले ती पत्रिकामा काम गर्ने सञ्चारकर्मीलाई भने यो समयमा फुर्सद मिलेको होला । तर म जस्ता अनलाइन मिडिया अनि टिभी र रेडियोका सञ्चारकर्मीलाई त झन् जिम्मेवारी थपिएको मलाई लाग्छ । अब प्रशंग जोडौं तीन कर्मीको ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी 
यो परस्थितिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सञ्चारकर्मीलेभन्दा पनि बढी जोखिम मोलेर काम गरिरहेका छन् ।
विल्कुलै अलगअलग कार्यक्षेत्र भएपनि यी तीन कर्मीको कर्म भने एउटै रहेछ । केही चिनेका डाक्टरलाई सोधें, केही नर्स साथीहरुलाई सोधें, बाटोमा भेटिएका केही सुरक्षाकर्मीहरुलाई सोधें, उनीहरु र हामी सञ्चारकर्मीको कर्म एउटै पाएँ । लकडाउन हुँदा पनि फुर्सद नपाइने । यस्तो परस्थितिमा आफ्नो कर्तव्यबाट पन्छिनका लागि कुनै बाहना पनि काम नलाग्ने । आफ्नो ज्यान जोखिममा राखेर अनि परिवार र छरछिमेकीलाई रोग सार्न सक्ने एउटा माध्यम बनेर काम गर्नु पर्ने । यस्तै हो रहेछ हामी तीन कर्मीको कर्म । अनि यिनै तीन कर्मीलाई रहेछ घरबेटीले कोठा सरेर अन्यत्र जाऊ भन्ने ।

यी तीन कर्मीहरु जस्तो सुकै परस्थितिमा पनि आफ्नो कार्य क्षेत्रबाट पछि हट्न मिल्दैन । स्वास्थ्यकर्मीले काम नगरे बिरामीको उपचार कस्ले गर्ने ? सुरक्षाकर्मीले काम नगरे सुरक्षा कस्ले दिने ? सञ्चारकर्मीले काम नगरे मानिसले सूचना कसरी पाउने ? यी तीनै वटा केवल प्रश्न मात्र हुन् । जसको उत्तर छैन । सायदै त्यस्तो विषम परस्थिति आउला जतिबेला अस्पताल, सुरक्षा निकाय र सञ्चार माध्यमलाई नै बन्द गर्न बाध्य हुनुपरोस ।

आर्थिक क्षेत्रमा काम गर्ने र देश, समाज सेवामा लाग्ने केही व्यक्तिहरुलाई पनि यस लकडाउनले फुर्सद दिएको छैन होला । तर यी तीन कर्मीको जस्तो जोखिम र नियमित खटिनुपर्ने भने पक्कै नहोला ।

हामी तीन कर्मीको पेशा नै यही हो । हामीले आफ्नो पेशागत कर्तव्य पुरा गर्न जोखिम मोल्नै पर्छ । विश्वभरीकै तीन कर्मीको अवस्था अहिले यस्तै छ । विकसित देशमा रहेका तीन कर्मीले उच्च सुरक्षा सतर्कता अपनाएर काम गर्ने अवसर पाएका होलान । तर हाम्रो देश नेपालमा स्वास्थ्यकर्मीले त पर्याप्त सुरक्षा विधि अपनाउन पाएका छैनन् भने बाँकी दुई कर्मीको के कुरा गर्नु । 

यस्तो माहामारीको बेला आम मानिसको आशा र भारोशाका केन्द्रमा हुन्छौं हामी तीन कर्मी । सबै क्षेत्रका समुदायले हामी तीन कर्मीको कामलाई प्रसंशा पनि गरेका छन् । यस्तो अवस्थामा हामी आफ्नो जिम्मेवारीबाट भाग्ने होइन थप उर्जाशिल भएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ । सुरक्षित भएर हामीले आफ्नो जिम्मेवारीलाई पुरा गर्नै पर्छ ।

सकरात्मक कुरालाई बढी ध्यान दिऊँ
विश्वका शक्तिशाली राष्ट्रहरुले पनि यस महामाराीलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा यदि नेपाल जस्ता कम विकसित राष्ट्रमा यो भाइरसले आक्रमण गरेमा के होला ? भन्ने प्रश्नका साथै डर आम मानिसको मनमा खेलिरहेका हुन सक्छन्, यस्तो सोच आउनु पनि स्वभाविक हो । तर नकरात्मक कुरालाई होइन सकरात्मक कुरालाई बढी ध्यान दियौं भने हाम्रो आत्मबल स्वत बढ्नेछ । आत्मबल बढ्यो भने रोग प्रतिरोध क्षमता पनि बढ्छ । 

लकडाउनको समयमा भरतपुर बाइपास रोड

कोरोना लाग्दैमा उसको जीवन समाप्त हुने होइन । यो भाइरस हाम्रो शरीरमा प्रवेश गरिहालेता पनि उपचार पश्चात निको भएर पुनः सामान्य जीवनमा फर्कन सकिन्छ । कोरोनबाट संक्रमित भएकाहरु धेरै निको भएर घर फर्किसकेका पनि छन् । कोरोनाको उदगम विन्दु चीनको उहान अहिले सामान्य बनेको छ । नेपालमा हाल उपचाररत कोरोना संक्रमितहरुको स्वास्थय अवस्था सामान्य रहेको र उनीहरुलाई केही दिनमा डिस्चार्ज गरिने भनेर अस्पतालहरुले भनिरहेका छन् । त्यसैले हामी धेरै आत्तिहाल्नु पर्ने अवस्था छैन् । कोरोना भाइरसको जोखिम कम गर्न सकिने सुरक्षा विधिहरु अपनाएर हामी ढुक्क साथ बसौं । मनोबल उच्च पारौं ।

कोरोना संक्रमणको पुनरावृत्ति हुनसक्ने भन्दै लकडाउनलाई तत्कालै खुकुलो पार्नका लागि हतार नगर्न विश्व स्वास्थ्य संगठनले देशहरुलाई आग्रह गरेको छ । त्यसैले पनि लकडाउन अझै लम्बिने संभावना उच्च छ । हामी सानातिना कामका लागि पनि बाहिर ननिस्कौं । हाम्रो देशमात्र होइन विश्वका धेरै देश अहिले लकडाउनमा छन् । लकडाउनको समयमा हामी धैर्य गरेर घरमै बसौं । तर के गर्नु हामी तीन कर्मी त बाध्यताले पनि बाहिर निस्कनै पर्छ । आशा गरौं यो कारोना भाइरसको माहामारी एक दिन अवश्य हटनेछ र हामी सबै पुनः स्वतन्त्र भएर हिँड्न पाउने छौं । 

तर बीचबाटोमै अलपत्र परेका व्यक्ति अनि खानाको अभावमा भोकै तड्पिन बाध्य परिवार र समुदायलाई पहिचान गरेर सरकारले उनीहरुको जीवनयापनमा सहजता ल्याउन राहत उपलब्ध गराउनु पर्छ । सरकारले रोग र भोक दुबैबाट जनतालाई बचाउन कोशिस गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस