कन्सुलर रहेका अग्रवाल यसरी परे कालोबजारीमा

सफल खबर संवाददाता

मंगलबार, २५ चैत्र २०७६, १९ : ४४
कन्सुलर रहेका अग्रवाल यसरी परे कालोबजारीमा

काठमाडौँ । कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका १ नक्साल बाल मन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोभिड(१९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रति गोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ प्रति गोटामा बेच्दै गर्दा पक्राउ परेका हुन् ।

शंकर रुपका संचालक एवम् किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका अग्रवाललाई निजले प्रयोग गर्ने २०९ एचसिसि १ नम्बर भएको कुटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थान सहित महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।