६८ औं प्रजातन्त्र दिवस

राजनीतिक स्थिरता र समृद्धिको सपना अब साकार हुन्छ : प्रधानमन्त्रि ओली

सोमबार, ०७ फागुन २०७४, ११ : ३८
राजनीतिक स्थिरता र समृद्धिको सपना अब साकार हुन्छ : प्रधानमन्त्रि ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता र समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन् ।
६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केन्द्रीकृत संरचनाको अन्त्य गरी मुलुक शासकीय ढाँचा परिवर्तन गरी विकासको युगमा प्रवेश गरेका बताएका हुन्।

दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने प्रेरणा फागुन ७ बाटै प्राप्त भएको बताए। उनले तीनवटै तहका सरकारले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा समन्वयात्मक तवरबाट शासन सञ्चालनको अध्यायको सुरुवात भइसकेको बताए।

मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई आग्रह समेत गरे।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो। विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस