प्रदेश ५ : उपसभामुख चुन्न आज निर्वाचन हुँदै

आइतबार, ०६ फागुन २०७४, १२ : ३०
प्रदेश  ५ : उपसभामुख चुन्न आज निर्वाचन हुँदै

 

बुटवल  । प्रदेश नम्बर ५ को उपसभामुख चुन्न आइतबार निर्वाचन हुँदैछ । उपसभामुखमा लागि नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन् ।

एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बर्दियाकी पूर्व कमलरी कृष्णी थारुको उम्मेदवारी दर्ता गरेकी छन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले कपिलवस्तुकी दलित आन्दोलनकी अगुवा रीना नेपाल बिकले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभामा एमाले–माओवादी गठबन्धनसँग ६१ सदस्य छन् भने कांग्रेससँग १९ सदस्य छन् । चौथो दल संघीय समाजवादी फोरम, नेपालले कसैलाई समर्थन गरेको छैन ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचन गर्नेछ । त्यसैले गठबन्धनकी उम्मेदवार थारु विजयी सुनिश्चत छ ।
 

उपसभामुखमा कांग्रेसको उम्मेदवारी किन ?
कांग्रेसले मुख्यमन्त्री र सभामुख पदमा उम्मेदवारी दिन चासो देखाएन । तर उपसभामुखमा भने उम्मेदवारी दिएको छ । अरु प्रदेशमा उम्मेदवारी नदिएको कांग्रेसले प्रदेश ५ मा उपसभामुखमा उम्मेदवारी दिँदै प्रतिपक्षी भएकाले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेको छ ।

प्रदेश ५ को संयोजनको जिम्मा पाएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले र माओवादी केन्द्र सत्तापक्ष भएकाले प्रतिपक्षले उपसभामुख पाउनुपर्ने दाबी गरे ।

तर एमालेले भने कांग्रेसको तर्कमा दम नभएको बतायो । ‘अहिले पार्टी एकता नै भएको छैन, एकता प्रक्रियामा छ’ एमाले प्रदेश ५ का मुख्य सचेतक भूमिश्वर ढकालले भने, ‘कांग्रेसको त्यो तर्कमा दम छैन ।’

 

प्रतिक्रिया दिनुहोस