काठमाडौँ । सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपछि उडान रोकिन लागेको हो । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
समितिले पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । आजको कान्तिपुर दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ चैत्र २०७६, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
गृह मन्त्री लेखकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दा खादा र माला नल्याउन आग्रह
जहाज दुर्घटनापछि यस्तो छ विमानस्थल बाहिरको अवस्था (तस्विरहरु)
नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’