विद्यालय बन्द, एसईई चालू, नयाँ भर्ना गर्न नपाइने

पत्रपत्रिकाबाट

बुधबार, ०५ चैत्र २०७६, ०७ : ०७
विद्यालय बन्द, एसईई चालू, नयाँ भर्ना गर्न नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तीन हप्तासम्म विद्यालय बन्द गर्न अपिल गर्नुभएको छ। उहाँले सो अवधिमा स्कुले उमेरका करिब ७० लाख बालबालिकालाई परिवारसँग घरमै बस्न अपिल गर्भएको हो।

एसईई परीक्षा शुरू हुनु दुई दिनअघि हिजो मंगलबार जारी गर्नुभएको अपिलमा मन्त्री पोखरेलले भोलि बिहीबारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) भने नरोकिने जानकारी दिनुभएको छ। उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा नरोकिने स्पष्ट पार्दै उहाँले सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ।

‘संकटको अवस्थामा सबैले सहयोग गर्नुपर्ने दायित्व भएकाले अपिल गरेका हौं। विश्वविद्यालयले लिइरहेको र अब लिने परीक्षाको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा उपकुलपतिहरूसँग छिट्टै बैठक बसेर निर्णय दिइनेछ।’

मन्त्री पोखरेलले आज ५ गतेसम्म परीक्षा सकिएका १ देखि ९ कक्षासम्मका सबै विद्यार्थीलाई भोलिबाट परिवारसँग बस्न अपिल गर्नुभएको छ। कोरोना भाइरसको संक्रमणको त्रास रहेको अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान र यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न उहाँले अपिल गर्नुभएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस