नारायणगढ । २०३३ सालतिर नारायणगढको मिलनरोडमा सुनचाँदी व्यवसायी इश्वरलाल रामुदामुले सञ्चालनमा ल्याउनु भएको जय सन्तोषी माँ सुनचाँदी पसलको अहिले नारायणगढमा थप दुई वटा र बेलायतको लण्डनमा एउटा शाखा सञ्चालनमा छ । नारायणगढमा रहेका तीन वटा पसलमध्ये जय सन्तोषी माँ सुनचाँदी शो रुमका सञ्चालक रुबिन रामुदामुले बेलायतमा पढाई पूरा गरेर फर्केपछि पुख्र्यौली व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ ।
हजुरबुबाबाट बुबाहुँदै पुर्खाैली पेशा धान्ने जिम्मेवारी अहिले उहाँमा सरेको छ । दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उहाँ आफ्नो पसलमा आएका ग्राहकको सेवामा बिताउनु हुन्छ । ग्राहकलाई भगवान सरह ठान्ने ४१ बर्षीय रामुदामु उनीहरुलाई सन्तुष्ट पारी चित्त बुझाएर पठाउने गरेको बताउनु हुन्छ । आफ्नो व्यवसायबाट सन्तुष्ट र सफल रामुदामु व्यावसायिक निरन्तरता र इमान्दारीले यो सबै सम्भव भएको उहाँको ठम्याई छ ।
तत्कालीन समयमा राणाहरुको दरबारमा उहाँका हजुरबुबाले सुनका गरगहना बनाएर दरबार पु¥याएको कुरा आफ्नो बुबामार्फत थाहा पाएको उहाँले सुनाउनु भयो । आफ्नो पारिवारिक पेशाको राम्रो इतिहासले पनि उहाँलाई यो पेशामा लागिरहन प्रेरित गरेको छ ।
हजुरबुबाको पालादेखि सुन व्यवसाय गर्दै आएको रामुदामु परिवारको काठमाडौं, न्यूरोडमा पसल थियो । त्यतिबेलाको समयमा कालीगढको अभावमा पनि राम्रो डिजाइनका गरगहना बनाउने त्यो पसलमा सम्भ्रान्तदेखि राजदरबारका सदस्यसम्म मुख्य ग्राहक थिए । त्यही पेशालाई पछ्याउंँदै आउनु भएका बुबाको कर्मलाई आफूले साथ दिएको बताउनु हुन्छ रामुदामु ।
लण्डनमा नौ वर्ष पढेर फर्केपछि पुख्र्यौली पेशालाई अगाडि बढाइरहनु भएका रामुदामु नेपालमै केही गरौँ भन्ने भावनाले स्वदेश फर्किएको बताउनु भयो । कामदार र कालीगढ गरी एक सय जनालाई रोजगारी दिइएको जानकारी दिँदै सञ्चालक रुबिन रामुदामुले आफ्ना ग्राहकहरु कावासोती, डण्डा, टाँडी, पर्सा, भण्डारा, गीतानगर, गोरखा, लमजुङ, धादिङ, तनुहँसम्म रहेको बताउनु भयो ।
हजुरबुबाको निधनपछि काठमाडौंमा पुख्र्यौली व्यवसायलाई निरन्तरता दिनुभएका रुबिनका बुबा इश्वरलाल रामुदामु आफन्तको आग्रहमा २०३३ सालमा सपरिवार चितवन झर्नुभयो । सुनको व्यवसाय भर्खर शुरु गर्दा चितवनमा पनि व्यवसायले राम्रै गति लियो । एउटा सानो कोठाबाट शुरु भएको सुनचाँदी पसल नयांँ डिजाइनका गहना पाइने पसलको रुपमा लोकप्रिय बन्दै गयो । चितवनमा राम्रा डिजाइनका गहना बनाउने कालीगढको रुपमा रुबिनका बुबाले नाम कमाइसक्नु भएको थियो, जसले गर्दा व्यवसायले ह्वात्तै फड्को मा¥यो ।
पसल नजिकैको बालकुमारी स्कुल पढ्ने समयमा रुबिनले छुट्टीपछि पसलमा नै समय बिताउने गर्नुभयो । बाल्यकाल सम्झँदै रुबिन भन्नुहुन्छ, त्यतिबेला गहना कसरी पोल्ने, जोड्ने आदि कुरा नियालिरहन्थेँ । आफूलाई पनि यस्तै राम्रा गहना बनाउन सक्छु भन्ने हिम्मत आउँथ्यो ।
बालकुमारी कलेजमा आइकमसम्मको अध्ययन पूरा गरेपछि उच्चशिक्षा हासिल गर्न परिवारकै सल्लाहमा उहाँ बेलायत जानु भयो । तीन दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छा रुबिनले बेलायतमा व्यवस्थापन विषय लिएर स्नातक र स्नातकोत्तरको पढाई पूरा गर्नुभयो । आठ वर्ष बेलायतमा बिताउनु भएका रुबिन फूर्सदको समयमा त्यहांँ रहेका सुन पसल चाहार्नु हुन्थ्यो ।
बेलायत बसाई स्मरण गर्दै रुबिन भन्नुहुन्छ, त्यहांँ मैले सिष्टम, शैली, सभ्यता र संस्कृतिलाई राम्रोसँग नियाल्ने मौका पाएँ । अनि सोचेँ, म त अध्ययनको लागि आएको, किन अध्ययन सकेपछि यहीँ बस्ने ? यस्तो प्रश्नले मलाई बारम्बार घोचिरह्यो । अििन सुन व्यवसायलाई नै निरन्तरता दिने सोचका साथ स्वदेश आएँ । यहांँ आएपछि आफ्नो बुबा र दाजुहरुलाई व्यवसायमा साथ दिन थालेँ ।
व्यापारमा ग्राहकलाई खुशी र सन्तुष्ट बनाउन सकिन्छ भन्ने राम्ररी बुझेपछि उहाँले चितवन आएको केही समयमै अर्को पसल थप्नुभयो । ग्राहक र पैसासमेत राम्रो कमाएका उनका ग्राहक दुई वटा पसलमा समेत अटाएनन्, अनि खुल्यो अर्को शाखा । अहिले पनि उहाँको पसलमा बिहानदेखि बेलुकासम्म गहना किन्नेको भीड कम हुँदैन ।
‘अहिले जे गरेको छु, त्योभन्दा धेरै अगाडि बढ्ने मन छ । व्यवसायबाट सन्तुष्ट छु, अब समाजसेवाबाट पनि सन्तुष्टि लिन चाहन्छु’ उहाँले आफ्नो भित्री इच्छा सुनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, ०३ चैत्र २०७६, १२ : ०८
लेखकबाट थप