पूर्वमिस नेपाल खतिवडा जब सडकमा पुगिन्...

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १८ : ४६
पूर्वमिस नेपाल खतिवडा जब सडकमा पुगिन्...

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा शनिबार बिहानै राजधानीको सडकमा झुल्किइन् । मर्निङ वाक वा अन्य कुनै बहानाको लागि भने उनी सडकमा आएकी थिइनन् । हातमा ग्लोब, मुखमा मास्क पहिरिएर उनी सडकमा माग्न बसेकाहरुको उद्धारमा खटिदै थिइन् । कोरोनाको त्रासले मानिसहरु चारपाँच जना भेला हुन पनि डराइरहेका बेला उनी भने निर्धक्क सडकमा अलपत्र परेकालाई फकाउन व्यस्त थिइन् ।

राजधानीलाइृ सडकमानवमुक्त बनाउने अभियानमा साझेदारी गर्दै पूर्व मिस नेपाल यसरी सडकमा उत्रीएकी हुन् । बिहानैदेखि पशुपतिको गुहेश्वरी, मन्दिर परिसरमा रहेका सडक मानवको उद्धार गर्दै सहज जीवनयापनका लागि प्रेरणा दिइन । ‘यस्तो जीवन कसैले बाच्नु नपरोस भन्दै उनले सडकमा वाध्यतावस आउनेलाई हेला गरेर धपाउन वा सडकमै छाड्न हुँदैन, ’उनले भनिन् । 

पशुपतिनाथको मन्दिरमा नै मानसिक रोगले ग्रस्त महिला भेटिदा उनले चिन्ता जनाइन् । घरबाट निस्केपछि जाने ठाउँ नहुँदा यसरी मन्दिर पुगेको हुनसक्ने अनुमान उनले गरिन् ।
सडकबाट उठाइएका २५ जनालाई शनिबार नै बालाजु स्थित स्क्रिनिङ सेन्टरमा राखिएको छ । त्यहाँ मिस नेपाल खतिवडाले आश्रय लिइरहेकासँग कुराकानी गरिन् । बिहानको खाना खुवाउन मद्दत पनि गरिन् । मिस नेपाल सहितको दुई वटा टोलीले सडक मानवको उद्धार गरेको थियो । 
देशभित्र रहेका अशक्त र गरीब समुहलाई सहयोग गर्नुपर्छ भन्ने मानसिकता राखेकी उनी आफैले पनि मकवानपुरको चेपाङ गाउँलाई समृद्ध बनाउने सपना पालेकी छिन् । त्यसै अनुसार योजना र सहयोग जुटाउदै छिन् । 

मानव सेवा आश्रम, काठमाडौँ, महानगरपालिका, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त पहलमा गएको पुस महिनाबाट सडक मानव उद्धारको अभियान थालिएको हो । सडकमा अलपत्र पर्नेको संख्या घट्दै गएपनि मदिरा पिएर अनि मागेर खानेको जमात भने बेला बेला दोहोरिदै देखिने गरेका छन् । 

त्यसका लागि सरकारले पनि दिगो समाधानको बाटो खोज्नुपर्ने सुझाव मिस नेपाल दिन्छिन् । सडकबाट लगिएकाहरुको व्यवस्थापन गर्न कठिन रहेपनि सबैको सहकार्यले सहज बनाउने प्रयास भैरहेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउँछन् । तथापी सडकमा आउनेलाई पूर्ण रुपले रोक्न भने नसकेको अर्को थरी गुनासो भने आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस