प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

शुक्रबार, ०४ फागुन २०७४, १५ : ४४
प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर ।  प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् ।
उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटाँैडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को भौगोलिक अवस्था नियाल्दा हेटाँैडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बास्कोटाले बताउनुभयो ।

प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिंदै उहाँले यस प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुने दाबी समेत गर्नुभयो ।

हेटाँैडा कुनै पनि हालतमा राजधानी हुननसक्ने भन्दै दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । हेटाँैडामा अहिले स्थायी राजधानीका लागि खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उहाँको भनाइ थियो ।

भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा– १ का सदस्य शशिजंग थापाले काम चलाउ सरकारको प्राविधिक टोलीलेसमेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरिए पनि सरकारका केही मन्त्रीको चलखेलले हेटौँडा लगिएको आरोप लगाउनुभयो ।

उहाँले प्रदेशसभामा यो विषयले एजेण्डाका रुपमा उठान पाउनासाथ प्रदेश नं ३ को राजधानी भक्तपुर अथवा काभ्रे हुनेसमेत बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस