‘मतदाता रिझाँउदैं महरा’

शुक्रबार, २३ फागुन २०७६, ०८ : ०३
‘मतदाता रिझाँउदैं महरा’

file photo

दाङ । दिनहुँ समर्थक तथा मतदातासंगको भेटघाट। फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिनै हुन्छ। कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि उनीभित्रको पीडाबोध प्रष्टै देखिन्छ। तर पुरानो राजनीतिक प्रभाव कायम राख्ने दौडबाट महरा थाकेका भने छैनन्।

अदालतबाट सफाई पाएपछि १२ फागुनमा आफ्नो चुनावी क्षेत्र दाङ पुगेका महरा प्रत्येक दिन समर्थक तथा मतदाताको दैलोमा पुगेर फूलमालाको न्यानो स्वागत बटुलिरहेका छन्।अनुहारमा चमक नदेखिएपनि भत्कीनै आँटेको राजनीतिक बिरासत फेरि ठडिने आशा दाङवासीको बाजागाजा, झाँकीसहितको ‘भब्य स्वागत’ ले बढाइदिएको भने पक्कै छ।

‘उहाँमाथि लागेको आरोपले राजनीति के हुन्छ ? भन्ने एकखालको आशंका थियो,’ उनीसँगै जिल्ला दौडाहमा रहेका नेकपाका नेताह भन्छन्, ‘रिहाई भएलगत्तै दाङ आएकाबेला उहाँलाई जनताले दिएको न्यानो आतिथ्यताले पुनः राजनीतिक बिरासत माथि उठ्ने विश्वास बढेर गएको छ।’

बलात्कार प्रयासको आरोप लागेपछि पूर्वसभामुख महराको आगामी राजनीतिमाथि विभिन्न अड्कलबाजी भए। केहिले राजनीति सकिएको आँकलन गरेभने उनका समर्थकहरूले बचाउको प्रयास निरन्तर गरिरहे। अदालतको फैसलालाई टेकेर आँफूमाथि लागेको आरोप ‘मिथ्या’ भएको सन्देश बाँड्न महरालाई मतदाताको दैलोसम्म पुग्ने ठूलो अवसर पनि जुट्यो।

फलतः उनि रिहाई भएलगत्तै आफ्नो चुनावी क्षेत्र दाङ आए। अदालतबाट सफाई पाएका महराले अहिले मतदाताबाट पनि सफाई खोजिरहेका छन्। गत १२ गतेदेखि दाङमा रहेका महराको आन्तरिक भेटघाट र सार्वजनिक कार्यक्रमको उपस्थितीले आँफूमाथि लागेको आरोप मेटेर पुनः पुरानै राजनीतिक ‘ओज’ कायम राख्न खोजेको प्रष्टै छ।

१२ गते दाङ छिरेका महरा अहिलेसम्म जिल्लाको देउखुरी, घोराही, तुलसीपुर, हापुरेलगायत पहाडी क्षेत्रमा पुगेर त्यहाँका मतदातालाई आँफूलाई नियतवस फसाईएको स्पष्टिकरण दिइरहेका छन्। नागरिक दैनिकमा खबर छ ।