राजकुमार ह्यारी र मेगानको प्रेमकथामा फिल्म बन्दै

एजेन्सी

शुक्रबार, ०४ फागुन २०७४, ०८ : ५३
राजकुमार ह्यारी र मेगानको प्रेमकथामा फिल्म बन्दै

काठमाडौं । बेलायतका राजकुमार ह्यारी र मेगान मार्कलको वास्तविक प्रेमकथाबारे फिल्म बनाइने बताइएको छ । यसै क्रममा प्रडक्सन कम्पनीले क्यानडामा सुटिङको तयारी गर्दैगरेको तस्बिर सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका हुन् ।

‘ह्यारी एण्ड मेगान : द रोयल लभ स्टोरी’ शीर्षकको यस फिल्ममा ह्यारी र मेगानको भूमिका निभाउने कलाकारहरु समेत तय भइसकेको बताइएको छ ।  फिल्ममा ह्यारीको भूमिकामा अभिनेता मुरे फिसर देखिँदैछन् भने अभिनेत्री पर्सिया फिट्ज हेन्लेले चाहिँ मेगानको भूमिका खेल्ने भएकी छन् ।

यसबारे अभिनेत्री पर्सियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत मेगानको रुपमा अभिनय गर्न पाएकामा खुसी व्यक्त गर्दै तस्बिर समेत पोस्ट गरेकी थिइन् ।  बुधबार क्यानडाको भ्यानकभोरमा रहेको सुटिङस्थलमा दुवैलाई ह्यारी र मेगानको लुकमा देखिएको थियो ।

अहिले दुवै कलाकारहरुको लुक्सलाई मेगान र ह्यारीसँगको तुलनामा अत्यन्तै समान देखिएको भन्दै सामाजिक संजालमा समेत निकै चर्चा गरिएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।

फिल्ममा मेगान र ह्यारीको सम्बन्ध सार्वजानिक हुनु अघि उनीहरुको प्रेम कसरी सुरु भएको थियो भनेर देखाइने बताइएको छ । यस फिल्मको सुटिङ मेगान पहिले बस्ने गरेको ठाउँ क्यानडा, र त्यसपछि लस एन्जलसमा  गरिने बताइएको छ ।

आउँदो वसन्त ऋतुसम्ममा फिल्म रिलिज भइसक्ने कम्पनीले बताएको छ । उता वास्तविक ह्यारी र मेगानले पनि आगामी मार्चमा विवाह गर्नेछन् ।  फिल्मकी अभिनेत्री पर्सिया फिल्म सेटमा पहिलो दिन उज्यालो रातो रङको स्कर्टमा देखा परेकी थिइन् । मेगानले पनि २०१६ मा त्यस्तै रङको पहिरन लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस