दिल्ली दंगा

सेतो कुर्ता पैजामामा लत्पत्तिएका रगतका छिट्टा

एजेन्सी

आइतबार, १८ फागुन २०७६, १२ : ३०
सेतो कुर्ता पैजामामा लत्पत्तिएका रगतका छिट्टा

– देबलिन राय

जमिनमा टाउको टेकेर बसेका एक निहत्था युवक जसले आफ्नो दुई हातले टाउको बचाउने कोसिस गरिरहेका छन् । टाउकोबाट बगेको रगतले दुबै हात रंगिएका छन् । उनलाई चारैतिरबाट आक्रमणकारीले घेरेका छन् । आक्रमणकारीले डण्डा, लठ्ठी र फलामको रडले कुटिरहेका छन् ।

३७ वर्षका मोहम्मद जुबैरको यो तस्बिर दिल्ली दंगा त्रासदीको अनुहार बनेको छ । त्यो अनुहार जसको घाउ अनन्त कालसम्म दुखिरहनेछ  । त्यो अनुहार, जुन घाउ सायद कहिल्यै निको हुने छैन ।

उत्तर पूर्वी दिल्लीमा बस्ने जुबैर सोमबार जब आफ्नो नजिकैको मस्जिदमा  वार्षिक रुपमा आयोजना हुने इज्तमामा समावेश हुन घरबाट निस्किरहेका थिए, तब उनले सोचेकै थिएनन् कि उनको दुनियाँ कसरी परिवर्तन हुँदैछ ।

उनी भन्छन्, ‘सोमबार प्रार्थनामा समावेश हुन ईदगाह गएको थिएँ । प्रार्थनापछि मैले आफ्ना भाइ बहिनी र बच्चाहरुका लागि खानेकुरा किनेँ । म हरेक वर्ष इज्तमा सकिएपछि बच्चाका लागि हलुवा पराठा, दहीबडे र नान किन्ने गर्छु । त्यो दिन पनि खरिद गरेँ । नान नभेटेपछि बच्चाका लागि सुन्तला किनेँ । सुरुमा मैले बहिनीकोमा वा कुनै आफन्तकोमा जाने सोचेको थिएँ । त्यसपछि सोचेँ, होइन घरै जान्छु । केही ल्याइदिने आशा गरेर बसेका बच्चाहरु खुसी हुन्छन् ।’

त्यो दिन जुबैर हतारमा जुबैरले आफ्नो फोन नलिइकनै घरबाट निस्किएका थिए । उनी स्मरण गर्छन्, ‘म इदगाहबाट घर फर्किरहेको थिएँ । जब म खजुरी खास वरिपरिको इलाकामा पुगेँ तब मैले त्यहाँ ठूलै लडाईं चलिरेको थाहा पाएँ । हिन्दु–मुस्लिम भन्दै हिंसा सुरु भइरहेको छ भन्ने थाहा पाएँ । यो सुनेपछि मैले भजनपुरा हुँदा सबवेबाट निस्किएर चांदबाग जान्छु  । जब म भजनपुरा मार्केट पुगेँ तब मार्केट बन्द थियो । त्यहाँ भीड जम्मा भइरहेको थियो । हो–हल्ला मच्चिरहेको थियो । म पनि त्यहाँबाट निस्किएँ । मैले कुर्ता पैजामा र टोपी लगाएको थिएँ । पूर्ण इस्लामी पहिरनमा थिएँ । जब म त्यहाँबाट निस्कन खोजेँ कसैले पनि केही भनेनन् । त्यसपछि म सबवेबाट तल झर्न थालेँ । त्यहाँ एक व्यक्तिले मलाई देखे र खतरा हुनसक्ने भन्दै तल नजान भने । मलाई अगाडिबाट जान भनियो ।’

ती व्यक्तिको कुरा मानेर जुबेर सबवेबाट नगई अगाडितर्फ जान थाले । जब उनी अघि बढे तब त्यहाँ दुबैतर्फ भयंकर ढुङ्गा हानाहान भइरहेको देखे । जुबैर भन्छन्, ‘त्यहाँ एकतर्फ हज्जारौं भीड थियो भने अर्कोतर्फ कति मान्छे थिए, त्यो मैले देखिनँ । तर दुबैतर्फबाट ढुङ्गा हानाहान भइरहेको थियो । यो देखेर म डराएँ र पछि हट्न थालेँ त्यसपछि भीडका केही व्यक्तिले मलाई देखे । पछि हटिरहेको मलाई एक व्यक्तिले लठ्ठी ताक्दै अघि बढे । मैले उनलाई ‘मैले तिम्रो के बिगारिदिएको छु र रु’ भनेर सोधेँ । त्यसपछि उनीसँग मेरो बहस पनि भयो र त्यसपछि यत्ति धेरै मान्छेहरु आए र ममाथि बर्सिए । यसरी बर्सिए कि म कुनै शिकार थिएँ ।’

जुबैर भन्छन्, ‘टाउकोमा रडले हाने, त्यसपछि पनि हाने, तेस्रो पटक पनि हाने र लगातार हानिरहे । मेरो टाउकोमा यति पटक रड हानियो कि म घुँडा टेकेर बसेको थिएँ । मेरो होश गुम्न थालेको थियो । वरिपरिको आवाज सुन्न छाडेको थिएँ । तब कसैले मेरो टाउकोमा तरवार हाने । अल्लाहको दयाले त्यो तरवार पूरै मेरो टाउकोमा नपरेर साइडमा पर्यो । यदि त्यो तरबार पुरै टाउकोमा परेको भए बाँच्ने हिसाब नै समाप्त हुन्थ्यो ।’

हमलकर्ताले जुबैरलाई लगातार कुटिरहे । यति कुटाइ खाए कि जुबैरले सोचे, ‘अब मर्ने निश्चित छ ।’ उनी भन्छन्, ‘मैले अल्ला तालालाई याद गर्न सुरु गरेँ । मैले मनमनै भनेँ, ‘अल्लाह, अब तिमी भएठाउँ आउनु छ’ । कुनै आशा छैन । मलाई लाग्छ कि उनीहरु २०–२५ जना थिए । उनीहरुको हात जबसम्म चलिरह्यो, उनीहरुले मलाई कुटिरहे । एकपछि अर्को, कहिले रड, कहिले डण्डा । यति कुटे कि म भन्नै सक्दिनँ ।’

जुबैरका अनुसार हमलाकर्ताले उनलाई कुट्ने बेला ‘जय श्री राम’ भनिरहेका थिए । कुटाइ खाएपछि जुबैरलाई केही व्यक्तिले उनलाई उठाएर लिएर गएको मात्रै याद छ । उनलाई उठाउने मानिसहरुले भनिरहेका थिए, ‘पल्ली पार लिएर जाउ, छिटो लिएर जाउ ।’

त्यसपछि जुबैरलाई अलिकति होश एम्बुलेन्समा आयो र त्यसपछि अस्पतालमा । अस्पतालमा उनीसँग कोही पनि थिएन । उनले वरिपरिका मानिसहरुलाई घरका सदस्यको नम्बर दिएर उनलाई बोलाइदिन आग्रह गरे ।

जुबैर भन्छन्, ‘त्यतिबेला सायद डाक्टरले मलाई धेरै ध्यान दिन सकिरहेका थिएनन् । मेरो टाउकोमा अत्यधिक पीडा भइरहेको थियो । धेरै रगत बगिरहेको थियो । मेरो अगाडि अर्का एक व्यक्ति थिए, उनको दुबै हातमा भयानक चोट लागेको थियो । डाक्टरले भनेको सुनेँ कि उनको दुबै हात काट्नुपर्छ । यो सुनेर म चुप हुन्थेँ । मलाई लाग्यो कि मलाई भन्दा बढी समस्या त अर्कैलाई छ ।’

के जुबेरले सरकारलाई केही भन्न चाहन्छन् ? यो प्रश्नमा उनले भने, ‘मैले सरकारलाई के आग्रह गरौं रु जुन सरकारले दंगा रोक्न सकेको छैन, हामीले त्योबाट के आशा गर्नु र ?’

पुलिसको भूमिकाबारे सोधिँदा जुबैरले भने, ‘जब मैले कुटाइ खाइरहेको थिएँ तब पुलिस अधिकारी त्यहीँ वरिपरि घुमिरहेका थिए । पुसिललाई देखेर पनि प्रदर्शनकारीहरु निर्धक्क थिए । जस्तो कि कुनै मेला लागेको छ र उनीहरुलाई जे गर्न पनि छुट छ । मैले कुटाइ खाइरहेका बेला पुलिस अधिकारी वरिपरि नै थिए । त्यहाँ जे भइरहेको थियो, त्यसले उनीहरुलाई कुनै असर पारिरहेको थिएन ।’

मोहम्मद जुबैरका अनुसार यसअघि उनको कसैसँग झगडा त परको कुरा ‘तँतँ–मम’ सम्मपनि भएको छैन । उनी भन्छन्, ‘यसअघि न कसैले मलाई ‘तँ’ भनेर बोलाएको थियो न मैले कसैलाई ‘ओइ’ भनेको थिएँ ।’

जुबैरको शरीरको एउटा कुनै पनि हिस्सा बाँकी छैन जहाँ उनलाई चोट नलागेको होस् । शरीरभरी निलडाम छ । यस्तो चोट लाग्दा पनि उनी स्थानीय डाक्टरबाटै मलमपट्टी लगाइरहेका छन् । उनी ठूला डाक्टरलाई केही दिन पछि देखाउन जानेछन् । उनलाई स्थिती खराब होला कि भन्ने मात्रै चिन्ता छ । आफन्तका अनुसार उनी सुतेका बेला समय समयमा चिच्याउँदै उठ्छन् । (बीबीसी हिन्दी)

प्रतिक्रिया दिनुहोस