प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले लिए शपथ

विहीबार, ०३ फागुन २०७४, १९ : ५७
प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले लिए शपथ

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उनी भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । राईको जन्म २०२७ साल फागुन महिना ११ गते भोजपुर आमचोक गाउँपालिका–३ मा भएको हो । पिता जागीरमान र माता राम्रीमायाका सुपुत्र उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी २०४४ सालमा अनेरास्ववियूको सङ्गठित सदस्य हुँदै २०४९–२०५० सालमा अनेरास्ववियू, भोजपुर अध्यक्ष र २०५० र २०५३ मा केन्द्रीय सदस्य भएका थिए ।

वि.सं २०४७ मा एमालेको सङ्गठित सदस्यता प्राप्त गरेपछि २०४९ मा एमाले भोजपुरका जिल्ला सदस्य, २०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य र २०५४ मा उपसचिव तथा २०५४ सालमा पार्टी विभाजन भएपछि एमालेको सभापति भएका थिए । वि.सं २०७० सम्म पार्टी जिल्ला सभापति रहेका उनी २०७० साल वैशाख २७ गते वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएपछि २०७१ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।  हाल उनी पार्टी पोलिटब्यूरो सदस्यका साथै प्रदेश नं १ को सहइन्चार्ज रहेका छन् ।

वि.सं २०५६ को आमनिर्वाचनमा उनी एमालेबाट भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनन्तीस वर्षकै उमेरमा सांसद भएका कान्छा सांसद राई २०६२/२०६३ सालको ऐतिहासिक जनान्दोलनबाट पुनःस्थापित संसद्को सांसद भएका थिए । उनी वि.सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भई २०७१ मा व्यवस्थापिका–संसद,सुशासन तथा अनुगमन समितिका सभापति र केपी शर्मा ओलीको मन्त्रिमण्डलमा २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चारमन्त्री भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस