न्यूनतम पारिश्रमिक तत्काल बढाउन माग

विहीबार, ०३ फागुन २०७४, १६ : १५
न्यूनतम पारिश्रमिक तत्काल बढाउन माग

नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिले बढ्दो महङ्गी लाई मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गरेको छ ।

महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाउदै २०७२ साल असारमा समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिले समय सापेक्ष नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम थाल्न अनुरोध गरेको छ ।

समीतिले हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शी व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण पनि गरिएको छ ।

यी माग यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रन बाध्य हुने चेतावनी पनि समितिले दिएको छ ।

प्रतिनिधिमण्डललमा समितिका सहसंयोजक जन्मदेव जैसी, सदस्यहरु यम विरही, टिकाराम प्रधान र टेकराज थामी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस