घरका हरेक सदस्य अपांग, सहयोगको अपेक्षामा कुश्मीदेवी

विहीबार, ०३ फागुन २०७४, १२ : ४२
घरका हरेक सदस्य अपांग, सहयोगको अपेक्षामा कुश्मीदेवी

महोत्तरी । घरको हरेक सदस्य शारीरिक रुपले अपांग भएपछि गौशाला नगरपालिका–११ का ५५ वर्षीया कुश्मीदेवी महरालाई घरपरिवार चलाउन धौ धौ परेको छ ।

वर्षौंदेखि गाउँको छेउमा दलित बस्तीको ऐलानी जग्गामा सानो भत्किएको फुसको घरमा बसोबास गर्दै आएकी कुश्मीदेवीलाई घरपरिवार चलाउन आर्थिक रुपमा कठिनाइ भएको छ । उनका ५९ वर्षीय श्रीमान् रामनन्दन महराको बाँया खुट्टा छैन भने २५ वर्षीय छोरा भिखारी राम मानसिक रुपमा सन्तुलन गुमाएका छन् ।

त्यस्तै, उनकी २३ वर्षीया बुहारी तेतरीदेवी महरा पनि खुट्टाका कारण अपांग छिन् । यता सातवर्षीय नाति पनि मानसिक असन्तुलन भएपछि घरको आर्थिक अवस्था अझै नाजुक भएको भक्कानिँदै कुश्मीले सुनाइन् । “उमेर ढल्किसकेपछि अशक्त हुँदा आफूलाई कामकाज गर्न समस्या हुने भएकाले अरूको घरमा मालिस, बनिबुतो र सानातिना कामकाज गरेर संकलित भएको रकमले नै परिवार पाल्दै आएकी छु,” उनले बताइन् ।

घरको सबै परिवार अपांग भए तापनि हालसम्म कसैको पनि अपांग परिचयपत्र छैन । कुश्मीले भनिन्, “मैले अपांग परिचयपत्र बनाउनका लागि तत्कालीन भरतपुर गाविसमा गएँ तर त्यहाँ कार्यरत कर्मचारीले हामी जस्ता गरिबलाई के वास्ता गर्नु हजुर, बारम्बार गरेको प्रयास बालुवामा पानी खन्याएको जस्तो भयो ।”

लालगढ अस्पताल निर्माणका क्रममा मजदुरी गर्न गएका क्रममा श्रीमान् रामनन्दनको बाँया खुट्टामा किला गाडिएपछि उपचारका क्रममा खुट्टा काट्नुप¥यो । तत्पश्चात् घरमा दुःख शिवाय सुखको खबर कहिल्यै पाउन नसकेको उनले बताइन् ।

घाउ निको भएपश्चात् २०५० सालदेखि सोही अस्पतालमा जुत्ता सिउने काम पाएका र सोही अनुरुप परिवार पाल्दै आएको उनका श्रीमान् रामनन्दनले बताए । गत वैशाखदेखि अस्पतालले काम दिन छाडेपछि पछिल्लो समयमा आएर आर्थिक अवस्था खस्ँिकदा पनि सम्बन्धित सरोकारवाला निकाय फर्केर नआएको उनले सुनाइन् ।(रासस)

प्रतिक्रिया दिनुहोस