चितवन । पछिल्लो समय 'गरीबमारा'को ट्याग लागेका नेपालका लघुवित्तहरु उभिएको धरातल कमजोर पाइएको छ । गरीब जनतामाझ वित्तीय सेवा पुर्याएको दाबी गर्ने यी लघुवित्तले आआफ्नो हैसियतभन्दा ठूलो हुँकार प्रदर्शन गर्ने गरेको पाइएको छ ।
लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघका अनुसार नेपालमा कूल ९० वटा लघुवित्त छन् । देशका ७७ जिल्लामा सञ्जाल बिस्तार गरेका यी लघुवित्तहरुको कूल चुक्ता पुँजी जम्मा २५ अर्ब छ । यिनीहरुले देशभर तीन हजार आठ सय ६१ शाखामार्फत् दुई खर्ब ५६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो रकम लघुवित्तहरुको चुक्ता पुँजीको दस गुणाभन्दा धेरै हो ।
दस प्रतिशत पुँजी बोकेर ९० प्रतिशत रकम ऋण लिई त्यसमा सञ्चालन खर्च र नाफा लिई सोझा, गरीब गाउँले जनतालाई चर्को ब्याजदर असुल्न पल्केका छन् लघुवित्त संस्थाहरु । लघुवित्तबाट चर्को ब्याजदरमा ऋण लिएकै भरमा कतिपयको घरखेत सिद्धिएको छ । ठूला बैंक तथा वित्तीय संस्थाहरुबाट सस्तो ब्याजदरमा ऋण लिएर त्यसमा ब्याज थपेर गरीब जनताको टाउकोमा ऋणको भारी थप्ने काम गर्दै आएका लघुवित्तहरुले बिचौलिया शैलीमा काम गरिरहेका छन् ।
नेपाल लघुवित्त बैंकर्स संघका महासचिव लालबहादुर यादव लघुवित्त संस्थाहरुले बिचौलिया नभई मध्यस्थकर्ता भई काम गरिरहेको दाबी गरे । लघुवित्तले गरीब जनताको घाँटी थिच्ने काम गरेका समाचार लगातार मिडियामा आएपछि त्यसको प्रतिरोधमा संघले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यही पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव यादवले भने, हामी मध्यस्थकर्ता हौँ, विचौलिया होइनौँ ।
संघका अध्यक्ष बसन्तराज लम्साल १२ प्रतिशत ब्याजदरमा लिएको ऋणमा पाँच प्रतिशत सञ्चालन खर्च र दुई प्रतिशत नाफा जोडेर लघुवित्त संस्थाहरुले १९ प्रतिशत ब्याजदरमा जनतालाई ऋण प्रवाह गरेको बताउँछन् । उनले प्रष्ट शब्दमा लघुवित्तको उद्देश्य समाजसेवा नभई नाफा नै रहेको बताए । अध्यक्ष लम्सालले लघुवित्तहरुमा कर्मचारीका कारण केही कमजोरी र समस्या भएको स्वीकार्दै तिनलाई सुधार गर्दै सेवालाई अझ प्रभावकारी बनाइने बताए ।
सेवाग्राहीमध्ये अधिकांश ऋणी
लघुवित्त बैंकर्स संघको तथ्यांक अनुसार, लघुवित्तका सेवाग्राहीमध्ये आधाभन्दा बढी ऋणी छन् । लघुवित्तका ४५ लाख ४६ हजार सेवाग्राहीमध्ये ऋणीको संख्या २८ लाख पाँच हजार रहेको छ । यो तथ्यांकले लघुवित्तहरुको नियत ऋणी बढाउने र चर्को ब्याजदर हसुर्ने नै देखिन्छ । सेवाग्राहीबाट ९८ अर्ब ७५ करोड रुपैयाँ बचत संकलन गरेका लघुवित्तहरुले बचत रकमको दोब्बरभन्दा बढी ऋण प्रवाह गरेको पाइन्छ ।
लघुवित्तहरुले स्वतन्त्ररुपमा बचत रकम परिचालन गर्न पाउँदैनन् । यिनीहरुको वित्तीय स्रोत भनेको विभिन्न वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरु हुन् । कुनै कारणवश नेपालका लघुवित्त संस्थाहरु डुबे भने तिनले अन्य ठूला बैंकहरुलाई पनि डुबाउने निश्चित छ ।
बढ्दो खराब कर्जा
लघुवित्त संस्थाहरुको उद्देश्य ग्रामीण भेगका सोझा जनतालाई बढीभन्दा बढी ऋण प्रवाह गरेर चर्को ब्याज असुल्ने नै देखिन्छ । जसरी हुन्छ धेरैभन्दा धेरै ऋण प्रवाह गर्ने ध्याउन्नमा लाग्दा लघुवित्तहरुमा खराब कर्जा (असुली हुन नसकेको ऋण) बढ्दो क्रममा रहेको पाइन्छ ।
विश्वस्त सूत्रका अनुसार, केही वर्षअघिसम्म एक प्रतिशतभन्दा कम रहेको खराब कर्जा क्रमशः एक प्रतिशतभन्दा बढीहुँदै अहिले साढे दुई प्रतिशतको हाराहारीमा पुगेको छ । यसले लघुवित्तबाट प्रवाह हुने ऋण नउठ्ने खतरा बढिरहेको प्रष्ट हुन्छ । लघुवित्त संस्थाहरुले सामुहिक जिम्मेवारीमा बिनाधितो पाँच लाख रुपैयाँसम्म कर्जा दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
विहीबार, ०८ फागुन २०७६, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लघुवित्तको सेवा शुल्क घट्यो
लघुवित्तका ऋणीहरु संसद भवनमै प्रवेश
लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधि बोलाएर प्रधानमन्त्रीद्वारा छलफल
सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा