काठमाडौँ । युवा पत्रकार नारायण ढुंगानालाई मुलुकको एकमात्र सरकारी समाचार एजेन्सी, राष्ट्रिय समाचार समिति (रासस) ले अडियो विधातर्फ सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
राससको ५९ औँ बार्षिकोत्सवका अबसरमा काठमाडौँमा आज आयोजित विशेष समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उनलाई नगद र कदरपत्रसहित सम्मान प्रदान गरे । ढुंगाना मुलुकभरबाट अडियो विधातर्फ सर्वोत्कृष्ट भएका हुन् । उक्त पुरस्कारको राशी रु १५ हजार रहेको छ । गतवर्ष उनले नेपाली सेनाबाट साहसिक पत्रकारिता अवार्ड प्राप्त गरेका थिए । उनले यसअघि पनि राससको तीन वटा उत्कृष्ट पुरस्कार प्राप्त गरिसकेका छन् भने अन्य विभिन्न संघसंस्थाबाट दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।
पत्रकार ढुंगानाले चितवनमा रहेर पत्रकारिता गर्दा उत्कृष्ट थारु पत्रकारिता पुरस्कार, युवा पत्रकारिता साहित्य सम्मान, प्रभात सहकारी सम्मान, सामाजिक पत्रकारिता सम्मान, संरक्षण पत्रकारिता सम्मान, परोपकारी पत्रकारिता सम्मान, अर्पण पत्रकारिता पुरस्कारलगायत सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन् ।
चितवनको कालिका नगरपालिका ८ न्यूरेनी घर भएका ढुंंगाना विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । विगतमा चितवनमा रहेर पत्रकारिता गर्दै आएका उनी गएको डेढ वर्षदेखि राससको केन्द्रीय कार्यालयमा उपसमाचारदाताको रुपमा कार्यरत छन् ।
चितवनको वर्गीकृत दैनिकबाट पत्रकारिता शुरु गरेका उनीसँग यसअघि सिनर्जी एफएम, कालिका एफएम, थाहाखबर डटकम, लोकतन्त्र सन्देश दैनिक, समाचार दैनिक, ड्रिम्स दैनिकलगायतमा काम गरेको अनुभव छ । पत्रकार ढुंगाना विगत ११ वर्षदेखि राससमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०७६, १८ : ४२
लेखकबाट थप