चितवनका पत्रकार ढुंगानालाई अडियो विधातर्फ राससको उत्कृष्ट पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, २१ : ०७
चितवनका पत्रकार ढुंगानालाई अडियो विधातर्फ राससको उत्कृष्ट पुरस्कार

काठमाडौँ । चितवनका पत्रकार नारायण ढुंगानाले मुलुकभरबाट अडियो विधातर्फ राष्ट्रिय समाचार समिति (रासस) को उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन्  । उक्त विधातर्फ राससले मुलुकभरबाट उत्कृष्ट घोषणा गर्दै पुरस्कार उनलाई दिन लागेको हो । राससको ५९ औँ वार्षिकोत्सवका अबसरमा भोलि बुधबार  पुरस्कार प्रदान गरिने राससले जनाएको छ । उक्त पुरस्कारको राशी रु १५ हजार रहेको छ ।

चितवनको कालिका नगरपालिका ८ न्यूरेनी घर भएका पत्रकार ढुंंगाना विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।  विगतमा चितवनमा रहेर पत्रकारिता गर्दै आएका उनी विगत एक वर्षदेखि राससको केन्द्रीय कार्यालयमा उपसमाचारदाताको रुपमा कार्यरत छन् । उनले यसअघि पनि राससको तीन वटा उत्कृष्ट पुरस्कार प्राप्त गरिसकेका छन् भने अन्य विभिन्न संघसंस्थाबाट दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

यस्तै रासस प्रदेश नं १ मा भोजपुर समाचारदाता युवराज विष्ट, २ नंमा महोत्तरीका सञ्जीतकुमार मण्डल, वाग्मती प्रदेशमा हेटौडाका  रिपेश दाहाल, गण्डकी प्रदेशमा जमुनावर्षा शर्मा, ५ नंमा परासीका मोहन पौडेल, कर्णाली प्रदेशमा जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिममा डोटीका विमलबहादुर विष्ट पुरस्कृत भएका छन्  । 

 त्यस्तै  उत्कृष्ट आलेखमा बाँकेका काशीराम शर्मा र तस्वीरमा केन्द्रीय कार्यालयका रोशन सापकोटाले उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस