चितवन । चितवनलाइ धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्ने उदेश्यले रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौनामा पाँच करोड रुपैयाँ खर्च गरेर आकर्षक धर्म धाम निर्माण गरिएको छ ।
जिरौनामा रहेको ५० वर्ष पुरानो श्रीकृष्ण प्रणामी मन्दिरलाई स्तरोन्नति गरी धार्मिक पर्यटक आकर्षण गर्ने उद्देश्यसहित धर्म धाम बनाइएको श्रीकृष्ण प्रणामी सेवा समिति जिरौनाका अध्यक्ष तिलकराज शर्मा पौडेलले बताउनु भयो । पुरानो मन्दिरलाई नयाँ कलात्मक स्वरुप दिन १२ वर्ष लागेको पौडेलले जानकारी दिनुभयो ।
१५ कठ्ठा दुई धुर क्षेत्रफलमा रहेको धर्म धाम परिसरमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीको फोहोरा रहेका छन् । मन्दिरभित्र सिसाबाट निर्मित श्रीकृष्णसँग सम्बन्धित तस्बिरहरु छन् । मन्दिरभित्रको केन्द्र भागमा कलात्मक झुमर झुण्ड्याइएको छ । झुमरको वरपर श्रीकृष्ण र राधासहितका चित्रहरु कुँदिएका छन् । मन्दिरको काठबाट निर्मित ढोका र झ्यालमा बुट्टा कुँदेर तिनलाई कलात्मक बनाइएको छ ।
शिखर शैली र गुम्बज शैलीको समिश्रण गरी बनाइएको मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित परम्परागत झल्को दिने गरी कुँदिएका झ्याल र ढोका, भित्तामा कुँदिएका धार्मिक दृश्यसहितको सुन्दरता रहेको छ । मन्दिर अवलोकन गर्न पुगेका भक्तजनले त्यही सुन्दरतामा रमाउँदै सेल्फी र तस्बिर खिच्ने गरेका छन् । भारतबाट झिकाइएका कालीगढले मन्दिर निर्माण गरी त्यसलाई कलात्मक रुप दिएको अध्यक्ष पौडेलले बताउनु भयो ।
पूर्व–पश्चिम राजमार्गको भानुचोकबाट साढे तीन किलोमिटर उत्तरमा पर्ने धर्म धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयासमा मन्दिर समिति जुटेको छ । ‘चितवन पर्यटकीय भूमि हो’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘धर्म धाम अवलोकनका लागि धार्मिक पर्यटक आउने आशा लिएका छौं ।’
श्रीकृष्ण प्रणामी सेवा समितिले केही पर १० कट्ठा जमिनमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । मन्दिर परिसरमा रहेको वृद्धाश्रममा अहिले पाँच जना वृद्धा रहेका छन् । १२ जनासम्म वृद्धवृद्धालाई आवासीय सुविधासहित राख्न सकिने वृद्धाश्रमलाई अझै व्यवस्थित गरिँदै लैजाने योजना रहेको पौडेलले बताउनुभयो ।
२०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी सेवा समिति जिरौनाले स्थानीयवासी र अन्य चन्दादाताको सहयोगमा रकम खर्चेर अहिलेको भव्य मन्दिर बनाएको हो । धर्म धाम नाम दिइएको यो मन्दिरको समुद्घाटन फागुन आठ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुने कार्यक्रम रहेको छ ।
स्थानीयको मुठ्ठीदान तथा चन्दा सहयोगबाट सञ्चालित मन्दिरले धार्मिक, आध्यात्मिक, शैक्षिक कार्यक्रमसँग पर्यटकीय गतिविधिमा समेत योगदान दिने विश्वास सहसंयोजक श्यामप्रसाद बरालले व्यक्त गर्नुभयो । तेस्रो पर्यटकीय क्षेत्र चितवन आउने पर्यटकलाई जिरौनासम्म ल्याउने वातावरण तयार पार्न सके यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बरालले बताउनु भयो ।
यस मन्दिर भ्रमणका लागि आउने पर्यटकले मनिखोला, बुलबुले ताल, गैँडाताल, शान्तिकुञ्ज पार्क, सिराइचुली, उपरदाङ्गडी लगायतका धेरै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न सक्नेछन् ।
महायज्ञको तयारी
मन्दिर निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले फागुन ५ देखि फागुन १२ गतेसम्म श्रीमत्तारतमसागर १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद् भागवत कथा अनुष्ठान आयोजना गरिँदैछ । सात दिनसम्म सञ्चालन हुने उक्त महायज्ञमा नेपाल, भारतलगायत अन्य राष्ट्रबाट समेत सन्त, महन्त, गुरुजन लगायत एक लाख श्रद्धालु भक्तजनको सहभागिता रहने स्वर्ण महोत्सव मूल समारोह समितिले जनाएको छ ।
समितिले सोमबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरको स्वर्ण महोत्सव र महायज्ञबारे जानकारी गराएको छ । महायज्ञमा श्री १०८ अमृतराजजी महाराजले श्रीमत्तारतम सागरको वाणी चर्चा गर्नु हुनेछ । यसैगरी रोहितराज महाराजले श्रीमद्भागवत कथावाचन गर्नुहुनेछ ।
श्रीकृष्ण प्रणामी धर्ममा नेपालमा २० लाख र चितवन जिल्लामा मात्रै २५ हजार अनुयायी रहेका छन् । सामाजिक सेवा, आध्यात्मिक चिन्तन र परा प्रेम लक्षणा भक्ति भन्ने मूल नाराका साथ सञ्चालित श्रीकृष्ण प्रणामी धर्मले मांस, मदिरा, धुमपान, मद्यपान लगायतका कूलत त्याग्दै सत्कर्ममा डो¥याउन प्रेरित गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस