वैष्णव बन्यो विश्वासिलो ब्राण्ड : यस्तो छ संघर्षमय तीन दशक

सूर्यप्रकाश कँडेल

मंगलबार, ०६ फागुन २०७६, १४ : २३
वैष्णव बन्यो विश्वासिलो ब्राण्ड : यस्तो छ संघर्षमय तीन दशक

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । जताततै मासुका परिकार र मदिरा बिक्री गर्ने पसलहरुको भिडमा एउटा अलग्गै पहिचान बनाउन सफल भएको छ नारायणगढको शहीदचोकमा रहेको वैष्णव मिष्ठान्न भण्डार । तीन दशकअघि टिनको छाप्रोमा त्यही ठाउँबाट सुरु भएको वैष्णव वर्तमानमा शाकाहारी खाना र मिठाईका लागि विश्वासिलो ब्राण्ड बनिसकेको छ ।

शाकाहारी भोजन र मिठाईका विभिन्न परिकार पाइने वैष्णव मिष्ठान्न केही वर्षयता मालिका हस्पिटालिटी एण्ड फुड प्रा. लि. अन्तर्गत सञ्चालित छ । चितवनभित्र वैष्णवका मुख्य एक र तीन वटा आउटलेट सञ्चालनमा छन् । 

सबैतिर गरेर दैनिक करिब तीन हजार ग्राहकलाई सेवा दिन एक सय ५० जना कर्मचारी खटिन्छन् । १४ हजारदेखि ४२ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी छन् । वैष्णवले बेकरी र अण्डारहित केक पनि उत्पादन गर्दै आएको छ ।

वैष्णव स्थापनाको २५ वर्ष पुगेको अवसरमा तीन वर्षअघि पहिलो आउट भरतपुरको चौबीसकोठीमा खुलेको हो । दुई वर्षअघि रत्ननगरको टाँडीचोकमा र गत वर्ष भरतपुरकै वीरेन्द्र क्याम्पसचोकमा वैष्णवका आउटलेट रहेका छन् । 

यस वर्ष खैरहनीको चौबीसकोठीमा अर्को एउटा आउटलेट थप्ने योजनासहित काम भइरहेको मालिका हस्पिटालिटीका अध्यक्ष एवं वैष्णवका सञ्चालक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । व्यावसायिक साझेदार जनक पौडेलसँग मिलेर आउटलेट बिस्तार र उद्योगतर्फ अगाडि बढेको उनी बताउँछन् ।

विष्णुदेखि वैष्णवसम्म

वैष्णवको पुरानो नाम विष्णु मिष्ठान्न भण्डार हो । यसका संस्थापक विष्णुप्रसाद सापकोटाले आफ्नै नाममा २०४५ सालतिर नारायणगढको मेनरोडबाट भित्री गल्लीमा विष्णु मिष्ठान्न भण्डार खोलेका थिए । 

पुराना दिन सम्झँदै विष्णु भन्छन्, “म चौध वर्षको हुँदा बुबा चन्द्रदत्तले आमा मालिका, भाइ, दिदी, बहिनी र मलाई लिएर २०२८ सालमा गैंडाकोट बसाईं सर्नुभयो । २०३२ सालतिर पैसा कमाउन भनी म भारतको बनारस पुगेँ । एक वर्ष मजदुरी गरेपछि रेल्वे स्टेसनको क्यान्टिन आफैले चलाउने मौका पाएँ ।” 

बनारसमा नौ वर्ष बिताएपछि विष्णु गैंडाकोट फर्किए । कावासोतीसम्म पुगेर गहुँ, मुसुरो लगायतका खाद्यान्न खरिद गरी नारायणगढमा बिक्री गर्ने काममा जुटे । उधारो कारोबारले उनलाई दुई वर्षमै डुबायो । नारायणगढको पुतलीबजारमा आलु, प्याज र खाद्यान्नको पसल खोले । घाटा भएपछि एक वर्षभन्दा बढी टिकेनन् ।

यसबीचमा अरुणखोलाकी लक्ष्मी खरालसँग उनको बिहे भयो । जेठो छोरा कृष्णको जन्म पनि भयो । पारिवारिक जिम्मेवारीको कारण केही न केही गर्नु नै थियो । गैंडाकोटको थुम्सीमा किराना पसल खोले । गाई, भैंसी र बाख्रा पनि पाले । किराना पसलमा चिया बेच्न सुरु गरे । 

पहाडबाट केरा, सुन्तला, तरकारी बेच्न ल्याउनेहरुले उनलाई ती सामान बिक्री गरेर आवश्यक नुन, तेल, मसला र नगद लिएर जान्थे । उधारो कारोबार रोक्न नसक्दा दुई वर्षमा उनको कारोबार भताभुंग भयो । व्यवहार सल्ट्याउन जग्गा बेच्नु पर्ने अवस्था आयो । चार कठ्ठा जग्गा बेचेर ऋण तिरे ।

त्यसपछि उनले नारायणगढमा विष्णु मिष्ठान्न भण्डार संचालन गरे । नजिकै रहेका कपडा पसलका कामदार र नेपाल बैंकका कर्मचारीले उधारोमा चिया, खाजा र खाना खान थाले । “सुरुमा राम्रै भएको थियो, पछि त उधारोले त्यहाँ पनि डुबायो” विष्णु भन्छन्, “बहीखाता हेर्दा उठ्नु पर्ने रकम टन्नै थियो । कर्मचारीहरु सरुवा हुँदा खाताको पैसा नतिरी हिँड्थे । घाटा भयो ।”

दुःखका ती दिन

घाटामा गएपछि विष्णु मिष्ठान्न भण्डार बेचेर उनले नारायणगढकै पोखरा बसपार्क (हाल नारायणगढ बसपार्क) मा अरुकै मिठाई पसल भाडामा लिएर चलाए । दुई महिनासम्म निरन्तर घाटा भएपछि छाडे । भरतपुरमा खाना र मिठाई पसल सुरु गरे । दुई महिनासम्म घरभाडा पनि बुझाउन सकेनन् । घरबेटी दयालु परेछन्, भाडा लिएनन् ।

भरतपुरबाट विष्णुले नारायणगढको पुलचोकमा पसल सारे । घरबेटी दलित परेछन् । ग्राहकको लागि पकाएको खाना ढक्कन खोलेर हेर्ने गर्न थालेपछि दुई महिनामै उनी नारायणगढकै शहीदचोकमा सरे । सर्न खाली ठाउँ नपाउँदा उनले १९ हजारमा अरुकै होटल किन्नु परेको थियो । त्यहाँ सरेकै महिना वर्षाको पानीले डुबान हुँदा व्यापार चौपट भयो ।

गर्मीको महिना थियो । ग्राहकहरु शितलमा बसेर चिया, खाना, खाजा खान चाहन्थे । तर उनको होटलमा पंखा थिएन । आडैको पवित्रा मिष्ठान्न भण्डारमा भने सिलिङ पंखा हुइँकिरहेको हुन्थ्यो । त्यतिमात्र नभई “पंखामुनि सिट खाली छ” भनेर त्यताबाट आउने आवाजले ग्राहक उतै तानिन्थे ।

हुँदाहुँदै अवस्था यस्तो आयो कि कामदारलाई भाँडाकुँडा बेचेर तलब दिई बिदा गर्नु प¥यो । साइकल बेचेर घरभाडा बुझाउनु प¥यो । विष्णुको होसहवास गुम्यो । परिवारलाई घर पठाएर एक्लै पाँच दिनसम्म पसल बन्द गरेर त्यहीँ सुते । छैठौं दिन आफन्त आएर उनलाई ढाडस दिए । भगवानको परीक्षा हो, नआत्तिनु भनेर सम्झाए ।

घरबेटीले ठाउँ खाली गर्न दबाब दिन थाले । “भाडा बुझाएकै छु किन निकाल्नु हुन्छ मलाई ? भाडा तिर्न नसके मै छाडेर जान्छु भनेपछि साहुले कराउन छाडे” विष्णु भन्छन्, “अन्तिम उपाय खोज्दै आफन्तसँग दुई हजार रुपैयाँ मागेर घरभाडा एक हजार दुई सय र रासनको उधारो आठ सय रुपैयाँ तिरेँ । श्रीमतीलाई माइत पठाएर सासुसँग तीन हजार रुपैयाँ ल्याउन भनेँ । उनले लिएर आइन् । त्यही पैसाले पसलमा पंखा राखेर अलि चिटिक्क पारेँ । अब अलिअलि पसल चल्न थाल्यो ।”

टर्निङ प्वाइन्ट

विष्णुका प्रतिस्पर्धी पवित्रा होटलका संचालक मोतीलाल सापकोटाकी छोरीको बिहे तय भएपछि उनीहरुले पाँच दिनसम्म पसल बन्द गरे । ती पाँच दिन नै विष्णुका लागि टर्निङ प्वाइन्ट बन्यो । पाँच दिनमा उनले एक हजार पाँच सय रुपैयाँ कमाए । विष्णु आफैं जेरी, पुरी पकाउँथे । अन्यत्र नपाइने भटौरा (ठूलो खालको पुरी) उनीकहाँमात्र पाइन्थ्यो । ग्राहकको आगमन बढ्न थाल्यो ।

शाकाहारी पसल खोज्दै आउने भारतीय पर्यटकले वैष्णव होटल खोज्न थालेपछि विष्णुले पसलको नाम परिवर्तन गरेर वैष्णव मिष्ठान्न भण्डार राखे । त्यही नाम आज चितवनको लोकप्रिय एवं विश्वसनीय ब्राण्ड बनेको छ । 

वैष्णव ब्राण्डका जन्मदाता विष्णु अढाई वर्षयता कारोबार छोरा कृष्णलाई सुम्पेर अध्यात्ममा रमाउन थालेका छन् । भारतमा चार धाम घुमेर फर्केका विष्णु दस महिनायता देवघाटधाममा बस्दै आएका छन् । गुरु कृपालु महाराजको भक्तिमा दिन बिताइरहेका विष्णु भन्छन्, "बिहान चार बजे उठेर गंगा नुहाउँछु । दिनभर टिभीमा गुरुको प्रवचन सुन्छु । आखिरमा आउने यतै हो, जाने नांगै हो । पहेँलो कपडा नलगाइकनै मनलाई सन्न्यासमा लगाएको छु ।"

प्रतिक्रिया दिनुहोस