रेमिट्यान्समा झिनो वृद्धि, मूल्य बढ्यो

पत्रपत्रिकाबाट

सोमबार, ०५ फागुन २०७६, ०७ : ५३
रेमिट्यान्समा झिनो वृद्धि, मूल्य बढ्यो

काठमाडौँ। चालू आर्थिक वर्ष २०७६/७७ को छ महिनामा विप्रेषण आप्रवाहमा झिनो वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले चालू आवको अर्धवार्षिक आर्थिक विवरण सार्वजनिक गर्दै ०.९ प्रतिशतले वृद्धि भई ४४७ अर्ब २६ करोड रुपियाँ विप्रेषण पुगेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि अघिल्लो वर्षको १७.६ प्रतिशतको तुलनामा १.३ प्रतिशतले मात्र बढेको छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढे पनि विप्रेषण आयमा भने झिनो मात्र वृद्धि भएको हो । समीक्षा अवधिमा अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या १७.७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालू खाता घाटा ८४ अर्ब ७१ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रुपियाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनासम्ममा एक अर्ब ३३ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस