पौरखी पात्र

मलेसियामा शिवको १६ वर्ष बास, बट्टाई पालेर जीवन धान्ने आश

सूर्यप्रकाश कँडेल

आइतबार, ०४ फागुन २०७६, १८ : ५०
मलेसियामा शिवको १६ वर्ष बास, बट्टाई पालेर जीवन धान्ने आश

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । बैँश छउञ्जेल विदेशमै रमाउने, स्वदेश फर्केपछि धन कसरी कमाउने ? वैदेशिक रोजगारीमा जानेहरुलाई सताउने एउटा साझा प्रश्न हो यो । यो प्रश्नले वैदेशिक रोजगारीबाट फर्केका धेरै जनालाई सताउँछ, भरतपुर ४ का शिवप्रसाद ढकाललाई पनि सतायो ।

पटकपटक गरी मलेसियामा १६ वर्षसम्म पसिना बगाएका शिवले धन कमाउन निकालेको जुक्ति हो, बट्टाईपालन । पोहोर साल मलेसियाबाट स्वदेश फर्केका शिवले यस वर्ष मंसिरको अन्तिम साताबाट बट्टाई पाल्न सुरु गरेका छन् । पाँच सय वटा बट्टाई हुर्काइरहेका शिवले बट्टाईको अण्डा बेच्न थालेका छन् । बट्टाईको चल्ला अभावमा खोर रित्तो भएपछि भर्खरैमात्र उनले दुई सय चल्लाको अर्डर गरेका छन् ।

"१२ दिनका चल्लालाई प्रतिचल्ला ८० रुपैयाँका दरले पैसा तिरेर पाँच सय चल्ला खोरमा राखेको छु" बट्टाईका चल्लालाई दाना दिँदै गरेका शिवले भने, "यिनले अण्डा पार्न थालेको एक महिना जति भयो । दैनिक एक सय गोटा अण्डा बेचेको छु ।" उनले अण्डा प्रतिगोटा दस रुपैयाँमा बिक्री गर्छन् । बट्टाई ढुकुर चरा जत्रै हुन्छ । ६ वटा वयष्क बट्टाईको तौल एक किलो हुने शिव बताउँछन् । उनका अनुसार एउटा बट्टाईले वर्षमा दुई सय ५० वटा अण्डा पार्छ । बट्टाईले १८ महिनासम्म अण्डा पार्छ ।

एक लाख ३५ हजार रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुई वटा खोरमध्ये सानो खोरमा मात्रै चल्ला राखिएको छ, जसमा अझै पाँच सय चल्ला अटाउँछन् । ठूलो खोरमा दुई हजार चल्ला अट्ने ठाउँ छ । खोरमा एकातिर दाना राख्ने र अर्कोतिर पानी राख्ने डुँड बनाइएको छ । चल्लाको संख्या थप्दै दैनिक एक हजार गोटा अण्डा बिक्री गर्न सके राम्रो फाइदा लिन सकिने उनी बताउँछन् । 

समयान्तरमा चल्ला उत्पादन समेत सुरु गरेर मासु, अण्डा र चल्लाको उत्पादन एवं बिक्री गर्ने लक्ष्य लिएका छन् शिवले । विदेशको कमाईले जोडेको जमिन र त्यही जमिनमाथि ठडिएको दुईतले घरको छतमा एउटा कोठा निर्माण गरेर बट्टाई पालेका छन् उनले । कोठा र खोर निर्माण एवं चल्लाको खरिदमा तीन लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् ।

यसरी आयो बट्टाई पाल्ने सोच

शिवको जन्म २०२९ साल पुस २१ गते माडीको ब्रह्मपुरीमा भएको हो । बुबा टेकनाथ र आमा टोकली पाँच जना सन्तानमध्ये काहिँला शिवका दुई दिदी, एक दाजु र एक भाइ छन् । २०४६ सालमा जनजीवन माध्यमिक विद्यालय खरकट्टाबाट एसएलसी पास गरेका उनले आईए पढ्न भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस रोजे । पढाई पूरा नहुँदै उनी वैदेशिक रोजगारीका लागि पहिलोपटक २०४९ सालमा मलेसिया हानिए ।

मलेसियाबाट दुई वर्षमा नेपाल फिर्ता आएपछि शिवले काठमाडौँको कालिमाटीमा तरकारी र किराना पसल चलाए । सफल हुन नसकेपछि उनी चितवन फर्किए । बुबा टेकनाथले भरतपुरमा घर लिएको हुनाले घरपायक पर्ने गरी शिवले नारायणगढको लायन्सचोकमा होटल सञ्चालनमा ल्याए । होटलमा दाजु र भाउजुले पनि सघाउँथे उनलाई । होटल गर्दा अखिल नेपाल ट्रेड युनियन महासंघमा सक्रिय थिए उनी । शिवले होटलमा समय दिन नसकेपछि त्यसलाई बिक्री गर्नु नै उचित ठाने दाजु र भाउजुले ।

होटल बेचेपछि २०५६ सालमा शिवले शिवनगरकी पार्वती कमलीलाई बिहे गरे । शिव र पार्वतीको जोडीले छोरा सौरभ र छोरी सिमरन प्राप्त गरेपछि शिवले पुनः वैदेशिक रोजगारीमा जाने मनस्थिति बनाए । दोस्रो पटक उनी २०६१ सालमा मलेसिया पुगे, २०६६ सालमा फर्किए । विदेशी कामदारले लगातार पाँच वर्षभन्दा बढी मलेसियामा बस्न नपाउने नियमको कारण उनी नेपाल आए ।

नेपाल फर्केको तीन महिनापछि तेस्रो पटक मलेसिया पुगे उनी । जापानी साइकल कम्पनी सिमानोको लागि साइकलका पार्टपूर्जा निर्माण गर्ने मलेसियास्थित कारखानामा स्टोरकीपरका रुपमा कार्यरत शिवले त्यही कम्पनीमा थप नौ वर्ष काम गरेर वैदेशिक रोजगारीका लागि मलेसिया नफर्कने गरी २०७५ सालमा स्वदेशमा पाइला राखे ।

अन्तिम पटकको नेपाल आगमन नै शिवका लागि स्वरोजगारको ढोका खोल्ने समय बन्यो । नेपाल फर्केपछि उनले युट्युबमा स्वरोजगारका उदाहरणीय पात्रहरुको सफलताको कथा हेर्न थाले । तरकारीखेती गर्ने कि पशुपालन ? फलफूलखेती गर्ने कि पक्षीपालन ? यस्तै दोधारबीच उनले बट्टाईपालन सुरु गरेका छन् । उनी भन्छन्, "नेपालका विभिन्न भागमा अष्ट्रिच, कालिज, बट्टाई, टर्की, लौकाट पालेको थाहा पाएँ । स्वदेश फर्केपछि आफूलाई उत्पादनसँग जोड्नु पर्छ भन्ने लागिरहेको थियो । त्यसैले काठमाडौँबाट बट्टाईका चल्ला ल्याएर पाल्न सुरु गरेँ । तरकारीखेतीमा पनि जोडिने मन छ ।"

प्रतिक्रिया दिनुहोस