काठमाडौं । खानेपानी मन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सक्षम भएर मेहनतका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को बाह्रौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकाबासीले बर्षौंदेखि झेलिरहेका समस्यालाई अब हल गर्नुपर्ने दिन नजिकिंदै गईरहेकाले केयुकेएल सक्षम बन्नुपर्ने बताउनुभएको हो । ‘मेलम्ची आईसकेपछि तपार्ईहरुले धेरै काम गर्नुपर्ने छ ।’ मन्त्री मगरले भन्नुभयो, ‘ तपाईहरुले सुरुका केही वर्ष धेरै मेहनत गर्नुपर्नेछ । यो समयमा सायद भोक र निद्रा नभनी काम गर्नुपर्ने हुन सक्छ । त्यसको लागि तयार भएर बस्नुहोला ।’
मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने मन्त्री मगरले बताउनुभयो । हिजोको कठिनाई, समस्या र अप्ठ्यारो भोगाईबाट पाठ सिक्दै अब परिश्रमका साथ काम गर्नुपर्ने समय आएको उहाँले बताउनुभयो ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी आउन अब धेरै समय छैन । मेलम्चीको पानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।’
केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
मन्त्रालयका सचिव माधव बेल्बासेले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर र क्षमता बढाएर अघि गरेर बढ्नुपर्ने बताउनुभयो । सचिव बेल्बासेले पुरानो वितरण प्रणालीलाई नछोडीकन मेलम्चीको पानी पनि समानुपातिक ढंगले वितरण गर्ने गरी क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्त्री मगरले केयुकेएलले गुनासो सम्बोधन गर्न विकास गरेको मोबाइल एप र रिजर्भवायर पानी ट्यांकीमा पानीको क्षमता मापन गर्ने प्रविधिको सार्वजनिक गर्नुभएको थियो । धारामा पानी आए नआएको र चुहावट भएको अवस्थाबारे जानकारी दिने र गुनासो सम्बोधन गर्नेगरी एप तयार गरिएको छ । मन्त्री मगरले केयुकेएलमा कार्यरत अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो भने उत्कृष्ट शाखाहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस