प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

बुधबार, ०२ फागुन २०७४, १६ : ५१
प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गर्नुभएको थियो ।

बैठक १ः४५ देखि १ः५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उहाँले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गर्नुभएको थियो ।

बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १ः०० बजे बस्ने छ ।

निर्विरोध निर्वाचित हुनुभएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताउनुभयो । आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उहाँले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिनुभयो । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस