चितवन । नाम अनुसारकै काम गर्ने बिरलै भेटिन्छन् । धन नभएका धनराज, पूजापाठ नगर्ने धर्मराज, कविता नलेख्ने कवि । थुप्रै नाम छन् यस्ता । गैँडाकोट नगरपालिका ७, गैरीका लेखराम सापकोटा भने नाम अनुसारकै कर्ममा व्यस्त छन् ।
लेखरामले बाल्यकालमा सबैभन्दा पहिले क लेखे, त्यो पनि उल्टो । सुल्टो पछि सिके । कबाटै आउने कविता लेख्न थाले जनक उच्च माध्यमिक विद्यालयमा ६ कक्षा पढ्दा । २०५२ सालमा उनले लेखेको 'म विद्यार्थी' शीर्षकको त्यो कविताले प्रतियोगितामा दोस्रो स्थान पायो । नेपाली पढाउने शिक्षक इन्द्रराज ज्योति पौडेलले उनलाई 'कवि' भनेर बोलाउन थाले । छन्देली कवि गोविन्दराज विनोदीले कक्षा आठदेखि दससम्म नेपाली पढाए उनलाई । कस्तो संयोग, गुरु पनि कवि चेलो पनि कवि ।
लेखरामले जीवनमा कवितामात्र लेखेनन्, गजल, मुक्तक र हाइकू पनि लेखे । दुई दशकअघि उनका रचना विभिन्न हवाईपत्रिकामा आइरहन्थे । साहित्यमा मात्र उनको कलम चलेन, पत्रकारितामा पनि कुदिरह्यो । गैँडाकोटबाट मात्र नभई उनले विदेशी भूमिमा रहँदा पनि समाचार लेखे, छपाए । अहिले पनि उनी लेखिरहन्छन् चितवनको भरतपुरबाट प्रकाशित हुने कायाकैरन दैनिकमा । त्यस पत्रिकाको शनिवासरीय पृष्ठको संयोजक नै हुन् लेखराम ।
दुईबीस हिउँद पनि नभोगेका लेखरामले जीवनमा सर्लक्कै पाँच वटा हिउँदबर्खा विदेशी भूमिमा बिताएका छन् । पाँच वर्षमा तीन वटा देशमा पसिना बगाएर स्वदेश फर्केका उनले नौ वर्षयता आफ्नो श्रम मातृभूमिमै पोखेका छन् । पाँच वर्षदेखि स्वरोजगारको डुंगा खियाइरहेका छन् ।
वयश्क वयमा विदेश
२०२७ सालमा बाग्लुङको दमेकबाट बसाइँ सरेर गैँडाकोट आएका जगुपति सापकोटा र पबिकुमारी सापकोटाका सात सन्तानमध्ये तेस्रो सन्तानका रुपमा लेखरामको जन्म २०४० साल वैशाख २ गते गैँडाकोटमा भयो । दुई दिदी, तीन बहिनी र एउटा भाइसँगै उनको बाल्यकाल बित्यो । २०५७ सालमा जनक उच्च माध्यमिक विद्यालय गैँडाकोटबाट एसएलसी दिएका लेखरामले सोही विद्यालयबाट २०६० सालमा १२ कक्षाको पढाई पूरा गरे । त्यसको दुई वर्षपछि २०६४ सालमा सुरु भयो उनको विदेश यात्रा ।
विदेश जानुपूर्व लेखरामले स्वदेशमा पनि संघर्ष गरे । अझ भनौँ पुस्तकहरुको संगत गरे । एसएलसी दिएपछि पढाईसँग श्रमलाई पनि महत्व दिए उनले । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा दुई वर्ष काम गरे । १२ कक्षाको पढाई पूरा गरेपछि काठमाडौँ पुगेर एसिया पब्लिकेसन्समा दुई वर्ष काम गरे । देश द्वन्द्वको भुमरीमा फँसेको थियो त्यतिबेला । त्यसको असर पब्लिकेसन्समा पनि नपर्ने कुरै भएन ।
साथीभाइहरु धमाधम विदेश गइरहेका थिए । लेखरामलाई पनि एकपटक विदेशी भूमि टेक्न मन लाग्यो । मलेसियाको लागि भिसा लागेपछि उनले पब्लिकेसन्सबाट बिदा लिएर काठमाडौँबाट मलेसियाका लागि उडे २०६२ साल जेठ २६ गते । २३ वर्षको कल्कलाउँदो उमेरमा मलेसियाको पुलाउपेनाङ भन्ने ठाउँमा पुगेका उनले त्यहाँ मेडल र ट्रफी बनाउने कम्पनीमा प्याकेजिङ विभागमा दुई वर्ष काम गरे ।
'सुरुसुरुमा ओभरटाइम काम हुन्थ्यो, कमाई राम्रै थियो' विदेशमा पसिना बगाउँदाका दिन सम्झँदै उनी भन्छन्, 'पछि ओभरटाइम हुन छाड्यो । बेसिक सेलरीमा मात्र चित्त बुझेन । मलेसियामा दुई वर्ष बिताएर काठमाडौँ फर्किएँ ।' काठमाडौँमा कामको खोजीमै थिए लेखराम । समयचक्रले उनलाई पुनः वैदेशिक रोजगारीकै बाटोमा फर्काइदियो । उनी भन्छन्, 'कतारमा राम्रो काम छ, तलब पनि राम्रै छ । फ्रि भिसा, फ्रि टिकट हो भनेर एक जना वैदेशिक रोजगार व्यवसायीले कुरा गरे । उनलाई ४५ हजार रुपैयाँ बुझाएर मलेसियाबाट फर्केको एक महिनामै कतार पुगेँ ।'
कतारमा उनले ग्यास प्लान्टमा पाइप फिट गर्ने इटालियन कम्पनीमा सुपरभाइजरका रुपमा काम गरे दुई वर्षसम्म । त्यसपछि उनले कतारबाटै युएई (युनाइटेड अरब इमिरेट्स) का लागि भिसा लगाएर उही इटालियन कम्पनीको ठेक्कामा काम गरे एक वर्षसम्म । युएईको फुजैराह नामक चट्टानी पहाडी गाउँमा पेट्रोलियम पदार्थ भण्डारणका लागि फलामका ठूला ठूला ट्यांकी निर्माणको ठेक्का लिएको थियो इटालियन कम्पनीले । उनको काम भने सुपरभाइजरकै थियो ।
बाधक बनेन भाषा
सुपरभाइजर भएपछि कामदारलाई काममा लगाउनु पथ्र्यो । उनीहरुको काममा आइपरेका समस्या र गुनासो सुन्नु पथ्र्यो । लेखरामलाई काममा लगाउने भारतीय र फिलिपिनो थिए । कामदारहरु पनि नेपाली, भारतीय र फिलिपिनोहरु नै । भारतीयसँग हिन्दी र फिलिपिनोसँग अंग्रेजीमा कुरा गर्थे लेखराम ।
उनी भन्छन्, 'भाषाले समस्या परेन । मलेसियाली र हिन्दी भाषा मैले मलेसियामा नै सिकेको थिएँ । मलेसियामा रहँदा जनआन्दोलनका समाचार मैले मलेसियाका पत्रपत्रिकामा पढ्थेँ । सर्टवेभमा बीबीसी नेपाली सेवा सुनेर पनि नेपालबारे जानकारी लिन्थ्यौँ हामीहरुले । कतार गएपछि फेसबुक चलाउन थालेको थिएँ । स्वदेशसँग जोडिन सजिलो भयो ।'
नेपालमा छँदा चितवनबाट प्रकाशित हुने चितवन पोष्ट दैनिक, अनावरण साप्ताहिक, पिपलबोट साप्ताहिक, अन्वेषण साप्ताहिक, नारायणी साप्ताहिक लगायतमा समाचार र लेखहरु छपाउँदै आएका लेखरामले विदेशी भूमिमा पनि पत्रकारितालाई छाडेनन् । मलेसियामा रहँदा क्वालालम्पुरबाट प्रकाशित हुने नेपाली भाषाको श्रम साप्ताहिकमा रिपोर्टिङ गरे । कतारमा छँदा त्यहाँबाट प्रकाशित हुने कान्तिपुर साप्ताहिकमा नियमितरुपमा लेखे ।
'कान्तिपुरका देवेन्द्र भट्टराईसँग पुरानै चिनजान थियो' लेखराम भन्छन्, 'फूर्सदमा उहाँसँगै हिँडेर प्रवासी नेपालीका कथा लेखेँ । युएईमा हुँदा पनि कान्तिपुरमा रिपोर्टिङ गर्थें । नेपाल फर्केपछि कान्तिपुरबाट मैले ६० हजार रुपैयाँ पारिश्रमिक बुझेको थिएँ एकमुष्ठ ।'
साहित्यको संगत
विदेश जानुअघि लेखरामको संगत साहित्यसँग गज्जबको थियो, अहिले पनि छ । उनले २०६० सालमा हवाईपत्रमा 'तिम्रा खुशीहरु' नामक मुक्तक र हाइकू संग्रह निकाले । त्यसको एक वर्षपछि 'श्रद्धाका फूलहरु' गजल संग्रह प्रकाशित गरे ।
संयुक्त गजल संग्रह 'गजलपथका यात्रीहरु' र 'गजल बिम्ब' मा उनका गजल संग्रहित छन् । केही वर्ष पहिले ध्रुवतारा एफएममा साहित्य सम्बन्धी कार्यक्रम चलाएका लेखरामले 'सहयात्री' र 'अनामिका' हवाईपत्रिकामा सम्पादक भई काम गरिसकेका छन् ।
गत वर्ष भदौ २३ गते साहित्यकार एलबी क्षेत्रीबाट उद्घाटन गराएको सम्पूर्ण किताब नामक पुस्तक पसल नै अहिले लेखरामको सम्पूर्ण संसार बनेको छ । उनी सम्पूर्ण किताबको माध्यमबाट साहित्यको प्रवद्र्धनमा जुटेका छन् । बजारमा आउने नयाँ पुस्तकको प्रवद्र्धनमा सम्पूर्ण किताबले चितवनमा केही न केही कार्यक्रम गर्दै आएको छ । त्यसका लागि खटिन्छन् उनैै लेखराम ।
सांग्रिला बुक्स र युरेका पब्लिकेशनबाट प्रकाशित पुस्तकहरु सम्पूर्ण किताबमार्फत् देशभर बिक्री वितरण हुन्छन् । काठमाडौँको भोटाहिटीमा केन्द्रीय कार्यालय रहेको सम्पूर्ण किताबका बिर्तामोड, विराटनगर र अर्घाखाँचीमा शाखा छन् ।
किताब कनेक्सन
लेखरामको जीवनमा 'किताब कनेक्सन' अचम्मसँग भएको छ । एसएलसी दिएपछि पुस्तक पसलमा जागिरे बनेका उनले वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षमा तीन देश घुमे । स्वदेश फर्किएपछि २०६७ साल असार ३ गते भरतपुर महानगरपालिका ५, आनन्दपुर निवासी लक्ष्मीकुमारी कँडेलसँग लगनगाँठो कसेका उनले बिहेपछि पुनः पुस्तक पसलमै जागिर सुरु गरे । बिहे गरेको अर्को वर्ष छोरो आशीर्वादको आगमन भयो उनको जीवनमा ।
पुतलीबजारमा रहेको मास्के पुस्तक पसलमा चार वर्षसम्म काम गरी अनुभव हासिल गरेपछि लेखरामले साथीभाइसँग मिलेर सुनगाभा बुक हाउस खोले । चार वर्षसम्मको साझेदारीबाट हात झिकेर सम्पूर्ण किताब सुरु गरेका लेखरामसँगको 'किताब कनेक्सन' अझै सकिएको छैन । उनी भन्छन्, 'देशभित्र र बाहिर थुप्रै ठक्कर, हण्डर खाएँ । किताबसँगको कनेक्सन नै मेरा लागि राम्रो भएको छ ।'
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
आइतबार, २६ माघ २०७६, १९ : ४७
लेखकबाट थप