हजारका नोटमा अब सौराहाका ‘राम–लक्ष्मण’

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १३ : ३४
हजारका नोटमा अब सौराहाका ‘राम–लक्ष्मण’

चितवन । २०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ। एक हजारको नोटमा अब सौराहाका हात्ती प्रजनन् केन्द्रमा रहेका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको तस्बिर राखिने भएको छ । 

अहिलेको एक हजारको नोटमा रहेको हात्ती अफ्रिकी मूलको भएको अनुमान रहेकाले त्यसलाई हटाएर आफ्नै देशको हात्ती राखिने भइएको हो । 

‘अहिले हामीले एक हजारको नोटमा जुन हात्तीको चित्र देखिरहेका छौं त्यो नेपालको हात्तीको होइन, त्यसलाई हटाएर चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहामा रहेको हात्ती प्रजनन केन्द्रमा रहेका जुम्ल्याहा हात्ती राम लक्ष्मणको राखिने छ’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

उनका अनुसार अबको चार महिनाभित्र नेपालकै हात्तीको चित्र भएको ३१ करोड थान हजारको नोट बजारमा आउनेछ। यसअगाडि नोटमा एउटा मात्र हात्तीको चित्र रहेकोमा अब नयाँ आउने नोटमा भने दुइटा हात्तीको चित्र हुनेछ। 

२०६५ साल कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले राम लक्ष्मणलाई एकैपटक जन्म दिएकी हुन् । 

विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ। जुम्ल्याहा जन्मिहाले पनि बाँच्ने सम्भावना एकदम न्यून रहने विज्ञहरू बताउँछन्। तर देवीकलीले चमत्कार गर्दिइन्।

उनले जन्माएकी राम लक्ष्मण जुम्ल्याहा छावा अहिले तन्नेरी भइसकेका छन् । उनको फोटो अब एक हजारको नोटमा आउनेछ । 

राम जन्मिएको ३ घण्टापछि लक्ष्मण जन्मिएका थिए। अहिले दुइटै छावा चितवन राष्ट्रिय निकुञ्जमा छन्।  दुवैले जंगलको गस्ती गर्न सुरू गरेको चार वर्ष भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस