चितवन । पैसा कमाउन विदेश जाने धेरैजसो युवाको सपना हुने गर्छ । १२ कक्षाको पढाई सकेपछि अधिकांश युवा विदेश जाने तयारीमा जुट्छन् । ११ वर्षअघि यस्तै हावाले छोयो भरतपुर महानगरपालिका ४, यज्ञपुरीका टीकाराम सापकोटालाई पनि । अरु १२ कक्षा पास भएपछि विदेश हानिन्थे, उनीचाहिँ स्नातक तहको पढाई सिध्याएर स्टुडेण्ट भिसामा लण्डन पुगे ।
विदेशको बसाई सोचेजस्तो कहाँ हुन्छ र ? एकातिर पढाई, अर्कोतिर काम । व्यवस्थापन विषयमा स्नातकोत्तर तहको पढाई जारी राख्दै काममा खटिए टीकाराम । लण्डनको पढाई सकियो तर उनी स्वदेश फर्कने दिन अझै आएन । बेलायतको लण्डनस्थित एक तन्दुरी रेष्टुरेण्टमा उनले पसिना बगाइरहे । "रेष्टुरेण्टमा काम गर्न जाने सबै नेपालीले सुरुमा भाँडा नै माझ्ने हो" टीकाराम भन्छन्, "पछि किचेनमा गोरुको मासु काट्ने, पकाउने पनि गरियो ।"
यज्ञपुरी निवासी टीकाराम बुबा मोतीलाल र आमा लीलावतीका चार सन्तानमध्ये जेठा हुन् । उनका दुई भाइमध्ये एउटा अष्ट्रेलिया र अर्को जापान छन् । पहिले दुबै भाइ जापान थिए, उनीचाहिँ बेलायत । त्यतिबेला घरमा आमा बिरामी परेको खबर सुनेपछि टीकाराम घर फर्केका हुन् । तीन दाजुकी एक्ली बहिनीले यतिबेला नर्सिङ शिक्षामा १२ कक्षा पास गरेकी छिन् ।
हाम्रो समाजमा जति छोरी भएपनि छोराको चाहना गर्नेहरु धेरै छन्, तर टीकारामका बुबा मोतीलालले भने तीन वटा छोरा भइसकेपछि पनि छोरीको चाहना पूरा गरे । नेपाली समाजमा अर्को एउटा चाहना हुन्छ आमअभिभावकहरुको, त्यो हो छोराछोरीले राम्रोसँग पढुन् र राम्रै ठाउँमा जागीर खाऊन् । यो मान्यतालाई तोडेर टीकारामले बुबाको नाममा गाई फार्म खोली गोबर फाल्ने र गाई दुहुने गरेका छन् ।
स्वरोजगारको यात्रा
व्यवस्थापन विषयमा स्नातकोत्तर टीकारामले मोती गाईभैँसी फार्म खोलेर पशुपालनसँगै तरकारीखेती गर्दै आएको दुई वर्ष भयो । नौ वर्ष लामो बेलायत बसाईलाई बाईबाई गर्दै स्वदेश आएपछि उनको विदेशसँग मोहभंग भएको छ । दुई वर्षयता वैवाहिक जीवनको सुरुवातसँगै अगाडि बढेको स्वरोजगारको यात्रा रोकिएको छैन ।
२०४२ साल माघ १० गते यज्ञपुरीमा जन्मिएका टीकारामले २०५९ सालमा लक्ष्मी माध्यमिक विद्यालय लंकुबाट एसएलसी पास गरे । बालकुमारी कलेज नारायणगढबाट २०६१ सालमा १२ कक्षा र २०६५ सालमा बीबीएस सिध्याएपछि त्यही वर्ष उनी बेलायत पुगे । बेलायतबाट स्वदेश फर्किएकै वर्ष २०७४ सालमा हालको मध्यविन्दु नगरपालिका ३ निवासी सिर्जना पौडेलसँग उनको लगनगाँठो कसियो । यही लगनगाँठोले उनलाई स्वरोजगारको यात्रामा अगाडि बढ्न प्रेरणा दियो ।
चार वटा गाईबाट सुरु भएको टीकारामको स्वरोजगार यात्राले दुई वर्ष पार गर्दा गोठमा गाई थपिने क्रम पनि अगाडि बढिरह्यो । अहिले उनको गाईफार्ममा १३ वटा माउ र तीन वटा बाच्छाबाच्छी छन् । बिहान र बेलुका गरी दैनिक ६५ देखि ७० लिटर दूध बेच्छन् घरबाटै । दूधको आम्दानीबाट गोठमा गाई थपिरहेका छन् ।
गाई र बाच्छाबाच्छीको स्याहारमा टीकाराम आफैँ खटिन्छन् । दूध दुहुन्छन्, भकारो सोहोर्छन् । घरमा गोबरग्यास जडान गरिएको छ । मलखादमा जम्मा भएको गोबर बारीमा छरेर तरकारीखेती पनि गरेका छन् उनले । ६ कठ्ठामा बारीमा अहिले केराउ, राजमा र मूला छन् । तरकारी बेच्न एकाबिहानै थोकबजार पुग्छन् उनी । भन्छन्, "दूध र तरकारीलाई बजारको अभाव छैन । जति उत्पादन गरे पनि बेच्न सकिन्छ ।"
गोठ र बारीको काममा बुबा, आमा, बहिनी र श्रीमतीको साथ पाएका छन् उनले । घाँसखेतीको रेखदेख र अन्य कामको लागि तीन जनालाई दैनिक ज्यालादारीमा काममा लगाएका छन् । स्वरोजगारबाट राम्रो आम्दानी गर्न सकिने बताउँदै उनी भन्छन्, "दुई लाख रुपैयाँ खर्च गरेर कतार जानुभन्दा त्यही रकमले चार वटा गाई पाल्न सुरु गर्ने हो भने त्यसलाई बिस्तारै बढाउन सकिन्छ । स्वदेशको स्वरोजगार सधैँका लागि हुन्छ । विदेश भनेको त क्षणिक हो, उमेर छउञ्जेलसम्मको लागि मात्र ।"
सोच फेरियो, गोठ पनि फेरिँदै
धेरै पढेपछि जागिरै खानु पर्छ भन्ने सोच फेरेर स्वरोजगारमा रमेका टीकारामले गोठ बिस्तार गर्दै छन् । पुरानो गोठ पछाडि रहेको जमिनमा ट्रस लगाएर अहिलेको भन्दा फराकिलो र पक्की गोठ निर्माणमा जुटेका छन् उनी । ट्रस तयार भएर जस्तापाताले छाउने काम भइरहेको छ । भुइँ ढलान र डुँड निर्माणको काम बाँकी छ ।
गाईपालनमा सफलताको अनुभवसँगै राम्रो सम्भावना देखेपछि टीकारामले गोठ बिस्तार र सुधार गर्न थालेका हुन् । दाना र चापट महँगो भएर दूधको उत्पादन लागत बढ्दा चिन्तित पनि छन् उनी । घाँसखेतीमा गैँडा चर्न आइपुग्छ । दूध दिने गाईमा थुनेलोको समस्या पनि देखा पर्छ । कृत्रिम गर्भाधान एकैपटकमा सफल हुँदैन । काम गर्दै जाँदा समस्या त जहाँ पनि हुन्छ । त्यसैले त उनी विचलित छैनन् । गोठ बढाएर गाई थपेर दैनिक दुई सय लिटर दूध बिक्री गर्ने लक्ष्य लिएका छन् उनले ।
गोठबाट फूर्सद पाएको समयलाई व्यवस्थापन गर्दै सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् टीकाराम । उनी हरिकिर्तन टोल विकास संस्थाका अध्यक्ष पनि हुन् । विदेशमा हुँदा आफूलाई एक्लो अनुभव गरेका उनी भन्छन्, "घरमा भएपछि परिवारसँग भइन्छ । समाजमा अरुलाई परिआएको सहयोग गर्न पाइन्छ । कोही बिरामी परेर अस्पताल लैजाँदाको अनुभव पैसामा तुलना गर्नै सकिँदैन । पैसामात्र सबै कुरा होइन ।"
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
आइतबार, १९ माघ २०७६, १८ : २४
लेखकबाट थप