मृत्युदण्डबाट बाँचेर फर्केका उमेशको बेलिविस्तार

‘दिनहुँ करेन्ट लगाउँथे, तीन वर्षसम्म होस आएन’

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, १३ : २१
‘दिनहुँ करेन्ट लगाउँथे, तीन वर्षसम्म होस आएन’

जनकपुर । कोही अजम्बरी छैन, जन्मेपछि मृत्यु सुनिश्चित छ । तर मृत्युको मिति सुनिश्चित भइसकेको मानिसले केके कल्पना गर्छ होला ? 

यस्तै प्रश्नको खातमा छन् यतिबेला उमेश यादव । साउनी अरबमा पाकिस्तानी नागरिकको हत्या आरोपमा फाँसीको सजाय सुनाइएको उमेश पनर्जन्म पाउँदै स्वदेश फर्केका छन् । उनी यतिबेला जनकपुरस्थित आफ्नो घरमा खुसी बाँडिरहेका छन् ।

उनी कसरी साउदी पुगे ? कसरी उनलाई फाँसीको सजायँ सुनाइयो ? कसरी पुनर्जन्म पाए ? यस्ता थुप्रै प्रश्नलाई लिएर सफल खबरले उनको जीवनको बेलिबिस्तार केलाएको छ । 

कसरी पुगे उमेश साउदी ?

गााउँका छरछिमेकहरु विदेश गइरहेका थिए । सबैको कमाइ राम्रो रहेको उमेशले देखिरहेका थिए । छिमेकमा विदेश जानेहरुले घर बनाएका र खेतबारी जोडेको उनको आँखासामु छर्लङ थियो । त्यो बेलामा उमेशको मनमा विदेश जाने, एउटा राम्रो घर बनाउने, श्रीमती छोराछोरीलाई राम्रो शिक्षा दिने र गाउँमा आएर कुनै व्यवसाय गरेर बस्ने सोच आयो ।

साथीभाई छरछिमेकले विदेश जान सल्लाह दिए । गाउँमा भएको खेत बेचेर २४ वर्षको उमेरमा एक लाख ४० हजार रूपैयाँ ऋण लिएर साउदी अरब हानिए । तीन वर्षको जेठो छोरा १८ दिनका कान्छो छोरा, श्रीमती बुबा आमालाई छोडेर उमेश पनि अन्य नेपाली दाजुभाईसँगै बाध्यताले स्वदेशको भूमि छोडे । सन २००६ मा घरको आँगनीमा उभिएर म पैसा कमाएर फर्कन्छु, छोराछोरीको राम्रो रेखदेख गनुर्् भन्दै श्रीमती, बाआमाबाट बिदा माग्दै साउदी उडे उमेश ।  

अनि साउदी पुगेपछि के भयो ?

घरमात्र राखेर खेत बेचेको पैसा १ लाख ४० हजार मेनपावरलाई बुझाएर उमेश साउदी गए । काम थियो भवन निर्माणको । तलब साढे पाँच सय रिअल । साउदी पुगेको १२ दिनमात्र भएको थियो । 

१२औं दिनको चर्को घाममा उनले घरमा रङ लगाउँदै थिए । अचानक भ–याङ लड्यो । उमेशसँगै थिए उनीभन्दा सिनियर पाकिस्तानी मजदुर । लडेको भ–याङले पाकिस्तानी नागरिकलाई लाग्यो ।

उमेशलाई पकिस्तानीले एक मुक्का बजाइदिए ।  छेउमा पाइप थियो । उचालेर उमेशले पनि हिर्कादिए । पाकिस्तानी नागरिक घाइते भए । उमेश चार दिनपछि पक्राउ परे । यो घटना भएको १६ दिनपछि अस्पतालमा पाकिस्तानी नागरिकको मृत्यु भयो । 

त्यसपछि...

साउदीको रियाद जेलमा चार दिन राखेर उनलाई जुवेल सेन्टर जेल पुर्‍याइयो, तर जब पाकिस्तानीको मृत्युको खवर सुने । उमेशको हंशले ठउँ छोड्यो । नछोडोस पनि किन ? सबैले भन्थे, मान्छे मारेकोलाई साउदीमा मृत्युदण्ड सजायँ हुन्छ ।

अब सुरु भयो अब उमेशको जेल यातना । न खाना मिठो, न सुत्ने ठेगान । एउटा बेडमा चार जना सुत्नुपर्ने, त्यो पनि पालै पालो । उमेश भन्छन्, ‘दिनहुँ करेन्ट लगाउन आउथेँ, औषधि खुवाएर झुटो बोल्न लगाउथेँ । यातनाले तीन वर्षसम्म के बोलेँ, के खाएँ, केही थाहा पाइनँ ।’

उमेश भन्छन्, ‘खाना त्यस्तै दिन्थ्यो, खान मन लाग्दैनथ्यो । एक त त्यहाँको खाना रुचि लागेको थिएन । चारजनालाई एउटा बेड दिएको थियो । त्यसमा आलोपालो सुत्नुपथ्र्यो । त्यसैले एउटा ट्याबलेट खायो तीन घण्टा सुत्यो । कुटाइ र पिटाइको कुरा नगरौँ । दिमागमा मरणबाहेक अरु आउँथेन ।

दिनहुँ करेन्ट लगाउँथे, तीन वर्षसम्म होस आएन एक वर्षपछि उमेशलाई अदालतमा हाजिर गराइयो । केही सोधेजस्तो गर्‍यो र कागजमा हस्ताक्षर गरायो । अनि फेरि जेल ल्याइपुर्‍यायो । अर्को एक वर्षमा फेरि अदालतमा हाजिर गरायो । अदालतमा केही सोध्ने बाहेक केही काम भएन । उनी भन्छन्, ‘मर्नबाहेक दिमागले अरु केही सोच्दैनथ्यो । 

अदालतलमा उनले कुनै नेपालीलाई नम्बर दिए । ती नेपालीले घरसम्म सम्पर्क गराइदिए । दुई वर्षपछि उमेशका परिवारका सदस्यहरुले बल्ल छोरो साउदी जेलमा रहेको कुरा थाहा पाए । थाहा पाएर के गर्नु ? भगवानसँग प्रर्थना गर्नुबाहेक अरु के नै थियो र !

त्यो झिनो तान्दो ?

मानिस आशैआशाको तान्दोमा बाँच्दोरहेछ । मृत्युको मिति सुनिश्चित भइसकेको उमेशमा पनि कताकता बाँच्छु भन्ने आशाको तान्दो थियो । 
उनको मृत्यु निश्चित भइसके पनि पाकिस्तानी पीडित परिवारले माफीनामा दिएमा उमेश यादव छुट्न सक्छन् भन्ने झिनो आशाको त्यान्द्रो पनि देखिएको थियो । तर त्यसका लागि पहल गरिदिने कोही थिएन। 

दुई वर्षपछि उमेशलाई साउदीमा मृत्युदण्ड भएको खबर देशभरि फैलियो । 

त्यति नै बेला जनकपुरका सामाजिक अभियन्ता सरोज रायको कानमा यो खबर पुग्यो र उमेशलाई बचाउनुपर्छ भनी उनी अभियानमा लागे ।

अन्ततः डेढ वर्षको प्रयासपछि उमेशलाई मृत्युको मुखबाट जोगाएर नेपाल फर्काए । आज उमेश यादव आफ्ना घरमा आमा, श्रीमती, छोराहरुसँग रमाइरहेका छन् । आशा मारिसकेका आमाबुबा तथा श्रीमती, छोराहरु पनि उमेशले पाएको नयाँ जीवनले प्रफुल्लित छन् । उमेशको घरमा मात्र होइन, त्यो गाउँमै खुसियाली छाएको छ । हाल उनी जनकपुरमा समान्य उपचार गराइरहेका छन् ।

उमेश भन्छन्, ‘मेरो जीवनका लागि यो चमत्कार नै हो ।’

प्रतिक्रिया दिनुहोस