कोटिहोम महायज्ञको महाबिजोग, हेर्नुहोस् आठ तस्बिरमा

सूर्यप्रकाश कँडेल

विहीबार, १६ माघ २०७६, १८ : ५४
कोटिहोम महायज्ञको महाबिजोग, हेर्नुहोस् आठ तस्बिरमा

चितवन । नारायणी नदी किनारमा माघ ११ गतेदेखि सुरु भएको कोटिहोम महायज्ञ छैठौँ दिनसम्म आइपुग्दा महाबिजोगको अवस्थामा पुगेको छ । आयोजक समितिले प्रमुख वाचक फेरेर बालयोगेश्वर महाराज उर्फ विजय भण्डारीको ठाउँमा युवा पण्डित ईश्वर रेग्मीलाई ल्याए पनि भक्तजनको चाप बढ्न सकेको छैन ।

धर्मको आवरणमा भक्तजनलाई ठग्न पल्केका कथित बालयोगेश्वर महाराजको तस्बिर महायज्ञस्थलमा राखिएको मूल ब्यानरबाट बिहीबार दिउँसो काटेर निकालिएको छ । महायज्ञ आयोजक यति कमजोर बनेका छन् कि उनीहरुले महायज्ञस्थलमा राखिएको मूल ब्यानर फेर्न सक्ने अवस्थामा छैनन् ।

केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी सफल खबर डट कमलाई निस्तेज पारिदिने धम्की दिएका महायज्ञ आयोजक समितिका महासचिव दिलिप न्यौपानेले बुधबारदेखि फोन उठाउन छाडेका छन् । बिहीबार महायज्ञस्थलमा उनी कतै देखा परेनन् ।

मिडियाको सम्पर्कमा आउन नचाहेका बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी भूमिगत छन् । उनले पनि फोन उठाउन छाडेका छन् । धर्मको आवरणमा ठगी धन्दा चलाएका भण्डारीले चितवन छाडिसकेको स्रोतले बतायो ।

प्रमुख वाचक बालयोगेश्वर उर्फ विजय भण्डारीको एउटा झुठ यस्तो छ

विवादमा कोटिहोम महायज्ञ : प्रमुख वाचक बालयोगेश्वरलाई "ब्याक" गराउने प्रयास असफल

विवादित कोटिहोम महायज्ञमा फेरिए प्रमुख वाचक : ईश्वर 'इन' बालयोगेश्वर 'आउट'

सुनसान छ महायज्ञस्थल
बिहीबार दिउँसो साढे एक बजेतिर महायज्ञस्थल पुग्दा कोटिहोममा हवन र भागवत पाठका लागि ल्याइएका केही बटुकहरु नारायणी तिरमा घाम तापेर बसिरहेका थिए । हवन सामग्री (समीधा, चरु) को अभावमा काम गर्न नपाएपछि घाम ताप्नुको विकल्प नभएको उनीहरुले बताए । 

आयोजकले पारिश्रमिक र बाटोखर्च दिन नसक्ने भएपछि वृन्दावनबाट आएका ३५ जना बटुक भारत फर्किएका छन् । बाटोखर्च पाए आफू पनि घर फर्कन चाहेको बुटवलदेखि महायज्ञमा आएका एक बटुकले बताए । बटुकहरुले दुई छाक भातमात्र खान पाएका छन् । बिहान र दिउँसो नास्ता दिने गरेकोमा हिजोदेखि नास्ता हटाइएको अर्का एक बटुकले बताए ।

महायज्ञस्थलको मूल ब्यानरबाट बालयोगेश्वर महाराज उर्फ विजय भण्डारीको तस्बिर दिउँसो दुई बजेतिर काटेर हटाइएको थियो । प्रवचन सुन्न आएका करिब दुई सय भक्तजन साढे दुई बजेसम्म घाम तापेर टेण्टबाहिरै चौरमा बसेका थिए । साढे दुई बजेपछि स्पीकरबाट चर्को आवाजमा भजन लगाइएको थियो । तीन बजेसम्म प्रवचन सुरु नै भएको थिएन ।

एक सय आठ हवन कुण्डमध्ये मुश्किलले आठ वटा हवन कुण्डमा धुवाँ पुत्ताएको थियो । मुख्य हवन कुण्डबाहेक अन्यत्र हवन चलेको थिएन । हवन मण्डपभित्र १५ जना जति बटुक थिए । यति हुँदाहुँदै पनि बिहीबार बिहान १२ जनाको ब्रतबन्ध भएको आयोजकको भनाइ छ ।

महायज्ञ आयोजनास्थलमा राखिएको सचिवालयमा सोधपुछका लागि जाने भक्तजनभन्दा सचिवालयका कर्मचारी धेरै थिए । कोटिहोम महायज्ञस्थलबाट फर्कंदै गरेका हरेक भक्तजन भन्दै थिए, "बिजोगै भएछ ।"

 

प्रतिक्रिया दिनुहोस