सुर्खेत । दिनानुदिन झाँगिदै गएको बनमारा झारका कारण दैलेखका किसान समस्यामा परेका छन् ।
बनमारा झारले बारीको सबै घाँस सखाप पारेपछि किसानलाई समस्या भएको हो । खेतबारी, गराका कान्ला, डिल, छेउ, कुनासहित ठाउँमा बनमारा झार फैलिँदै जाँदा गाई, भैँंसी, घोडा, भेँडा, बाख्रालगायतलाई खुवाउने घाँस देखिन छोडेको भैरवी गाउँपालिका–७ कुसापानीका रत्नप्रसाद गौतमले जानकारी दिनुभयो ।
जिल्लाको कुसापानी, चामुण्डा, विसाला, लकान्द्रा, काँसीकाँध, पिपलकोट, सिगासैन, बाँसीलगायत ठाउँमा बनमारा झारले किसानलाई समस्यामा पारेको छ । बनमारा झारका कारण पशुपालनमा निर्भर किसानलाई सास्ती भएको छ ।
नारायण, दुल्लु, चामुण्डा–विन्द्रासैनी, आठबिस नगरपालिका तथा ठाँटीकाँध, भैरवी, महाबु, नौमूले, भगवतीमाई, डुंगेश्वर र गुराँस गाउँपालिकामा बनमारा झार विस्तारित अवस्थामा रहेको दुल्लु नगरपालिकाका किसान पूर्णप्रसाद सापकोटाले बताउनुभयो ।
“यसको निर्मूल किसान आफँैले गर्नसक्ने अवस्था छैन, स्थानीय तहले बनमारा झार निर्मुल पार्न पहल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस